वैदेशिक रोजगारीका नाममा दैनिक ५० लाख ठगी

वैदेशिक रोजगारीका नाममा दैनिक ५० लाख ठगी


स्वदेशमा बढ्दो बेरोजगारीको मौका छोप्दै वैदेशिक रोजगार व्यवसायी कम्पनीहरुले दैनिक ५० लाख रुपैयाँ कामदारहरुसंग ठगी गर्दै आएका छन् । रोजगारीका सिलसिलामा विदेश जाने नेपाली कामदारबाट दैनिक ५० लाख रुपैयाँ ठगी हुने गरेको पाइएको छ । म्यानपावर एजेन्सी र एजेन्टहरुले बढी रकम असुल्ने र नक्कली सम्झौतामा विदेश पठाउने भएकाले कामदार ठगीमा पर्ने गरेका छन् ।

वैदेशिक रोजगार विभागमा परेका उजुरी अनुसार चालू आर्थिक वर्षका १० महिनामा व्यक्तिगत (एजेन्ट) र संस्थागत (म्यानपावर एजेन्सी) ले कामदारको ८२ करोड ७५ लाख २९ हजार ५ रुपैयाँ ठगी गरेका पाइएको छ । यो उजुरी परेको मात्रै हिसाब गर्ने हो भने पनि यही रकमको आधारमा दैनिक २७ लाख ५० हजार रुपैयाँ भन्दा बढी ठगी हुने गरेको खुलेको छ । भने अझै धेरै ठगीएका कामदारहरु उजुरी दिने निकाय समेत थाहा नभएकाहरुको संख्या अत्याधिक रहेको छ ।

विभागको उजुरी तथा अनुसन्धान शाखामा रहेको उजुरीमध्ये म्यानपावर र एजेन्टबाट हुने ठगीकामात्र हाल सम्म ३ सय ७७ वटा उजुरीमा फरफारक गरि सकेको जनाएको छ । ३ सय ७७ उजुरीमा १४ करोड ६६ लाख ९१ हजार रुपैयाँ छ र यो रकम कामदारलाई दिएपछि उनीहरुले म्यानपावर र एजेन्ट विरुद्धको उजुरी फिर्ता लिइसकेको शाखाका निर्देशक नारायणप्रसाद रिमालले बताएका छन् । विभागले १ सय ६ उजुरीको आधारमा ३९ करोड ६६ लाख ८६ हजार ७ सय ३७ रुपैयाँ विगोसहित वैदेशिक रोजगार न्यायायधिकरणमा मुद्दा दायर गरेको छ ।

विभागमा परेका उजुरीमध्ये ७६ प्रतिशतको मुद्दा अहिलेसम्म कुनै प्रकृयामै गएको छैन । बैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै धादिङको सिद्धलेकलेक गाउँपालिका वडा नम्बर ५ कुम्पुरका लक्ष्मणप्रसाद पन्तले छिमेकीकै ११ लाख रुपैयाँ ठगेर फरार भए । ठगिनेमा सिद्धलेक गाउपालिका वडा नम्बर ५ कै कुशल आलेमगर रहेका छन । राम्रो कमाइ हुने आसमा भएको १ रोपनी खेत नै बेचेर पन्तलाइ पैसा बुझाएका कुशल आलेको यतिबेला उठिबास लागेको छ ।

पन्तले सुरुमा टर्किको बिजनेस फार्ममा सेल्स ब्वाइ रुपमा पठाइदिने भन्दै तीन लाख लिएपछि टर्किमा द्वन्द भइरहेकाले टर्किको साटो दक्षिण अफ्रिका पठाइदिने बताउदै रकम लिएर भागेका छन् । पुरा पैसा दिएपछि पाँच महिना भारत लगेर झुलाएपछि बेपत्ता भएका पन्त काठमाडौको नैकापमा बस्दै आएपनि यतिबेला सम्पर्कविहीन भएका छन ।

गाउँमा रहेको एक रोपनी दुई आना खेत ६ लाख २५ हजारमा बेचेर थप पाँच लाख ऋण गरी पैसा बुझाएका आले अहिले पन्त बेपत्ता भएपछि समस्यामा परेका छन् । सुरु सुरुमा पैसा फिर्ता गर्छु भनेपनि पछि पछि धम्क्याउन थालेपछि आलेले पैसा फिर्ता दिलाइदिन माग गर्र्दै बैदैशिक रोजगार विभागमा गत वैशाख २५ गते नै उजुरी दिएका थिए । सो उजुरीमाथी समेत अहिले सम्म कुनैपनि सुनुवाइ नभएको गुनासो उनको गुनासो रहेको छ ।

आलेले धादिङ स्थित सुरक्षित आप्रवासन परियोजनामा पनि पैसा फिर्ता गराइदिन माग गर्दै उजुरी दिए । वैदेशिक रोजगारीमा समस्या परेका कामदारहरुको लागि सहयोगी भुमिका खेलिरहेको परियोजनाले ठगी गर्ने लक्ष्मण पन्तको विरुद्धमा पिपुल फोरम मार्फत वैदेशिक रोजागार विभागबाट जाहेरी दर्ता गराएको छ । विभागले महानगरीय प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखालाइ कसुरदार पक्राउ गरी उपस्थित गराइदिने भनेर पुर्जी समेत जारी गरेपनि फरार पन्तको विषयमा कुनै जानकारी फेला परेको छैन ।