प्रधानमन्त्री देउवामा आलोचनाको असर शून्य

प्रधानमन्त्री देउवामा आलोचनाको असर शून्य


केही दिनअघि एक सञ्चारमाध्यमले अन्तर्वार्ता लिने क्रममा प्रश्नकर्तालाई झपारेपछि नराम्रोसित विवादमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाले गत सोमबार सम्पन्न काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा पनि अत्यन्त विवादास्पद अभिव्यक्ति दिएका छन् । चुनावी समीक्षालगायतका विषयमा छलफल गर्ने मूल उद्देश्यका साथ आयोजित काङ्ग्रेस बैठकमा सबैजसो सहभागीले स्थानीय निर्वाचनमा पार्टी पराजित हुनुको कारणबारे विवेचना गर्दै त्यसनिम्ति सभापति एवम् प्रधानमन्त्री देउवाको भूमिका मुख्य रूपले जिम्मेवार रहेकोे निष्कर्ष निकालेका थिए ।

यसरी आलोचनाको केन्द्र बनेका देउवाले कार्यसमितिमा सहभागी नेताहरूको भनाइको उच्च सम्मान गरी भविष्यमा आफूलाई सुधार गर्दै अघि बढ्न देउवाबाट प्रतिबद्धता आउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री देउवाले बैठकको समापन गर्नुअघि सुधारका निम्ति त्यस्तो कुनै प्रतिबद्धता प्रकट गरेनन् । बरु उनले अहिले केही साथीलाई तीन महिनाका लागि मन्त्री बनाउने र आफ्नो कार्यकालको ६ महिनामध्ये अर्को तीन महिनाका लागि नयाँ साथीहरूलाई मन्त्री बनाइदिने अभिव्यक्ति दिएका थिए । बैठकमा आफ्नो आलोचना हुनुको कारण मन्त्री नबनाइने भएकोले हुन सक्छ भन्ने अनुमानको आधारमा देउवाले तीन–तीन महिनामा धेरैलाई मन्त्री बनाइने आश्वासन दिएर पार्टीभित्रको विरोधलाई मत्थर पार्न खोजेको आरोप नेताहरूले लगाएका छन् ।

मन्त्री बनाइने प्रलोभनमा परेर सबैले या धेरैले आफ्नो विरोध नगर्ने, बरु उनीहरूले आफूलाई साथ दिने देउवाले ठानेका हुन सक्छन् भन्ने काङ्ग्रेस नेताहरूको ठम्याइ छ । देउवाको यस्तो अभिव्यक्तिबाट काङ्ग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूले आफूहरू अपमानित भएको महसुस गरेका छन् । उनीहरूले आफूलाई देउवाले ‘अन्डरमाइन्ड’ गरेको र हेपेको पनि ठानेका छन् । पार्टीको महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि केन्द्रीय समितिलाई पूर्णता नदिनुको कारण रिक्त पदमा मनोनीत हुने आशामा पार्टीभित्र विरोध नहुने ठानिएझैँ मन्त्री बनाइने आसमा रुमल्लिएर धेरैले साथ दिइरहने चाल देउवाले चालेको बताउन थालिएको छ ।

प्रधानमन्त्री देउवाको यस्तो व्यवहारलाई काङ्गे्रस नेताहरूले उनको हेपाहा प्रवृत्तिको रूपमा लिएका छन् । यसअघि बीबीसीको साझा सवालमा उनको प्रस्तुति र शैलीले देउवा जनतालाई आदर गर्दैनन् भन्ने देखाएको थियो । कार्यसमितिमा दिएको उनको अभिव्यक्तिले चाहिँ पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई हेपेको ठानिएको छ । कार्यसमितिमा व्यापक आलोचना हुँदा पनि देउवाले आफूलाई सुधारेर अघि बढ्ने सङ्केत नदिएपछि काङ्ग्रेसका नेताहरू आगामी निर्वाचनहरूमा पनि नेतृत्वकै कारण पार्टीले ठूलो क्षति व्यहोर्ने भयो भनी चिन्ताग्रस्त हुन पुगेका छन् ।