आशंकाको खाडल मेट्न सडकका खाल्डा पुर्नु जरुरी

आशंकाको खाडल मेट्न सडकका खाल्डा पुर्नु जरुरी


बेथितिका कारण राजधानीका सडकमा पैदा भएका खाल्डाखुल्डीले निकै दुर्घटना निम्त्याइसकेको छ भने कतिपयको ज्यान नै लिएको छ । सडक विभाग, महानगरपालिका, खानेपानी र ढल निकास जस्ता निकायबीच एकले अर्कोलाई जिम्मेवार देखाएर आफू चोखिने होडबाजी देखिन्छ । यस प्रवृत्तिले समस्या भने जहीँको तहीँ रहेको छ, जसले सर्वसाधारणको सास्ती बढाएको छ ।

मिडिया एवम् नागरिक तहबाट यसबारे प्रशस्तै आवाज उठेपछि बल्ल तातेको छ सरकार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्डा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएबाट यस्तै छनक मिल्दछ ।

प्रधानमन्त्री कार्यालयबाट खटिएको एक टोलीले विहिबार बिहान राजधानीको नयाँ बानेश्वर–पुरानो बानेश्वर–गौशाला–चावहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गर्यो । सो क्रममा चावहिलमा १० वटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको जनाइएको छ ।

कार्यालयका सहसचिव दामोदर रेग्मीका अनुसार बौद्धको सडकमा थप सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ भने कम हिलो भएको ढुंगा, गिट्टी राख्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनालगायत सरोकार भएका कार्यालयलाई निर्देशन दिइएको छ ।

रेग्मीका अनुसार अनुगमन समूह जोरपाटीबाट फर्केर चावहिल–गोपीकृष्ण हल–सुकेधारा–नारायण गोपाल चोक–गोल्फुटारसम्म, नारायण गोपाल चोकबाट सामाखुसी–बालाजु, फेरि नारायण गोपाल चोकबाट महाराजगञ्ज–लाजिम्पाट–लैनचौर–रत्नपार्क–सहिदगेट–त्रिपुरेश्वर–टेकु–थापाथली–बबरमहलसम्म पुगेको थियो । अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरे र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको समूह सहभागी थियो । यस्तै, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय, सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, काठमाडौँ उपत्यका विकास प्राधिकरण, खानेपानी तथा ढल निकास विभागलगायतका सरोकार भएका कार्यालयका अधिकारीको पनि सहभागिता रहेको बताइन्छ । अनुगमनका क्रममा केही स्थानका खाल्टाखुल्टी भने राम्रोसँग पुरिएको भेटिएको कार्यालयले दाबी गरेको छ ।

लैनचौरबाट नारायण गोपाल चोकसम्मको सडकमा खानेपानीको पाइप फुटेर पानी आएको, त्रिपुरेश्वर–टेकु सडकका ठाउँठाउँमा पानी जमेर पोखरी बनेको, टेकुको दुवै भागका सडकमा विभिन्न सामग्री राखिएकाले छिटो सफा गर्न निर्देशन दिइएको पनि रेग्मीले जानकारी दिए । अनुगमनपछि अन्तरनिकाय समन्वयको आवश्यकता देखिएको टोलीको निश्कर्ष छ ।

खासगरी मेलम्चीको पानी वितरणका लागि पाइप खनिएको स्थानमा बढ्ता समस्या देखिएकोले उपत्यका सडक विस्तार आयोजनाले त्यस्ता खाल्टाखुल्टी पुर्ने काम गरिरहेको टोलीको भनाई छ । पाइप नबिच्छ्याइएका तर सडक विस्तार भइरहेका स्थानमा आयोजनाले खाल्टा पुरिरहेको छ, खाल्टा पुर्न विभाग, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय, उपत्यकाका डिभिजन कार्यालय पनि सक्रिय छन्, केही दिनमा सबै खाल्टा पुरिसकिने सम्बद्ध अधिकारीको दाबी छ । यस्तै, त्रिपुरेश्वर–टेकु सडक कालोपत्रेका लागि तयार भएकाले भदौ दोस्रो सातापछि नै पूरा गर्ने गरी तयारी भएको बताइन्छ ।

ज्ञातव्य छ, उपत्यकाका सडकमा खाल्टा भएका कारण एक छात्राको मृत्यु भएपछि साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्टा पुर्न सरोकार भएका कार्यालयका प्रमुखलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि खाल्टा पुर्ने कामले तीव्रता पाएको त छ तर राजधानीका सडकको बेहाल समयमै र सहज किसिमले अन्त्य हुनेमा आशंका भने कायमै रहेको आमनागरिकको धारणा छ । नागरिक तप्कामा जमेर रहेको अविश्वासको खाडल पुर्नको लागि पनि सरकारले सडकका खाल्डाखुल्डी पुर्नु अपरिहार्य देखिएको छ ।