यूरोप भ्रमणको रमाइला अनुभूति…(भाग १२)

यूरोप भ्रमणको रमाइला अनुभूति…(भाग १२)


आज यात्राको आठौं दिन हो । हामी सबै खृष्टिनासँग भेनिस शहरतर्फ जाने ट्रालीबसमा गइरहेका थियौ । मुख्य भूभागबाट भेनिस शहरलाई जोड्ने दोहोरो सडकको पुलजस्तो पाटारुपी भूभाग हुँदै गाडी द्रूत गतिमा गुडिरहेको थियो । बाटोका दुबैतर्फ समुन्द्र थियो । यो बाटो टापुहरुको नगरी भेनिसलाई मुख्य जमीनसँग जोड्नकालागि पछि समुन्द्रमाथि निर्माण गरिएको रहेछ । यो बाटो दुईतिरको भूभागलाई जोड्ने पुलजस्तो देखिन्छ । भेनिस शहरको मुख्य बसपार्क पियाजारोमासम्ममात्र बस जाँदोरहेछ । बाँकी सम्पूर्ण भेनिस शहरको क्षेत्रभित्र मोटरकार, रेल, बस, साइकल कुनै सवारी साधन चल्दैनन् । डुँगाहरुबाहेक कुनै किसिमका अरु सवारीसाधनको सञ्चालन निषेध छ भन्नाले यी सवारी साधनहरु चल्ने बाटो नै छैन । यहाँको प्रमुख यातायातको साधन भनेको नौकायान हो । प्राचीनकालदेखि यस शहरमा डुँगा अथवा नौका नै प्रमुख सवारी साधनको रुपमा प्रयोग गर्दै आएको रहेछ । यो शहर ११७ वटा ससाना द्वीप समूहहरु मिलेर ८ किलोमिटरको दायराभित्र बसेको सुन्दर शहर हो । मैले अघिल्लो श्रृंखलामा यस शहरको प्राचीनताबारे केही प्रकाश पारेको थियो । यो शहर १८०वटा नहरहरुमाथि चारसयभन्दा बढी पुलपुलेसो जोडेर बनिएको छ । यस शहरमा जताततै पानी भएको हुनाले “सिटी अफ वाटर” अर्थात् पानीको शहर भनेर चिनिन्छ । गाइडले, “यो शहरको वैभव र विकास फैलिएको बेलामा यहाँका वासिन्दाहरुको सँख्या एकलाख अस्सी हजारसम्म पुगेको थियो भन्छन्, तर, अहिले यहाँको मुख्य वासिन्दाहरु केवल उन्साठी हजार छन्” । रोमन साम्राज्य पतन भइरहेको बेलामा उत्तरी यूरोप र एसियाबाट आक्रमणकारीहरुबाट बच्नको लागि ११औ शताब्दिताका यो शहर बसाएको भनिन्छ । तर, पुरातन अभिलेखबाट यस शहरमा मानिसहरु ३००० वर्ष पहिलेदेखि नै बसोबास गर्दै आएको पुष्टि गरेकाछन्” भन्दै थिईन् ।
धेरै ससाना टापुहरुलाई जोडेर बसाएको यस शहरमा एउटा पानीजहाज छिर्ने ग्राण्ड क्यानल पनि छ । यस ग्राण्ड क्यानलमाथि दुइटा सुन्दर पुलहरु छन् । सुन्दा अचम्म लाग्ला यो टापुहरुको शहरमा तीनहजारभन्दा बढी गल्लीहरु छन् । त्यसैकारण भेनिस शहरभित्र हिंड्दा नहाराउने मानिस नै हुँदैनन् भन्छन् । यस शहरको भित्रीभागहरुमा गल्लीहरुमात्र छन्, त्यसकारण वाहनहरु चल्दैनन् । नहरै नहर भएकोले गर्दा नौकाहरु ट्याक्सीको रुपमा प्रयोग हुन्छन् । तपाई नौकाको माध्यमबाट शहरका विभिन्न ठाउँहरुमा पुग्न सकिन्छ । भेनिस शहर घुम्दै जाँदा जता हेर्‍यो उता नहर, पुल र गल्लीहरु एकैनासका देखिन्छन् । पहिलोचोटि तपाई हातमा चित्र लिएर हिँडे तापनि कुनै न कुनै रुपमा झुक्किएर अन्तै गइरहेको ह्रन्छ । भेनिस शहर विश्वमा नै चर्चित र आकर्षित गर्ने खालको भएकोले धेरै पर्यटकहरु यहाँ आउँदा रहेछन् पर्यटकहरुको घुइचो देख्नेलायक हुन्छ । यहाँको प्रमुख आकर्षणको केन्द्र, सेन्टमार्कोमा पुगेर समुन्द्रतटमा ग्राण्डक्यानालको छेउमा उभेर हेर्दा पर्यटकहरुको समूह-समूहको कहिल्यै नटुँङ्गिने लाम देखिन्छ । पर्यटकहरुको आगमन बढी भएकोले गर्दा यो शहर पनि यूरोपको अत्यन्त महँगो शहर बन्न पुगेको छ । दिशापिशाबको लागि रेस्टुरेन्टमा किनेर नखाए डेढ यूरो तिरेर मात्र दिशापिशाब गर्ने अनुमति दिन्छन् । शहर पानीमाथि अडेको जस्तो देखिन्छ कारण जताततै पानीमात्र देखिन्छ । कतिपय घरका भुइँतलाहरु पानीको कारणले गर्दा मानिसहरु भुइतल्लामा बस्दैनन् । शहरको स्थितिलाई देखेर बुरिया दंग परिन् । भर्खरै जापानमा गएको भुँइचालो र सुनामीलाई सम्झँदा यो शहर सानो भुइचालो वा सुनामीको झट्काले मात्र सखाप हुन्छ होला जस्तो आभास मलाई भएको थियो । गाइडलाई यसबारे प्रश्न गर्दा, विस्तारै यो शहर पानीको सतहमुनि धस्दै गइरहेको कुरा पुष्टि गरिन् । विगत केही वर्ष यताभित्र चारफुट सतह पानीभित्र डुबेको कुरा भनेकी थिईन् । उहिले पुलहरु निर्माण नहुँदा डुँगाबाट मात्र एकठाउँबाट अर्को ठाउँसम्म पुग्ने गर्थे तर विस्तारै सबै टापुहरुलाई पुलले जोडेपछि शहरभित्र एकठाउँबाट अर्को ठाउँ हिडेर पुग्न सकिन्छ । इटालियन भाषामा नदीलाई रियो र गल्लीलाई काले भन्दो रहेछ । ठाउँ ठाँउमा खुला पाटनहरु निर्माण गरेका रहेछन् । प्रत्येक त्यस्ता ठाँउहरुमा कुनै न कुनै क्याथाड्रल अथवा गिरजाघरको निर्माण गरिएका देखे । भेनिस शहरको ८ किलोमिटर दायराभित्र १०४ वटा गिरजाघरहरु छन् । ती गिरजाघरहरु प्राय सबै बाइजयन्टाइन र गोथिक शैलीमा निर्माण गरिएका छन् । भेनिस शहरमा प्राय पर्यटकहरु गोण्डोला (एक प्रकारको लामो कलात्मक तरिकाले दुईतिरका टुप्पाहरु घुमउरो बनाएर निर्माण गरेका डुंगाहरु) भाडामा लिएर भेनिस शहरको परिक्रमा गर्छन् । मैले फिल्महरुमा पनि यो डुंगालाई देखेको थिएँ । ती डुँगाहरु देख्दा मलाई छोरीले भनेको कुरा सम्झना भयो । छोरीले .. अमिताभ बच्चनको एउटा फिल्मको गीतको छायांकन भेनिसमा डुंगामाथि गरिएको छ बाबा… भनेकी थिईन् । अहिले मैले त्यो फिल्मको नाम भुले त्यस फिल्ममा जिनत अमन हिरोईन थिईन । सम्झनाको लहरमा डुब्दै जाँदा मैले एउटा फिल्ममा यस्तै गोण्डोला चढेर नाविकले गीत गाउँदै गरेको दृश्य देखेको थिएँ । वास्तवमा उहिले डुंगामाथि चढेर भेनिसवासीहरुले गीत गाउने रमाइलो चलन ल्याएका रहेछन् भन्ने अनुभूति मलाई भयो । लगभग नौका चलाउनेहरुको लगाउने कपडा एउटै खाले देखे । गाइडले हामीलाई पियाजारोमाबाट एउटा पुल तरेर गएपछि शुरुमा एउटा गिर्जाघरमा लगेर गईन् । ११औ शताब्दीताका बनाएको गिरजाघर र त्यहाँका भवनहरुका बुनियाद काठलाई प्रशोधन गरेर नकुहिने हिसाबले बनाएका रहेछन् । ऐतिहासिक अभिलेख अनुसार यो शहर बाहृय आक्रमणबाट बच्नकालागि यहाँका वासिन्दाहरुले चारैतिरबाट पानीले घेरिएका समुन्द्रबीचको टापुहरु जोडेर बनाएको कुरा त्यहाँका संरचनाहरु र अवस्थितिलाई हेर्दा पुष्टि भइरहेको थियो । कालान्तरमा यहाँका व्यापारीहरु पानी जहाज लिएर धेरै टाढा टाढासम्म व्यापारकालागि गएका रहेछन् । व्यापारमा ठूलो प्रगति गर्दै यहाँबाट सुदूर उत्तरपूर्व युगोस्लाभिया,टर्की, उत्तरी अफ्रिका र पश्चिमी एसियाली मुलुकहरुसम्म यहाँका व्यापारीहरु भुमध्य सागर हुँदै व्यापार गरेर ठुलो वैभव र समृद्धि हासिल गरेका रहेछन् । यहाँका मानिसहरुले अकुल धनसम्पति कमाएर भेनिस शहरलाई इतिहासकालमा निकै चर्चित धनी शहर बनाएका रहेछन् ।
यो एउटा यस्तो आधुनिक युगको शहर हो जहाँ मानिस डुँगाबाहेक पैदल हिडेर भ्रमण गर्छन् । नहरहरुमा डुंगाहरु र शहरको भित्री भागमा पैदल हिँड्ने मानिसहरुको मात्र घुइचो देख्न पाइन्छ । पर्यटकीय गन्तव्य भएकोले होला यहाँका प्राय सबै घरलाई दुकान र रेस्टुरेन्ट बनाएका छन् । यस शहरमा २ वटा विश्वविधालयहरु छन् । सबै विषय पढाउने स्कुलकलेजहरु छन् । अनुपम कला र सँस्कृतिको अस्तित्व रहेको भेनिस शहर विश्वमा भिन्नै पहिचान बोकेर हजारौं सालदेखि उभेको छ । घरहरुको घनत्व बढी भएकोले कुनै पनि व्यक्तिलाई भेनिस शहरमा ठेगाना पत्ता लगाउन निकै गाह्रो हुन्छ भनेर गाइडले भनेकी थिईन् । फ्लोरेन्सबाट पुनरजागरणको सूत्रपात भएपछि भेनिस शहरलाई प्रभावित पारेको थियो र छिट्टै पुनर्जागरणको लहरले भेनिस शहरलाई प्रभावित पार्दै छिट्टै विकासमा ठुलो परिवर्तन ल्याएको थियो । यस शहरको प्रमुख आकर्षणका ठाउँहरुमा सेन्ट मार्कोको गिरजाघर, बेल (क्लोक) टावर, सेन्ट मार्को टावर र ग्राण्डक्यानल वरिपरिका महलहरु र गोण्डोलाको सफर रहेछन् । हामी गोण्डोलाको सफर नगरी फास्ट बोटमा चढेर भेनिस शहरबाट एकघण्टा लाग्ने छुट्टै अर्को मुरेना नाम गरेको सानो टापुमा गएका थियौ । फास्टबोट हामीलाई बससेवा जस्तो लाग्यो । ठाउँ ठाउँको स्टेशनहरुमा रोक्दै मानिसहरु उतार्दै चढाउदै ओसारपसार गर्दोरहेछ । यहाँको प्रमुख यातायातको साधन नै बोटिङ सेवा हो । समुन्द्रको बीचमा रहेको हुनाले शहरवासीहरुले उहिले पिउने पानीका लागि अकाशको पानीमा भर पर्थे रे तर, १६औ शताब्दीपछि पानीको सेवाको सुविधा भएको थियो भनिन्छ । यस शहरमा मैला जम्मा गर्ने कर्मचारीहरुले हातेगाडी चलाएर मैला उठाउने गर्छन् ।
यस शहरको फोन्टडाडेल स्थित पुल र यस वरिपरिका क्षेत्र यस शहरको प्रमुख बजार रहेछ । यहाँका भवनहरुका बुनियाद पानीको सतहबाट नै उठाइएका हुनाले कतिपय नहर छेऊमा अवस्थित भवनहरुको भुइँतलामा पानी रहेको देखेको थिएँ । सेन्टमार्को यहाँको प्रमुख आकर्षणको केन्द्र मात्र नभई यो ठाउँ प्रशासकीय व्यवस्थाका लागि न्यायपालिका तथा प्रतिनिधि सभाको महल यहाँको प्रमुख गिरजाघर जसलाई गरीबहरुका बाईबल पनि भनिन्छको छेउमा निर्माण गरेका रहेछन् । गिर्जाघरमा बाइबलको वर्णन चित्रहरुबाट दर्शाइएका हुनाले अनपढ, गरीब सबैले बुझ्ने हुनाले गरीबहरुको बाइबल नामले प्रसिद्धि पाएको रहेछ । त्यो विशाल भवनको अघिल्तिर पाटनमा ठुला ठुला गुम्बदहरु निर्माण गरेर राखेका छन् । एउटा गुम्बदमाथि सेन्ट मार्कोको प्रतिक चिन्ह पखेटा भएको सिँह र अर्कोमा भेनिसको प्रतीक चिन्ह मूर्तिहरु निर्माण गरेर राखेका छन् । ती गुम्बदहरुको बीचभागको पाटनमा उहिले अपराधीहरुलाई मृत्युदण्ड दिने प्रचलन थियो भनिन्छ । क्लोक टावरदेखि ग्राण्डक्यानलको तटसम्म मानिसहरु मृत्युदण्ड दिनेबेलामा भेला भएर हेर्दथे भन्छन् । सेन्टमार्कोको गिरजाघरभित्र प्रवेश गर्नको लागि ४ यूरो प्रवेश शुल्क लिन्छन् । गिरजाघरभित्र बाइबलसम्बन्धी ठूलठूला चित्रहरु गिरजाघरको पर्खाल र भित्ताहरुमा अंकित छन् । हामीलाई लगभग ३ घण्टाजति गाइड खृष्टिनाले घुमाएर सेन्ट मार्कोमा छोडेर गईन् । गाइड समीले भेनिस शहर आ-आफ्नै हिसाबले घुमेर होटल र्फकने कुरा भनेकी थिईन् । हामी भोलि इटालीबाट अस्ट्रिया हुँदै जर्मनको म्युनिख शहर अनि राइनभ्याली, नदी किनार भएर राइन नदीको किनारमा अवस्थित बोपार्ड भन्ने सानो शहरमा बस्ने भ्रमण तालिकाको कार्यक्रम थियो । हामी सेन्टमार्को वरिपरि दुबैजना भ्रमणका साथीहरुसँगै घुम्दै थियौं । ठीक बाह्र बज्दा बेल टावर र सेन्टमार्को टावरको विशाल घण्टाहरु एकैसाथ बज्न थाले एकतमाशले । सारा शहरलाई घण्टाहरुका अवाजले गुञ्जायमान बनाइरहेको थियो । हामीलाई भेनिस शहर अत्यन्त रमाइलो लाग्यो । सेन्ट मार्को छेउमा एउटा ठुलो ढुँगाहरुले छापेका विशाल फराकिलो पाटन रहेछ त्यस पाटनको चौघेराभित्र उच्चस्तरीय महँगा होटलहरु रहेछन् । गाइड भन्दैथिईन् … भेनिसका सबैभन्दा महँगा होटलहरु यी नै हुन…। हामी त्यस पाटनमा घुम्दै गरेको बेलामा सयौं परेवाहरु उड्दै बथानका बथान मानिसहरुका वरिपरि जम्मा भएका देखेँ । एउटा परेवा उड्दै आएर मेरो काँधमाथि बस्यो । ठीक त्यसैबेला बुरियाले फोटो खिचिदिईन् । यी परेवाहरु मानिसहरुसँग झ्यामिएर खानेकुरा खानलाई वरिपरि झुम्मिएर उड्दारहेछन् । युरोपमा पशुपंक्षी र जनावरहरुको सँरक्षणहेतु कानून बनाएका छन् । यहाँ कसैले चराचुरुङ्गीहरु मार्दैनन् । त्यसैले पशुपंक्षीहरु मानिसहरुसँग झ्यामिएर हातहातमा आउँछन् । मन त्यसै फुरुङ्ग भएर आयो । बुरियाले छोराछोरीलाई सम्झँदै मलाई भन्दै थिईन् … छोराछोरी पनि भइदिएको भए कति रमाइलो हुन्थ्यो बुरा… मैले सम्झेँ, आमाको माया कति निश्छल छ, उनी प्रत्येक पल आफूले जन्माएका बच्चाहरुको मात्र चिन्ता गरि्छन् । मैले भने.. चिन्ता नगर बुरिया समयले साथ दिए फेरि आउँला नी बच्चाहरुसित … मैले बुरियाको आँखा रसाएको देखेँ । सायद उनलाई छोराछोरीको सम्झनाले पिरोलिएको होला । एकैछिनपछि हामी दु्बैजना ग्रान्डक्यानलको एकछेउमा लञ्च लिँदै टाढा टाढा समुन्द्रमा जहाजहरु चलिरहेका दृश्य हेरिरहेका थियौं । हवस् त … फेरि अर्को श्रृंखलामा भेटौंला, धन्यवाद ।