शारडा ग्रुपको उद्योगमा सिलबन्दी

शारडा ग्रुपको उद्योगमा सिलबन्दी


शारडा ग्रुपले सञ्चालन गरेको उद्योग तथा गोदाममा प्रहरीले सिलबन्दी गरेको छ । श्यामसुन्दर शारडाको नेतृत्व सञ्चालित सो कम्पनीले अरुको ब्रान्ड चोरी गरेको र प्रतिलिपि अधिकार ऐनको उल्लङन गरेको आरोप सिलबन्दी गरेको हो । सुनसरीको दुहबीमा सञ्चालन गरेको पर्फेक्ट फुड प्रालीले भारतका सेन्टर फ्रेस र सेन्टर फ्रुट ब्रान्डका चुइङगमको ‘ब्रान्ड’ चोरी गरेको आरोप सो ग्रुपलालाई लागेको छ ।

सेन्टर फ्रेस र सेन्टर फ्रुट चुइङगमको उत्पादक भारतको हरियाणा राज्यको गुडगाउँमा रहेको परफेट्टी भ्यान मल्ले इन्डिया प्रालि (पिएम्भी इन्डिया) हो । शारडाको सञ्चालनमा रहेको पर्फेक्ट फुडले पिएम्भीका उत्पादन सेन्टर फ्रेस र सेन्टर फ्रुटकै जस्तो खोल, लेआउट, रंग–संयोजन, अक्षर, लोगो र तस्बिर बनाएर सेन्टर फिल्ज ब्रान्डका चुइङगमको उत्पादन र बिक्रीवितरण गरेको पाइएको आरोप पत्रमा रहेको छ ।

पिएम्भीका तर्फबाट निर्देशक श्रीहर्ष अरोडाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दुहबीले पर्फेक्ट फुड प्रालीको कारखाना र गोदाममा छापा मारेर सिलबन्दी गरेको छ । प्रहरीले उद्योग र गोदाममा रहेको ४० लाख मूल्य बराबरको चुइङगम र त्यसको कच्चा पदार्थलाई सिलबन्दी गरेको हो । पर्फेक्ट फुडका तर्फबाट प्रतिलिपि अधिकार ऐनको उल्लङन भएको तथा आफ्ना उत्पादनको बिक्रीवितरण र ख्यातिमा असर पुगेको भन्दै पिएम्भीले कार्यालयमा उजुरी दिएको दुहबीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले जानकारी दिएका छन् ।

उजुरीको कार्यान्वयन गर्दा पर्फेक्ट फुडले प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको पाइएको प्रहरीले ठहर गरेको हुँदा कारबाही गरिएको निरीक्षक न्यौपानेको भनाइ रहेको छ ।  प्रहरीले पर्फेक्ट फुडको कारखाना र गोदाममा छापा मारेर सिलबन्दी गरे पनि उद्योगका सञ्चालक पुनीत शारडालाई पक्राउ गरेको छैन । भने सञ्चालक शारडाको खोजी गरेको तर नभेटिएको प्रहरीको भनाई रहेको छ । ‘प्रतिलिपि अधिकार ऐन–२०५९ अनुसार कारबाही गर्ने र मुद्दा चलाउने प्रहरीले नै हो’, प्रहरी निरीक्षक न्यौपानेले भने, ‘हामी सबै प्रमाण संकलन गरेर अदालतमा मुद्दा दर्ता गर्ने छौ ।’

सो ग्रुपका सञ्चालक पुनित शारडाले कसैको ब्रान्ड नक्कल र चोरी नगरेको आफूले उद्योग विभागबाट ब्रान्ड, लोगो, रंग संयोजन, तस्बिर आदि स्वीकृत गराएको दाबी गर्दै आएका छन् । एउटै कर्पाेरेट हाउसमा २०५४ सालमा अंशवण्डा भएपछि शारडा ग्रुप २ वटा भएका छन् । एउटाको नेतृत्व शिवरतनले गरेका छन् । उनको समूहमा राधेश्याम, श्रीनिवास र सांसद् पवन रहेका छन् । अर्काे समूहको नेतृत्व श्यामसुन्दरले गरेका छन् । यस समूहमा श्यामसुन्दर, नन्दकिशोर, महेश, सुनील, अनिल, पुनीत लगायत छन् । दुईमध्ये श्यामसुन्दरले नेतृत्व गरेको शारडा ग्रुपलाई ब्रान्ड चोरीको आरोपमा सिलबन्दी गरिएको छ ।