‘भोक लाग्दैन, माग पूरा नहुञ्जेल अनसन बस्छु’

‘भोक लाग्दैन, माग पूरा नहुञ्जेल अनसन बस्छु’


चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले ११ औँ आमरण अनसन थालेको आज (बुधबार) तीन दिन भएको छ ।  अनसनको तेस्रो दिन बुधबार उनी आफ्नो अवस्था ठिक छ भन्न नमिल्ने र धेरै बेठिक पनि नभएको बताएका छन ।

तर, उनले केही कमजोर महसुस भने भएको बताए । तर, अब त उनको शरीर अनशसनका लागि तयार भइसकेको छ । ११ औं अनसन सुरु गर्नु केही अगाडिदेखि उनले हल्का खानेकुरा खाने गरिरहेका थिए । डा. केसीले अनसन बस्न मिल्छ कि मिल्दैन भनेर समय–समयमा चेकअप पनि गर्ने गरेका थिए ।

आफ्नो माग संसदमा पुगेको १ वर्ष हुँदा पनि केही अत्तोपत्तो नभएकोमा उनले आपत्ति जनाए । पहिलो पटक ४ दिन आमरण अनसन बसेका डा. केसी १० औँ पटक २२ दिन बसेका थिए । उनले भने, “अब त झन् रेकर्ड नै तोडिन्छ, अघिल्लो पटक २२ दिन बसेँ । अब त माग पस्रा भएन भने त्यो भन्दा धेरै दिन हुन सक्छ ।” अनसन बस्न आत्मबल र आत्मशक्ति महत्वपूर्ण हुने उनी बताउँछन् ।

तीन दिनसम्म पनि सम्बन्धित पक्षले कुनै चासो नदेखाएको दुखेसो केसीले गरे । “मैले स्वास्थ्य सुधार र विद्यार्थीकै लागि यसो गरेको हुँ । पढाइ र बिरामीलाई बाधा हुँदैन, केही बन्द भएको छैन । तैपनि कसैले वास्ता नै गर्दैनन्, सम्बन्धित पक्ष नै माग पूरा गर्न चाँहदैन,” उनले भने, “आजसम्म जुनसुकै काम जनताकै दबाबमा भएको छ त्यसैले यो माग पनि पूरा हुनेमा विश्वस्त छु ।”

केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गरेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गरेका केसीले सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्न असार ३१ गतेसम्मको समयावधि दिएका थिए ।

अनसन बस्दा गाह्रो हुन्छ भनेरै अरु बेला पनि खाना नखाएको उनले बताए । “मलाई भोकको कुनै फिलिङ नै हुँदैन । अनसन बस्दा स्वास्थ्य धेरै बिग्रिन थाल्यो भने ३ दिनदेखि नै स्लाइन पानी चाहिन्छ । तर मलाई अहिले चाहिएको छैन,” उनले भने, “५–६ दिनसम्म त त्यत्तिकै बस्न मिल्छ । त्यो स्लाइन पानीमा नुनपानी बाहेक केही हुँदैन, त्यसले केही इनर्जी दिँदैन ।” यसअघिका अनसनमा मेडिकल टिमले स्लाइन पानीमा ग्लुकोज हालेर दिनुपर्छ भनेको भए पनि आफूले नलिएको उनले बताए ।

केसीका मागहरू:

-तत्काल माथेमा प्रतिवेदन अनुरुप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

-चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न निम्न काम गरियोस् ।

-सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरियोस् ।

-अाइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरियोस् ।

-आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरियोस् ।

-आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस् ।

-चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गरियोस् ।

-एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरियोस् ।