लण्डन । आज हृयारोस्थित हृयारो फुटबल क्लवमा अन्तर्राष्ट्रिय नेपाली साहित्स समाज, यूकेको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको प्रमुख कार्यक्रम सम्पन्न भएको छ । सोही स्थानमा हिजो अपरान्ह ४ बजेदेखि रातको आठबजेसम्म परिचयात्मक कार्यक्रम, समसामयिक मन्तव्यहरुकासाथै कविताहरुका पाठन पनि गरिएको थियो । सो कार्यक्रमलाई संस्थाका सदस्य गोपीकृष्ण प्रसाईले सञ्चालन गरेका थिए भने कार्यक्रमलाई अध्यक्षता संस्थाका अध्यक्ष होम परिवागले गरेका थिए । उक्त हिजोको कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष होमनाथ सुवेदीले अनेसासको विस्तार र गतिविधिबारे, संस्थाका कोषाध्यक्ष विकल आचार्यले लण्डन सम्मेलनको आर्थिक गतिविधि तथा कठिनाइहरुबारे, काठमाडौबाट यसै कार्यक्रमका लागि निमन्त्रित प्रो.गोविन्दराज भट्टराईले वर्तमान परिप्रेक्ष्यमा लण्डन सम्मेलनको औचित्यबारे, प्रदीप नेपालले नेपाली साहित्यमा राजनीतिको प्रभावबारे चर्चा मन्तव्यहरुमा गरेका थिए । कार्यक्रममा विभिन्न कवि तथा कवयत्रीहरुले आआफ्ना कविताहरुको पनि पाठ गरेका थिए ।
त्यस्तै आज भएको प्रमुख कार्यक्रमको सभापतित्व संस्थाकै अध्यक्ष होम परिवागले गरेका थिए, जसको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे रहेका थिए । विशेष अतिथिहरुमा, प्रो.गोविन्दराज भट्टराई, प्रदीप नेपाल, होमनाथ सुवेदी, प्रो. सुष्मा आचार्य, शर्मिला खड्का, प्रो. माइकल हट आदि थिए । नेपाली राष्ट्रिय गीतको पियानो धुनबाट कार्यक्रमको शुरुवात भएको थियो । संस्थाकी महासचिव लक्ष्मी राई र सदस्य शशी सुब्बाको संयुक्त सञ्चालनमा रहेको कार्यक्रमलाई संस्थाका विकल आचार्यले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमलाई शुभकामना दिने अतिथिहरुका एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङ र उपाध्यक्ष कूल आचार्य रहेका थिए ।
बेलायत प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्ष राईबाट समसामयिक नेपाली साहित्यबारे मन्तव्यमा चर्चा गरिएपछि, प्रमुख अतिथि राजदूत डा. चालिसेबाट डा. रुपक श्रेष्ठको विगवेन र समय (कविता संग्रह), विकल आचार्यको बेलायती आँगनकमा गोर्खाली सुवास (नियात्रा), होमनाथ सुवेदीको डायस्पोराको डोरो (कविता संग्रह), शर्मिला खड्काको सिर्जना र सन्त्रास (नियात्रा)लगायत केदार संकेतको साहित्यिक वेबसाइटको विमोचन गरिएको थियो । विमोचनको लगत्तै प्रमुख अतिथि डा. चालिसेले डायस्पोरामा नेपाली भाषीहरुबीच नेपाली साहित्यले दिनप्रतिदिन खारिँदो उपस्थिति जनाउँदै आएको आएको, अमेरिका अनि यूकेमा भएको आफ्नो सरकारी कार्यकालको बसाइको सन्दर्भलाई औंल्याउँदै मन्तव्यमा चर्चा गरेका थिए । त्यसको लगत्तै संस्थाका सदस्य तथा कवि गोपीकृष्ण प्रसाईले तीन कृतिहरु विगवेन र समय, बेलायती आँगनका गोर्खाली सुवास, सिर्जना र सन्त्रासहरुउपर समीक्षा गरेका थिए । मन्तव्य तथा समीक्षाका कार्यक्रमहरुको बीचबीचमा विभिन्न कवि तथा कवयत्रीहरुले आआफ्ना कविताहरुको पाठ गरेका थिए । कविताहरु पाठ गर्नेहरुमा देबेन्द्र खेरेश, नारायण गाउँले, लक्ष्मी राई, मुकेश राई, शशी सुब्बा आदि थिएभने श्रेया राईले पियानो बजाएर गीत गाएकी थिईन् ।
दोस्रो सेसनको कार्यक्रममा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । जसमा, प्रो. माइकल हटबाट वर्तमान इतिहासमा तीन नेपाली आधुनिक उपन्यासहरुमाथि एक चर्चा, गोपीकृष्ण प्रसाई र डा. रुपक श्रेष्ठबाट संयुक्त रुपमा डायस्पोरा नेपाली साहित्य र अनेसास यूकेको नेपाली साहित्यमा योगदान, सुष्मा आचार्यबाट नेपाली साहित्यमा महिलाको योगदान, प्रो. गोविन्दराज भट्टराईबाट साहित्यको विस्तारमा नेपाली डायस्पोराको योगदान आदि शीर्षकका कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
कार्यक्रमको बीचबीचमा गायन तथा नृत्यको कार्यक्रम राखिएको थियो । गोर्खा वेलफेयर सोसाइटी युथ क्लव, साउथ हृयारोका नर्तकीहरुबाट नृत्यहरु र आधुनिक तथा पप गायक विवेक श्रेष्ठबाट गीत गायनको प्रस्तुत गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष जया राईबाट सहयोगदाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो, जसमा त्यसरी कदरपत्र प्राप्त गर्नेहरु सुरेन्द्र श्रेष्ठ, कूल आचार्य, महन्थ श्रेष्ठ, माधव श्रेष्ठ, उमेश रेग्मी, गञ्ज आलेमगर र डा. रुपक श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष होम परिवागले कार्यक्रमको विसर्जन गरिएको मन्तव्य दिएपछि औपचारिक रुपमा आजको कार्यक्रमको समापन भएको थियो ।
कार्यक्रममा स्थानीय साहित्यकारहरुको उपस्थिति बाक्लो थिएन र सहभागीहरु पनि त्यत्ति थिएनन् । यही कार्यक्रमका लागि निमन्त्रित गरिएका र प्रचारप्रसारमा आएका केही चर्चित व्यक्तित्वहरु सहभागी भएका थिएनन्, त्यसमा मुख्य रुपमा सिक्किमका मुख्यमन्त्री डा. पवन चाम्लिङ, हरि मानन्धर, दुबसु क्षेत्री, युवराज नयाँघरे आदि रहेका छन्, तीमध्ये केहीका शुभकामना सन्देशहरु पढेर सुनाइएका थिए । बेलायतमा रहेका विविध साहित्यिक संस्थाहरुको छाता संस्था बन्न सक्ने अवस्थामा रहेको अनेसासा यूकेले यस तीन दिने कार्यक्रममा एथेस्ट रुपमा तिनलाई प्लेटर्फम उपलब्ध गराउन नसकेको भान भएको थियो । साहित्य संधै अक्षरहरुबाट मात्र प्रसारित नभई संस्कृतिका अन्य विधाहरुबाट पनि प्रस्तुत हुन्छ, त्यसको कमी देखिएको थियो । कार्यक्रममा विदेशी प्राध्यापक माइकल हटले नेपाली वर्तमान अवस्थाका सामाजिक उपन्यासहरुबारे आफ्नो कार्यपत्रमा चर्चा गर्दै त्यसले नेपाली हालको विकसित यथार्थको व्याख्या गरेको हो भन्ने आसय व्यक्त गरिनुलाई चाखपूर्ण रुपमा हेरिएको थियो । र कवि नरेश काङबाङले पाठ गरेका आफ्ना कविताबाट उनी उक्त भेलामा औधी रुचाइएका थिए । -नीर, मेस, तस्वीरसहित
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया