श्री ३ बाट मान्छे चिन्न सुझाव

श्री ३ बाट मान्छे चिन्न सुझाव


‘अक्टोबर १५ ता. १९१८ इ. का दिन रेजिडेन्ट कर्णेल बेलीले श्री ३ चन्द्रलाई विजयादशमीको शुभकामना दिँदै पत्र लेखे, जसमा अर्को बडादशैँसम्ममा महामहिमद्वारा ब्रिटिस भारत सरकारलाई लडाइँमा गर्नुभएको ठूलो सहयोगबाट छुटकारा हुने विश्वास व्यक्त गरेका छन् ।

वि.सं. १९७५ मा ब्रिटिसले प्रथम विश्वयुद्ध विजय गरेबापत काठमाडौंमा धुमधामसँग हर्षबडाइँ गरियो । प्रथम विश्वयुद्धमा ब्रिटिस भारतका सेनामा भर्ती भएका गोर्खालीले युरोप मेसोपोटोमियामा अत्यन्त वीरताका साथ लडेकाले जम्मा दुई जवान गोर्खालीले ‘भिक्टोरिया क्रस V.C ग्रेटब्रिटेन सरकारको सर्वश्रेष्ठ बहादुरी पदक पाए । यस युद्धको समयमा जर्मन सम्राट केजर विलियम द्वितीयले भनेका थिए, ‘विश्वका पनि राष्ट्रका सेनासँग म आफ्ना प्यारा सेनालाई लडाउन रत्तिभर डराउन्न, तर गोर्खा सेनाको नाम सुन्नासाथ मेरो मुटु काम्छ ।’ यस वाक्यबाट पनि गोर्खाली (नेपाली)को वीरता स्पष्ट हुन्छ ।

प्रथम विश्वयुद्ध सकियो, साथै रुसमा क्रान्ति भई ‘जार’को पतन भयो । राजपरिवारलाई कैद गरियो र पछि हत्यासमेत गरियो । काठमाडौंमा एक दिन श्री ३ चन्द्रले उमेर पुगेका रोलवाला राणाजीहरूलाई सिंहदरबारको ‘कैलाश’मा बोलाई ‘महाराज जंगलबहादुर हेर्दैमा मान्छे चिन्दथे, महाराज वीरशमशेरले एकपटक कुरा गर्दैमा मान्छे चिन्दथे, तर मलाई अझै मान्छे चिन्न गाह्रो पर्दछ । तसर्थ तिमीहरूले पनि मानिस चिन्न अभ्यास गर्नुपर्छ । जार निकोलसले पनि मानिस चिन्न नसक्दा र निकम्मा, अयोग्य मानिसलाई ठूला–ठूला ओहोदामा राख्दा सत्ता मजबुत गराउन सकेनन् । त्यसैले तिमीहरू सबैमा योग्यता हुनुपर्छ साथै मान्छे पनि चिन्न सक्ने क्षमता हुनुपर्छ, नत्र हाम्रो राणाशासनको पनि पतन हुनेछ भने ।

वि.सं. १९७५ माघमै भारततर्फ गएका नेपाली सैनिक १२,२५८ जवानले दिल्लीमा भायसरायलाई मार्च–पोस्ट–परेड देखाए । तीन दिनपछि फेरि सबै सैनिक जवान जम्मा गराई भायसरायले बिदा दिए । सेना काठमाडौंतर्फ हिँड्यो । नेपाली सेना काठमाडौंतर्फ हिँड्नुअगावै ‘जनरल इन चिफ’ बबरशमशेरलाई ब्रिटिस सरकारले प्रथम श्रेणीको ‘जीसीएसआई’ नामक पदक दिने कुरा गर्दा श्री ३ चन्द्रले प्रथम श्रेणीको जीसीएसआई पदक दिनुहुँदैन, दोस्रो श्रेणीको केसीएसआई पदक दिए हुन्छ भनी लेखी पठाएकाले उनले ब्रिटिस सरकारका तर्फबाट ‘केसीएसआई. अर्डिनरी’ पाउने भए ।

तर, ‘अर्डिनरी Ordinary’ खालि ब्रिटिससम्बन्धी (British Subject) अङ्ग्रेजहरू र भारतीय राजा–रजौटाहरूलाई मात्र दिइँदो रहेछ । अनरेट Honorary चाहिँ विदेशीहरूलाई दिइँदो रहेछ । सो कुरा बबरशमशेरले प्रमाणको निमित्त लेखिएको किताबसहित तुरुन्त भारत सिमलाबाट श्री ३ चन्द्रकहाँ काठमाडौं पठाए । सो प्रमाणसहितको सूचना पाउनासाथै श्री ३ चन्द्रले रेजिडेन्ट सर फ्रेडरिक ओकनर (Sir Frederic Oconnor) लाई आफूले ‘जीसीएसआई अनरेरी’ पाएको र प्रमाणसहित बबरशमशेरले पठाएको किताब देखाए । तत्कालीन रेजिडेन्ट लेफ्टिनेन्ट कर्णल सर फ्रेडरिक ओकनरले पनि ब्रिटिस भारत सरकारमा सो कुरा अवगत गराई पठाएकाले आखिर बबरशमशेरलाई ‘केसीएसआई अनरेरी’ स्वीकृत भई आयो । उ.क.ज. पद्मशमशेर, जनरल तेजशमशेर, ले. जनरल केशरशमशेर र मे. जनरल शेरशमशेरहरूलाई पछि विचार गर्ने भनी त्यस समयमा पदक नदिई भारतबाट बिदा गरे ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)