‘राजपा नेपाल एमालेको गोटी हो’ : उपेन्द्र यादव

‘राजपा नेपाल एमालेको गोटी हो’ : उपेन्द्र यादव


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल एमालेको गोटी बनेको आरोप लगाएका छन् । फोरम नेपालले मात्र चुनावमा भाग नलिएको भए गणतन्त्र र संघीयता समेत खतरामा पर्ने देखिएकाले अन्तिम समयमा आएर चुनावमा भाग लिने निर्णय गरेको बताउँदै उनले आफ्नो पार्टीले ठूलो बलिदानी दिएर संघीयता ल्याएकाले त्यसलाई कुनै पनि हालतमा समाप्त हुन नदिने उद्देश्यले स्थानीय तहको चुनावमा भाग लिएको स्पष्ट पारे ।

आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै अध्यक्ष यादवले राजपा नेपालले चुनावमा भाग नलिएर एमाले पार्टीलाई सहयोग पुर्याएको दावी गरे । संघीयता र गणतन्त्रका लागि लडाई तथा संघर्ष भइरहेको बेला राजपा नेपालका कतिपय नेताहरु सत्ताभोगमा भएकाले उनीहरुलाई त्यसप्रति त्यति मोह नरहेको टिप्पणी पनि उनले गरे ।

अहिलेको मुख्य काम संघीयता र गणतन्त्र जोगाउनु हो भन्दै यसैमा टेकेर अन्य मागहरु पूरा गराउन सकिने उनले धारणा राखेका थिए । प्रमुख तीन दल २४० निर्वाचन क्षेत्र यथावत राख्दै समानुपातिक मासेर संघीयतालाई समाप्त पार्ने खेलमा लागेको समेत आरोप लगाए ।

बैठकमा चुनाव भइसकेका जिल्लाका अध्यक्षहरुले चुनावको विषयमा आआफ्नो धारणा राखेका छन् । आन्दोलनमा रही रहेको अवस्थामा एकाएक चुनावमा भाग लिएपछि त्यसको प्रभाव पार्टीमा परेको उनीहरुले धारणा राखेका थिए । पार्टी युटर्न भएपछि जनतामा अन्योलमा देखिएको र उनीहरुले मतदान नगरेको जिल्ला अध्यक्षहरुले आफ्नो धारणा सुनाएका थिए ।