कोरियन भाषा परीक्षाको नतिजा बुधबार हुने

कोरियन भाषा परीक्षाको नतिजा बुधबार हुने


रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि अर्थात बुधबार प्रकाशित गरिने भएको छ । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर भोलि नतिजा प्रकाशित गर्न ईपीएस कोरिया शाखाले जनाएको छ ।  ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ ।
यो वर्ष ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए । त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ । यो वर्षको कोटा गत वर्षको भन्दा तीन गुणा बढी रहेको छ । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिटजाज्ड गरेर कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकललगायतका प्रक्रिया सुरु हुने जनाइएको छ ।