हलोक्रान्तिका अभियन्तालाई राज्यले बिर्सिएको लमजुङेको गुनासो

हलोक्रान्तिका अभियन्तालाई राज्यले बिर्सिएको लमजुङेको गुनासो


– छविलाल बगाले, लमजुङ

‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे
तोयानाथ पण्डित हलो जोति बिग्रे’
हलो जोत्ने हुन् तीन जना
अवदेखि खालान् पाथी बाह्र माना ।

आज भन्दा ६८ बर्षअघि वि.सं. २००६ साउन ११ गते लमजुङको दुराडाँडामा ब्राह्मणहरूले आफैले गोरु नारेर हलोको अनोक समाती हलो जोतेर गरेको ‘हलो क्रान्ति’ सामाजिक जागरणको द्योतक बनेको छ ।

आज हामी जो कसैले सुन्दा कुनै कथा जस्तो लाग्ने घटना अब केवल इतिहासको पानामा मात्रै कैद हुन पुगेको छ । यथार्थमा सो हलोक्रान्ति जनताले निर्माण गरेको जनताको इतिहास हो ।

देशमा प्रजातन्त्रको उदय हुनुअघि २००६ साल साउन ११ गतेकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनहरूले सामुहिक रुपमा हलो जोतेका थिए । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णु प्रसाद अधिकारी, टपनिधि अधिकारी लगायत २७ जना बाहुनहरूले नेपालमै पहिलो पटक हलो जोतेर किर्तिमानी राखेका थिए ।

दुराडाँडा लगायत आसपासका गाविससँगै सिंगो मुलुकभरी नै बाहुनले हलो जोतेको एक बर्षसम्म हल्ला–खल्ला मच्चियो । तत्कालिन सरकारले राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा सामुहिक हलो जोत्नेहरूलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरूको नजोत्ने बाहुनहरूले नै बिरोध गर्न थाले । उनीहरूलाई जिस्काउन त्यतीखेर “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे, हलो जोत्ने हुन् मुख्य तीन जना अवदेखि खालान् पाथी बाह्र माना ।” भन्ने गीतै बनाएका थिए । त्यो बेला भएको हलोक्रान्तिमा हलगोरु जुटाउने, नार्ने र जोत्ने काम गरेको बताउँछन् हलो क्रान्तिका अभियन्ताहरू ।

२००६ सालमा पहिलोपटक दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा कास्की, तनहुँ, अर्घाखाँची, गोरखा, स्याङ्जा र धादिङमा पनि हलो जोत्ने अभियान नै शुरु गरियो । त्यसबेला हलो जोत्नेहरूलाई भात ठेगियो, माईत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी पनि माईत फर्किन पाएनन् भने उमेर पुगेका युवायुवतीहरूको विहेबारी नै रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात काढियो । कतिले हेर्न गएकै छैन् भनेर ढाँटी ढाँटी बैबाहिक जीवनमा बाँधिन पुगे । समाज पुरै अस्तव्यस्त बन्यो । आजभन्दा ६८ बर्ष अघि नै दुराडाँडामा छुवाछुतमुुक्त बनाउन पहल भएको थियो ।

उति बेलाको असजिलोे समाजमा छुवाछुत मुक्त बनाउने अभियान सानोतिनो कुरा थिएन् । यसको सारा गाउँलेले विरोध गरे । ‘सहभागी हुनेलाई तीन बर्षसम्म भातपानी काढे । सबैलाई दलितको जस्तै व्यवहार गरे । माइत आएका छोरी घर फर्केनन्, घरबाट बुहारी माइत गएनन्, एक अभियन्ताले भने, ‘गाउँका बुहारीहरू तीन बर्षसम्म आ–आफ्नो माइत जान पाएनन् ।’ त्यसपछि यसले बिस्तारै चर्चा पाउन थाल्यो । पहिला विरोध गर्नेले समेत पछि समर्थन जनाएको गाउँलेहरू बताउँछन् । त्यसपछि गोरखा, धादिङ, तनहुँमा बाहुनले जोत्न सुरु गरे ।

हलोक्रान्तिले ४ मुरी धान उब्जाउने ब्राहम्ण परिवारलाई २ मुरी हलीलाई मुजुरी भर्नुपर्ने स्थितीको मात्र अन्त्य गरेन, दलितहरूलाई समेत समकक्षमा राख्ने तथा हलीको पालो कुरेर बस्दा खेती लगाउने मौसम बित्ने अर्थात हली नपाउने अवस्थाको अन्त्य भयो ।

तर बाहुनले हलो जोतेको भनेर गरिएको विभेद ३ वर्ष पनि टिक्न सकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलोक्रान्तिको धेरैले प्रंशसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन भनेर ढाँट्नेहरू पनि पछि त म पनि गएको थिए भन्न थाले ।

सामाजिक परिवर्तनका लागि अभियान सुरु भएको दुराडाँडामा अहिलेसम्म यो समस्या उस्तै छ । त्यतिबेला विशुद्ध सामाजिक भावनाले सुरु भएको अभियानले पछि राजनीतिक रुप लियो । ‘त्यतिबेला जोत्न डराउनेले पनि पछि यसलाई राजनीतिक अभीष्ट पूरा गर्ने माध्यम बनाए । त्यसपछि कसैले पनि कुरीतिविरुद्ध अभिमत सिर्जना गर्नुको साटो आफ्नो राजनीति गर्ने आधार बनाएकाले यसको गति रोकिएको बताउँछन् स्थानियहरू । तर अहिले लमजुङमा हलोक्रान्तिमा सहभागी भएकाहरू सबैको निधन भइसकेको छ ।

बर्षैनी लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइने गरिन्छ । यो दिवसलाई राष्ट्रब्यापी रुपमा बनाउँदै हलोक्रान्तिका अभियन्ताहरूलाई राष्ट्रले विर्सन नहुने जिल्लाबासीहरूले सरकारसँग माग गरेका छन् । तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दिपक पौडेल हलोक्रान्तिलाई सरकारले नहेरेको प्रति दुखी बनेका छन् ।

विक्रम संवत २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा गाविसस्थित अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारीका साथ शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, मायानाथ पौडेल लगायत २७ जना ब्राम्हणले सामुहिक रुपमा हलो जोतेका थिए । शुरुमा पण्डित तोयानाथले हलो जोत्नुपर्छ भन्ने कुरा निकाले । २००४ सालदेखि नै यो कुरा उठेको थियो । गाउँमा तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदास, लगायतका केहि व्यक्तिहरूको विशेष सल्लाह हुन थाल्यो । हलो जोते के हुन्छ यसले किसानलाई सजिलो पर्छ । आफूले हलो जोत्न नहुने र हली लगाउन मुस्किल पर्ने कुराको अन्त्य हुन्छ । समयमा खेती गर्न पाउँदा उब्जनीमा वृद्धि हुन्छ ।