तत्काल संशोधन प्रस्ताव अघि बढाउने महामन्त्रीको धारणा

तत्काल संशोधन प्रस्ताव अघि बढाउने महामन्त्रीको धारणा


स्थानीय तहको तेस्रो चरण निर्वाचनको तयारीमा सरकार जोडतोडले जुटेको छ । तर, तराईकेन्द्रित दल राजपा नेपाललाई चपटक पटक तिथि सारिए पनि राजपा निर्वाचनमा जाने नजाने अझै निश्चित भइसकेको छैन । संविधान संशोधन नभएसम्म चुनावमा नजाने सो दलका नेताहरुको अडान कायम नै छ । यसले जारीे राजनीतिक अन्योल पनि बढाउने देखिएको छ । संविधान संशोधनको मुद्धाकै कारण राजनीतिक असहमति गहिरिने भएपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले व्यवस्थापिका संसदमा तत्काल संविधान संशोधन प्रस्ताव अघि बढाइने अभिव्यक्ति दिएका छन् ।

आज आफ्नै निवास महाराजगञ्जमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले संशोधन प्रस्ताव पारित नभए पनि प्रक्रिया चाहिँ अघि बढाउने धारणा प्रकट गरे । नेपाली कांग्रेसको चाहना सकभर प्रस्ताव पास गर्ने, नसके पनि संसदमा प्रक्रिया भने अघि बढाउने रहेको उनको कथन थियो । तराईकेन्द्रित दलले संशोधन प्रस्ताव पारित गर्नैपर्ने माग गरेकामा कांग्रेसको पूर्ण प्रयत्न रहने तर परिस्थिति आफ्नो हातमा भने नभएको उनले स्वीकार गरे ।

कांग्रेस पार्टीभित्र जरो गाढेर रहेको भागबण्डाको संस्कृतिबारे उनले कुटनीतिक हिसावले जवाफ दिए र भने, ‘भागबण्डा होइन, सबैलाई मिलाउन गरिएको सहमतिको प्रयास हो ।’

उक्त अवसरमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको साझा चरित्र बचाउनुपर्ने आवश्यकता औंल्याए । निकट भविष्यमा हुन लागेको महासङ्घको महाधिवेशनमा युनियनका तर्फबाट निष्पक्ष तरिकाले सक्षम उम्मेदवार चयन गरिने तर त्यसमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने चेतावनी उनले दिए ।

महामन्त्री कोइरालाद्वारा युनियन केन्द्रीय समितिका पदाधिकारी र सदस्यका लागि आयोजित उक्त चियापान कार्यक्रममा महासङ्घ र युनियनका पूर्वअध्यक्षसहितका पत्रकारको उपस्थित थियो । उपस्थितमध्येकै केही सञ्चारकर्मीले महामन्त्री कोइरालासँग अनौपचारिक तवरले जिज्ञासा राखे- ‘तपाईंले दिनुभएको अभिव्यक्ति तपाईंको व्यक्तिगत धारणा हो कि पार्टीको आधिकारिक ?’

यसमा महामन्त्री कोइरालाबाट प्रष्ट जवाफ भने आएन ।