वैदेशिक रोजगारीमा सिन्धु–चेली, जोखिम अझै उस्तै

वैदेशिक रोजगारीमा सिन्धु–चेली, जोखिम अझै उस्तै


– किशोर बुढाथोकी

० घरेलु कामदारका रूपमा सिरिया पुगेकी पाँचपोखरी थाङपाल गाउँपालिकास्थित थाङपालकोटकी २४ वर्षीया माया तामाङले उतै मृत्युवरण गरिन् । मालिकको यातना सहन नसकेर उद्धारको याचना गरेकी उनलाई समयमै नेपाल फिराउन नसक्दा ज्यान गयो ।

० वैदेशिक रोजगारीका क्रममा गएको फागुनमा दुबई पुगेकी साबिक भोताङ–८ कि लप्साङ तामाङको उतै मृत्यु भयो । उनको शव नेपाल ल्याउन अझै सकिएको छैन । विभिन्न कोसिस गर्दा पनि शव ल्याउन नसकेपछि अहिले उनको परिवार तनावमा छ ।

० कुवेतमा मानसिक सन्तुलन गुमाएर बेवारिसे भएकी साबिक मार्मिङ–५ (हाल भोटेकोसी गाउँपालिका)की अनिशा विक केही उपचार गरेर नेपाल फर्किइन् । राम्रो उपचार गर्न नपाउँदा अन्ततः उनले पनि संसार त्यागिन् । कुवेतको अलसभा अस्पतालमा उपचार गराएर विभिन्न संस्था र दूतावासको पहलमा सात वर्षपछि नेपाल फर्केकी थिइन् ।

० घरेलु कामदारका लागि कुवेत पुगेकी साबिक दुवाचौर–३ कि सरिता तामाङ अहिले सम्पर्कविहीन छिन् । सात महिना पहिले इन्टरनेटको नम्बरबाट परिवारमा सम्पर्क भएकी उनी अहिले कहाँ र कुन अवस्थामा छिन् भन्नेबारेमा परिवारका सदस्य अनविज्ञ छन् । उनको खोजी र उद्धारका लागि परिवारले अनुरोध गरेका छन् ।

० झन्डै चार वर्षअघि इचोककी तामाङ थरकी एक कुमारी युवती गत असोजमा कुवेतमा आमा बनिन् । घरेलु कामदारको रूपमा कार्यरत उनले आफ्नै मालिकको बलात्कारबाट बसेको गर्भपछि बच्चा जन्माएकी हुन् ।

० कुवेतबाटै घरेलु हिंसा सहन नसकेरै स्वदेश फर्केका गोल्चेकी साङडोल्मा गोले, चन्द्रा गोले, चौताराकी कुसुम तामाङ र इचोककी मंगली तामाङलाई पौरखी नेपालले उद्धार गरी परिवारको जिम्मा लगायो । घरेलु कामदारको रूपमा कुवेत छिरेकी साबिक मांखा–२ चिम्लिङ पहरी गाउँकी कान्छी तामाङ दुई वर्षसम्म उतै बेपत्ता भइन् । त्यहाँ पुगेकै दिनदेखि सम्पर्कविहीन उनलाई विभिन्न सङ्घसंस्था र नेपाली दूतावासले खोजेर असोजमा घर फर्काए ।

० साबिक गोल्चे–४ की स्याङ्मो लामा पनि अहिले ओमनमा मानसिक समस्यामा छिन् । दुबई भनेर विदेश उडेकी उनी नजान्दै ओमन पुगिन् । घरेलु कामदारका रूपमा विदेश पुगेकी उनी अहिले आफूलाई उद्धार गरिदिन गुहार मागिरहेकी छिन् । गएको कात्तिक पहिलो साता उडेकी उनी अहिले समस्यामा परेकी छिन् ।

० सहकर्मीको हत्या आरोपमा गुम्बाकी डोल्मा शेर्पा कुवेती जेलबाट भर्खरै नेपाल फिरेकी छिन् । मृत्युदण्डको मुखबाट जोगिएकी उनले दश वर्ष जेलनेलको सजाय पाइन् । फिलिपिनो सहकर्मीको हत्या अभियोग लागेकी उनी ब्लड मनी बुझाएपछि मृत्युको मुखबाट जोगिइन् ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेर दुःख भोगेका सिन्धु–चेली र उनीहरूका परिवारका यी प्रतिनिधि घटना मात्रै हुन् । असुरक्षित रूपमा विदेश जाँदा यी र यस्ता धेरै घटनाले सिन्धु–चेलीलाई समस्यामा मात्रै पारेको छैन, धेरैले विदेशी भूमिमै ज्यान गुमाउनुपरेका उदाहरण छन् ।

पैसा कमाउने, धनी बन्ने र आनन्ददायी जीवन बिताउने सपना बोकेर जिल्लाबाट वर्षेनी धेरै चेली खाडी मुलुक पुग्छन् । यसरी खाडी पुग्ने केहीले सपना पूरा पनि गर्छन् । केही दुःख, पीडाको पोको बोकेर निराश हुँदै स्वदेश फर्कन्छन् । कति चेली त उतै बेपत्ता हुन्छन् । विदेशमा सास्ती खेपेर फर्केको, श्रम शोषण, घरेलु हिंसादेखि बलात्कारको सिकारसम्म भएको, कुमारी चेलीले नासोमा बच्चा लिएर फर्केको, मानसिक सन्तुलन गुमाएकोजस्ता दृष्टान्त नौला होइनन् ।

यस्ता धेरै घटना सार्वजनिक हुन सकेका छैनन् । गरिबी, अभाव, धनी बन्ने सपना, देखासिखी र प्रलोभनमा परेर चेलीहरू बिदेसिन लालायित हुन्छन् । कति बाध्यता त कति रहरले विदेश पुग्छन् । अशिक्षा, भाषाको ज्ञान नहुनु, तालिम नपाउनु, परामर्श नलिनुजस्ता कारणले चेलीहरूले विदेशी भूमिमा दुःख पाइरहेका छन् । यस्ता घटना सार्वजनिक भइरहँदा पनि चेलीहरूको विदेश–मोह घट्न सकेको छैन । सचेतना अपनाउन सकेका छैनन् । १६ वर्षका किशोरीदेखि ४५ वर्षसम्मका लालाबालाका आमाको राहदानी बनाउन प्रशासनमा लागेको भीडले यही सङ्केत गर्छ ।

देखासिकी गरेर होस् या बाध्यतामा । वैदेशिक रोजगारीका लागि जिल्लाबाट राहदानी सिफारिस गरी कुवेत या दुबईलाई गन्तव्य बनाउने यी प्रतिनिधि नाम हुन् । घरको आर्थिक अवस्था कमजोर भएर केही समय विदेशमा दुःख गरी बाँकी जीवन सुखसाथ बिताउने चाहनाले धेरैलाई वैदेशिक रोजगारीले आकर्षित गरेको हो ।

विदेशबारे केही जानकारी नभएकामा ‘विदेश–मोह’ बढेकै कारण पनि सिन्धु–चेलीहरू विदेश भूमिमा समस्यामा पर्ने गरेका हुन् । पछिल्लो समय दुवाचौरकी सरिता कुवेतमा सम्पर्कविहीन भएपछि उनका परिवारले खोजबिन गरिदिन विभिन्न निकायमा गुहार गरिरहेका छन् । ‘सात महिनाअघि सम्पर्क भएको थियो, त्यसयता उनको खबरबारे हामी जानकारीमा छैनौँ,’ सरिताका दाइ सोमरले भने, ‘नेपालका सबै निकायलाई खोजिदिन आग्रह गरेका छौँ ।’ उनका अनुसार सरिता घरेलु कामदारका लागि विदेश उडेकी थिइन् ।

जिल्लाका विकट हिमाली गाउँका चेलीहरू दिनहुँजसो भेटिन्छन् । पछिल्लो समय विशेष गरी खाडी मुलुकमा जिल्लाका चेलीहरूले दुःख पाउने क्रम पनि बढेको छ । अरूको देखासिकीकै भरमा विदेश जाने ‘भूत’ सवार हुँदा चेलीहरू विदेशी भूमिमा अलपत्रसमेत पर्ने गरेका छन् ।

सामीका अनुसार साबिक गोल्चे–४ की स्याङ्मो लामा पनि अहिले ओमनमा मानसिक समस्यामा छिन् । दुबई भनेर विदेश उडेकी उनी नजान्दै ओमन पुगिन् । घरेलु कामदारका रूपमा विदेश पुगेकी उनी अहिले आफूलाई उद्धार गरिदिन गुहार मागिरहेकी छिन् । गएको कात्तिक पहिलो साता उडेकी उनी अहिले समस्यामा परेको उनका दाइ सुब्बा लामाले बताए । ‘बहिनी समस्यामा परेकी छिन्, नेपाल फिराइदिन सहयोग गर्नुप¥यो,’ उनले भने ।

वैदेशिक रोजगारीका क्रममा गएको फागुनमा दुबई पुगेकी साबिक भोताङ–८ की लप्साङ तामाङको उतै मृत्यु भयो । उनको शव नेपाल ल्याउन अझै सकिएको छैन । विभिन्न कोसिस गर्दा पनि शव ल्याउन नसकेपछि अहिले उनको परिवार तनावमा छ । ‘निकै समस्या परिरहेको छ,’ उनका श्रीमान् हीरा तामाङले भने, ‘उता कसरी मृत्यु भयो, के भयो भन्ने नै जानकारी छैन ।’ उनले मृत्यु भएको खबर सुनेको मात्रै बताए ।

पछिल्लो समय सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढेको छ । अरूको देखासिकी गरेरै भए पनि निरक्षर महिलामा विदेश–मोह बढेको हो । विदेशमा गएर पैसा कमाउने सपना उनीहरूमा हुने गरेको छ । निरक्षर, कुनै सीप नजानेका सिन्धु–चेलीहरूको विदेश नै अन्तिम लक्ष्य हुने गरेको पाइएको छ ।

जिल्लामा उमेर नपुग्दै विदेश–मोह बोकेर आउने किशोरीको सङ्ख्या पनि उत्तिकै छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हेमराज फुँयालका अनुसार गाउँकै दाजुदिदीहरूको सम्पन्नशाली जीवनशैली देखेर सिन्धुका चेलीहरू विदेश–मोहमा फस्ने गरेका छन् । केही महिनाअघिको तुलनामा जिल्लाबाट राहदानी सिफारिस लिनेहरू बढेको उनी स्वीकार गर्छन् । उनले धेरैजसो तामाङ समुदायका महिलाले बढी राहदानी सिफारिस लिने गरेको बताए । बिदेसिनकै लागि राहदानी बनाउन जिल्लाका विभिन्न भेगबाट सदरमुकाम आउनेहरू प्रसस्तै छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार तीमध्ये ४० प्रतिशत महिला हुने गरेका छन् ।

सिन्धु–चेली विदेशमा पुगेपछि जोखिममा नपरून् भन्ने उद्देश्यले राहदानी सिफारिस लिन आएकालाई प्रशासन परिसरमा परामर्श दिइने गरिएको छ । वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सामी परियोजना र शक्ति समूहले उनीहरूलाई परामर्श दिने गरेको हो ।

वैदेशिक रोजगारीका लागि जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिम र आफू जाने तयारीमा रहेको देशको भाषाबारे थाहा नभएकाहरू पनि विदेश उड्न लागेको पाइने गरेको छ । ‘विदेशबारे नबुझेकाहरू पनि पैसा कमाउने सपनामा जान लागेको भेटिन्छ ।’ वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनाकी जिल्ला संयोजक रिना श्रेष्ठ भन्छिन्, ‘अरूको ‘हाइफाइ’ जीवनशैलीकै कारण विदेशमा गएर पैसा कमाउने सपना धेरैमा हुने गरेको पाइएको छ ।’ उनका अनुुसार चेलीहरू विदेशमा धेरै जोखिममा पर्ने प्रमुख कारण यही हो । उनीहरूलाई सीप सिकेर र आफू जाने देशको परिवेशबारे जानकारी लिएर मात्रै जान आग्रह गर्ने गरेको उनले बताइन् । ‘हामीले रोक्न सक्दैनौँ, जोखिम हुन सक्ने सम्भावना भएकालाई उचित परामर्श दिने हो,’ उनले भनिन् ।

सामीले प्रशासन परिसरमै विदेशबारे जानकारी दिने गरे पनि जोखिम भने अझै हटेको छैन । ‘हामीले विभिन्न गाउँमा गएर वडातहदेखि नै विदेशमा हुने जोखिमबारे चेतना प्रवाह गर्ने गरेका छौँ,’ संयोजक रिनाले भनिन्, ‘वडा नागरिक मञ्च, विद्यालय, सार्वजनिक स्थानमा कार्यक्रम राखेर विदेश जाँदा अपनाउनुपर्ने महत्वपूर्ण कुराहरूबारे जानकारी दिन्छौँ ।’ उनले नेपाली चेलीलाई जोखिम नहोस् भनेर निकै प्रयत्न गर्ने गरेको बताइन् ।

सामीले वैदेशिक रोजगारीमा मनोसामाजिक समस्या पाएकाहरूलाई समेत मनोपरामर्श दिने गरेको छ । पछिल्लो समय जिल्लामा असुरक्षित वैदेशिक रोजगारीकै कारण यस्तो समस्या भेटिएको परामर्शकर्ता मिलन लामा बताउँछन् । ‘हामीले विदेशबाट फर्केर आएका व्यक्तिहरूमा मनोसामाजिक समस्या देखिएका व्यक्तिलाई सहजीकरण गर्नेछाँै,’ उनले भने, ‘परिवारका सदस्य विदेशमा गएर असुरक्षित भएका अथवा पैसा कमाउन नसकेको जानकारी आएपछि परिवारमा विचलन आउँदोरहेछ, हामीले उनीहरूलाईसमेत सहजताका लागि परामर्श दिने गरेका छौँ ।’ उनका अनुसार अधिकांश विदेशमा आफूले गर्ने काम, त्यहाँको परिवेश नबुझी जानेहरू समस्यामा पर्ने गरेको पाइएको बताए ।

बिदेसिनकै लागि राहदानी बनाउन सिफारिस लिन जिल्लाका विभिन्न भेगबाट सदरमुकाम आउनेहरू प्रसस्तै छन् । सामीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १३ हजार आठ सय ९८ सूचना लिनेमा पाँच हजार चार सय ३७ महिला थिए । तीमध्ये कति विदेश गए भन्ने यकिन तथ्याङ्क भने कतैबाट आउन सकेको छैन ।