नेपाली काङ्ग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सामेल गरिनेहरुको नाम टुङ्गो लागेको छ । काङ्ग्रेस सूत्रबाट प्राप्त जानकारीअनुसार रामचन्द्र पौडेलपक्षबाट अहिलेसम्म मन्त्रि बन्ने मौका नपाएकाहरुलाई सरकारमा समावेश गरिने भएको छ । पौडेलले मङ्गलबार कास्कीका यज्ञबहादुर थापा, धनुषाका रामकृष्ण यादव, काठमाडौंका राजन्द्र केसी (राजन) र बर्दियाका सञ्जय गौतमको नाम प्रधानमन्त्री देउवालाई बुझाएका छन् । यज्ञबहादुर थापा विमलेन्द्र निधिका समकालिक नेता हुन् भने राजेन्द्र केसी काठमाडौंमा प्रचण्डलाई चुनाव हराएर राष्ट्रिय चर्चामा आएका व्यक्तित्व हुन् । त्यस्तै देउवाको तर्फबाट अम्बिका बस्नेत, बीरबहादुर बलायर, अर्जुन जोशी र मिन विश्वकर्मा तथा खुमबहादुर खड्काको तर्फबाट मोहनबहादुर बस्नेत र कृष्ण सिटौलाको कोटाबाट भीमसेनदास प्रधान मन्त्रिमण्डलमा सामेल गरिने भएको छ । राता रात नाम परिवर्तन गरिएन भने यिनै व्यक्तिहरुले बुधबार मन्त्रीको रुपमा सपथ लिनेछन् । काङ्ग्रेसका तर्फबाट राज्यमन्त्रीहरुको नाम पनि टुङ्गो लागिसकेको बुझिएको छ ।
प्रतिक्रिया