नमागिएको सुझाव आरजु म्याडमलाई

नमागिएको सुझाव आरजु म्याडमलाई


– देवप्रकाश त्रिपाठी

सुझाव–सल्लाह दिने कार्यलाई हाम्रो समाजमा सजिलो मानिन्छ, तर नमागीकन सुझाव दिनु या दिन खोज्नुलाई चाहिँ अनुचित ठानिन्छ । वास्तवमा जतिसुकै सजिलो काम ठानिए पनि ठीक समयमा सही सुझाव दिन विशेष क्षमताको अपरिहार्यता रहन्छ । खासगरी सार्वजनिक जिम्मेवारीको महत्वपूर्ण हैसियतमा रहेका व्यक्तिलाई सुझाव दिने कार्य सर्वाधिक कठिन मानिन्छ, किनभने पहिलो कुरा, उनीहरूमा ‘सकारात्मक’ मात्र सुन्ने संस्कार बसिरहेको हुन्छ, नकारात्मक सुन्न मन पराउँदैनन् । त्यसैले शक्तिशाली मानिसलाई निर्भयका साथ सुझाव दिन या आलोचनात्मक टिप्पणी गर्न पनि ठूलै साहस गर्नुपर्ने हुन्छ । भय र लोभमुक्त नभएसम्म सही सल्लाह दिन सकिँदैन । दोस्रो, सल्लाह दिने व्यक्तिमा पनि ठीक समयमा उचित सल्लाह दिन सक्ने क्षमता हुनुपर्छ । सबैभन्दा ठूला गल्ती त्यस्ता मानिसबाट हुन सक्छ जो राज्यसत्ताको केन्द्रबिन्दुमा हुन्छन् ।

सत्ता केन्द्रमा रहेका मानिसबाट हुने गल्तीको आयतन तथा समयदूरी फराकिलो हुन सक्ने र त्यसको असर लाखौँ–करोडाँै मानिसलाई पर्ने भएकोले राम्रो या सही सुझावको दरकार तिनैलाई आवश्यक हुने हो । दुर्भाग्यवश शक्तिशाली मानिस आफूलाई सर्वज्ञाता ठान्छन् र कसैको सुझाव–सल्लाहको आवश्यकता महसुस गर्दैनन् । त्यस्ता व्यक्तिको सोचअनुरूप सुझाव दिन सक्ने (जसलाई चाटुकार भनिन्छ) मानिस मात्र शक्तिशालीका आँखामा सही र प्रिय बन्न सक्छन् । तात्कालिक राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला र प्रचण्ड (प्रधानमन्त्री रहँदा) शक्तिशाली भूमिकामा रहेका बेला तिनलाई सुझाव दिने क्रममा हामीलाई महसुस भएको अनुभूतिका आधारमा पनि यसप्रकारको निष्कर्ष निकालिएको हो ।

सत्तामा रहँदा अधिकांशलाई सबैभन्दा राम्रो, असल, ज्ञानी, गुणी र दूरदर्शी आफैँ हुँ भन्ने लाग्छ । पदासीन व्यक्तिका दृष्टिमा बाँकी सबै मानिस आफूभन्दा दुर्बल, कमजोर र क्षमताहीन हुन्छन् । कदाचित कुरा सुनेजस्तो गरेछन् भने पनि शक्तिवानहरूले ग्रहणचाहिँ गरिरहेका हुँदैनन् भन्ने जानकारी हुँदाहुँदै पनि ‘फस्र्ट लेडी’ म्याडम आरजु राणा देउवालाई उनले नमागेको र सुन्न नचाहेको सुझाव प्रस्तुत गर्ने धृष्टता यहाँ गरिएको छ ।

सत्ता–उन्मादले गर्दा चाहेको र आफूले सोचेकोभन्दा भिन्न कुनै कुरा नसुन्ने ‘उचाइ’मा पुगिसकेकी आरजुलाई यस्तो अवस्थामा सुझाव दिनु भनेको बुचरका अघिल्तिर उभिएर खसी–बोकाले घरमा हतियार नराख्न या तरबारमा धार नलगाउन सुझाव दिनुजस्तै हो । तथापि उनलाई ठीक समयमा उचित सुझाव नदिँदा उनको आफ्नो पति, काङ्गे्रसको सभापति, काङ्गे्रस पार्टी र जनतालाई समेत गम्भीर असर पर्न सक्ने पक्षलाई दृष्टिगत गरी ‘म्याडम’ आरजुलाई सुझाव दिन खोजिएको हो । आरजु राणा आफ्नो विषयमा राम्रो ज्ञान राख्छिन्, वाक्पटुता, चातुर्य र मधुर वाणीमा पनि उनी अब्बल मानिन्छिन् । सभ्य र शालीन छिन्, सामान्य मानिसभन्दा उनी कैयन दृष्टिले असामान्य छिन् । उनको अन्तर्राष्ट्रिय सम्पर्क–सम्बन्ध पनि राम्रो मानिन्छ, तर उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएको स्मरण गरिँदैन । काङ्गे्रसका शेरबहादुर देउवालाई पूरै आफ्नो बनाए पनि उनी स्वयम्लाई चाहिँ काङ्ग्रेसले आफ्नो ठान्न खोजेको र सकेको छैन ।

मंगलादेवी काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी पत्नी थिइन्, तर उनी पत्नी मात्र थिइनन् । नेपालको महिला आन्दोलनकी अग्रणी नेतृ थिइन् । घरभित्रको चुलो–चौको, बेड र बगैँचामा मात्र नभई आन्दोलनको मैदानमा समेत मंगला गणेशमानको सहयोगी थिइन् । प्रजातन्त्रका लागि लड्दा मंगलाले पटक–पटक जेल यातना पनि भोगेकी हुन् । तर, प्रजातन्त्र स्थापनापछि मंगलादेवीले काङ्गे्रसको टिकट लिएर उम्मेदवार बनेको जनतालाई मन परेन, निकै आलोचना भयो र निर्वाचनमा पराजित गरिदिए । मंगलालाई मानिसले गणेशमानजीको पत्नीका रूपमा जति सम्मान गर्थे त्यति सम्मान उनको बेग्लै भूमिकाको लागि समकालीन समाजले गर्न चाहेन ।

त्यसैगरी डा. बाबुराम भट्टराईकी पत्नी हिसिलाको पनि नेपाली राजनीतिमा विशिष्ट योगदान छ । भट्टराईसँगै हिसिला ज्यान र भविष्य जोखिममा राखेर हिंसात्मक युद्धको मैदानमा उत्रिएकी हुन् । निकै दुःख, कष्ट र सकस भोगेकी छिन् उनले बाबुरामकी पत्नी भएबापत । तर, जब सहज परिस्थिति बन्यो र बाबुराम भट्टराई शक्ति र लोकप्रियताको उचाइमा पुगे, त्यसबेला बाबुरामको बीचमा हिसिला आएको मानिसले मन पराएनन् । शक्तिशाली बाबुरामका अघिल्तिर हिसिलाको सङ्घर्ष र समर्पण सबै फिका भए, मानिसले हिसिलाको नाम लिएर बाबुरामको व्यक्तित्वमा लागेको ग्रहणसम्म भन्न भ्याए ।

बिन्नी, मंगला र हिसिलाहरूलाई झैँ आरजुलाई ‘सङ्घर्ष’ले चिन्दैन, चिन्नेहरूले विषयविज्ञ, एक प्रतिभाशाली महिला र शेरबहादुर देउवाकी पत्नीका रूपमा मात्र चिनेका छन् र सलाम ठोकेका छन्, अघिपछि लागेका छन् । आरजुले कतिबेला दिनलाई रात भन्लिन् र ‘यो रात मात्र होइन मध्यरात नै हो’ भन्ने भक्तिगान गाएर देवीलाई प्रसन्न तुल्याउँदै बरदान माग्न उनका वरिपरि अनेक आकार–प्रकारका मानवरूपी प्राणीहरू लामबद्ध छन् ।

विश्वप्रसिद्ध दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले आफ्नो जीवनको महत्वपूर्ण मानिने समयमा सत्ताइस वर्ष जेलमा बिताउनुप¥यो । उनकी पत्नी बिन्नीले पतिलाई सधैँ एकाकार भएर सहयोग पु¥याइन् । सहयोग पु¥याउनु बेग्लै पक्ष, अनिश्चितकालका लागि जेल परेका व्यक्तिलाई प्रतीक्षा मात्र गर्न सक्नुलाई पनि धेरै ठूलो समर्पणका रूपमा लिन सकिन्छ । तर, जब रङ्गभेदविरोधी आन्दोलन सफल भएर मण्डेला सत्ता र लोकप्रियताको शिखरमा पुगे, त्यसपछि त्यहाँका मानिसले मण्डेलाको बीचमा बिन्नीलाई हेर्न चाहेनन् । बिन्नीको व्यापक बदनाम गरियो, उनी विवादमा परिन् या विवादमा पारियो । बिन्नीको चुरीफुरी बढेको ठान्नेहरूले मण्डेलासमक्ष बारम्बार गुनासो गर्न थालेपछि रामले सीतालाई परित्याग गरेझैँ मायाप्रिती हुँदाहुँदै पनि मण्डेलाले उनीसँग सम्बन्धविच्छेद गर्नुपरेको थियो । जनताको भावना बुझेर राजनीतिक अगुवाले व्यवहार गर्नुपर्छ भन्ने कुराको दृष्टान्त कि रामले स्थापित गरेका थिए कि मण्डेलाले गरेका हुन् ।

यसरी सङ्घर्ष, सास्ती र सकसको समयमा हरतरहले साथ दिने ‘पत्नी’हरूलाई त जनताले ‘बीचमा आएको’ देख्न चाहेका थिएनन् भने आरजु म्याडमलाई त प्रजातन्त्र, सङ्घर्ष र काङ्गे्रससँग कुनै नाता–साइनो नगाँसिएकी, अनायासै भाउजू बनेर भित्रिएको ठानिन्छ । त्यसैले आफू कुन रूपमा प्रस्तुत हुने भन्ने विषयमा गम्भीरतापूर्वक शान्त चित्तले सोच्न जरुरी छ । आफ्ना वरिपरि निरन्तर लागिरहने झुन्डबाट उत्प्रेरित भएर सपनाको जिन्दगी बाँच्नुभन्दा झुन्डबाहिरको संसार हेरेर विपनाको जीवन जिउनु हरदृष्टिले उपयुक्त हुनेछ । बिन्नी, मंगला र हिसिलाहरूलाई झैँ आरजुलाई ‘सङ्घर्ष’ले चिन्दैन, चिन्नेहरूले विषयविज्ञ, एक प्रतिभाशाली महिला र शेरबहादुर देउवाकी पत्नीका रूपमा मात्र चिनेका छन् र सलाम ठोकेका छन्, अघिपछि लागेका छन् । आरजुले कतिबेला दिनलाई रात भन्लिन् र ‘यो रात मात्र होइन मध्यरात नै हो’ भन्ने भक्तिगान गाएर देवीलाई प्रसन्न तुल्याउँदै बरदान माग्न उनका वरिपरि अनेक आकार–प्रकारका मानवरूपी प्राणीहरू लामबद्ध छन् । जब कोही पनि मानिस चर–अनुचरहरूको घेरामा पर्छ तब उसले सत्यबोध गर्न सक्दैन । सत्यबोध हुँदा राजा ज्ञानेन्द्रझैँ खाडलमा परिसकिएको हुन्छ, त्यसबेला बाहिर निस्कन निकै कठिन हुन सक्छ ।

प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, त्यस क्रममा गरेको सङ्घर्ष र भोगेको सास्ती तथा समग्र पृष्ठभूमिका आधारमा हेर्दा शेरबहादुर देउवा धेरै माथिल्लो स्तरमा छन् भन्नुपर्ने हुन्छ । तर, योग्यता, कार्यक्षमता, चातुर्य र प्रतिभाका आधारमा पति देउवाभन्दा धेरै अगाडि छिन् पत्नी देउवा । जतिसुकै योग्य र क्षमतावान भए पनि शेरबहादुर देउवाको बीचमा आएकोचाहिँ आममानिसले मन पराएका छैनन् । यदि मदन भण्डारीकी पत्नी विद्याले झैँ आफूलाई छायामा राख्न आरजुले सकेको भए उपयुक्त समयमा उनको नाम देउवाको उत्तराधिकारीका रूपमा लिन सम्भव थियो । आहिले अलिकति महत्वाकाङ्क्षी व्यक्तित्व प्रकट हुँदा देउवाको बर्बादीको एक मूल कारणका रूपमा ‘आरजु’ नाम लिन थालिएको छ । नगदसँग निकटतम् सम्बन्ध कायम भएकी एक अति महत्वाकाङ्क्षी महिलाका रूपमा आरजुको नाम फैलिएको छ । यसैलाई सफलता ठानेर रमाइरहेको अवस्था हो भने आरजुले अरू केही काल रमाउँदा भयो, होइन भने उनले आफ्नो शैली र भूमिका परिवर्तन गर्नु राम्रो हुन्छ । कुनै समयका (विवाहभन्दा अघिका) जनप्रिय शेरबहादुर देउवालाई आमजनता र कार्यकर्ताबाट टाढा पुर्‍याएको, आर्जन तथा सङ्ग्रहमा दुर्बल देउवालाई मदारीले ‘बाँदर नचाएर’ जीविकोपार्जन गरेको शैलीमा आर्जन र सङ्ग्रह गर्ने गरेको भन्नेसमेतका टिप्पणी आरजु म्याडमको नाम लिएर जनस्तरमा हुन थालेको छ ।

विद्या भण्डारी यतिबेला राष्ट्रपति छिन् । यिनै विद्या पञ्चायतविरोधी सङ्घर्षमा सक्रिय र समर्पित थिइन् । सङ्घर्षकै मैदानमा मदन भण्डारीले भेटेर उनलाई जीवनसाथी अपनाएका हुन् । मदनसँगको वैवाहिक जीवन आरम्भ भएपछि उनी माले–एमाले बनेकी होइनन्, बरु वैवाहिक जीवनपछि विद्या सक्रिय राजनीतिबाट केही पछि हटिन् र मदनको दैनिक जीवनमा एक कुशल सहयोगी–गृहिणी भूमिकामा आफूलाई सीमित गरिन् । मदनको सफलताबाहेक आफ्नो बेग्लै महत्वाकाङ्क्षा भएको आभाससम्म कहिल्यै दिइनन् विद्याले । शक्तिशाली मदनको कमजोर गृहिणीका रूपमा विद्या बाँचेकी थिइन् । तर, मदनको अवसानपछि मानिसले विद्यालाई चुलोबाट बाहिर निकालेर पटक–पटक निर्वाचन जिताए र राष्ट्रपतिसम्म बनाए । मदन भण्डारी शक्तिशाली रहेका बेला विद्या भण्डारीले चुरीफुरी देखाएको भए सम्भवतः उनको बदनामी निश्चित थियो । घाम नबनेर छाया बन्न सक्ने क्षमता देखाउनुको उपहार अहिले विद्या भण्डारीलाई प्राप्त भएको छ । तर, आरजु म्याडमले छाया बनेर रहने इच्छा राखिनन्, घाम बनेर प्रस्तुत हुने स्वभाव–चरित्रले उनलाई देउवाको उत्तराधिकारी बनाउने सम्भावनामा ह्रास ल्याएको छ । खुद शेरबहादुर देउवा पनि कुनै बेला सबै नेताहरूको ‘छाया भूमिकामा अब्बल’ ठहरिएपछि मात्र ‘सर्वोच्च’ नेताको आजको हैसियतमा पुग्ने ढोका खुलेको हो ।

सभापति देउवालाई भन्दा बढी पति देउवालाई सघाएको देख्दा नेपाली समाज आरजुका प्रति उदार तथा सहानुभूतिशील बन्न सक्छन् । सभापति देउवा सार्वजनिक जिम्मेवारी निर्वाह गर्न स्वतन्त्र रहेको सन्देश जाँदा त्यसको लाभ पनि म्याडम आरजुलाई नै पुग्ने हो । देउवाको भन्दा बेग्लै महत्वाकाङ्क्षा नदेखाउँदा, उत्तराधिकारी बन्न खोजेको सङ्केतसम्म नदिँदा र धन आर्जनका लागि आफ्नो वरिपरि अहोरात्र झुम्मिएका मानिसलाई पन्छाउन सक्दा पनि राजनीतिक रूपले लाभ आरजुलाई नै पुग्ने निश्चित छ । आफूले राम्रो गर्न खोज्दा या गरिरहँदा पनि मानिस किन मेरो परख गर्दैनन् भन्ने आरजु म्याडमलाई लागिरहेको छ भने उनले बुझ्नुपर्छ– यो देशका मानिस त्यति कृतघ्न छन्, जो नेपाली भएकोमा गौरव गर्छन् र नेपाल देशको स्थापना गरेर हामीलाई नेपाली बनाउने पृथ्वीनारायण शाहलाई चाहिँ तथानाम गाली गर्छन् । जंगबहादुर राणा, चन्द्रशमशेर र राजा महेन्द्र पनि देशको सार्वभौमसत्ता र राष्ट्रियता सुदृढ बनाउन विशिष्ट योगदान पु¥याएबापत ‘आलोच्य’ बनेका छन् । यस्तो मुलुकमा राम्रो गरेबापत उच्च मूल्याङ्कन र प्रशंसा मात्र हुन्छ भन्ने नसोच्न पनि आरजु म्याडमलाई सुझाव दिइन्छ ।