डिम्बदाताको बच्चाहरुसँग अठारह वर्षपछि भेट

डिम्बदाताको बच्चाहरुसँग अठारह वर्षपछि भेट


लण्डन / उनीहरु शायद कहिल्यै भेट्ने थिएनन् । सिल्भिया बारले गोप्यरुपमा अठारहवर्षपहिले हार्ली स्ट्रिटस्थित फर्टिलिटी केन्द्रमा आफ्नो डिम्ब अनुदान गरेकी थिईन् । त्यतिबेला तिनले अनुदान गरेकी डिम्बबाट जोन इसरवूडले जुम्ल्याहा बच्चाहरु जन्माएकी छिन् भन्ने कुरा तिनलाई थाहा थिएन । पछि, इसरवूडको बारेमा सञ्चार माध्यमहरुबाट सम्प्रेषित जानकारीहरु हेरेपछि त्यस महिलाको गर्भाधान आफूले नै अनुदान गरेकी डिम्बबाट रहन गरेको कुरा पत्ता लगाउन सफलभएकी थिईन् । अहिले झण्डै दुई दशकपछि सिल्भिया बारले आफ्नो डिम्ब अनुदानबाट जन्मेका बच्चाहरुलाई र तिनीहरुका आमा इसरवूडलाई पहिलोचोटि भेट गरेकी समाचार प्राप्त भएको छ । उनीहरुलाई भेट्नु अघि उनलाई केही डर र आफूले उनीहरुबाट के प्रतिक्रिया पाउँछु होला भन्ने जानकारी नरहेको बताएकी छिन् । उनले … यस्तो परिस्थितिवश सिर्जित कुराको कुनै प्रक्रियागत सम्बन्ध नरहे तापनि जोनले आफूलाई देख्नेबित्तिकै अँगालोमा बाँधिन् र मैले प्रत्यक्ष आफ्नै जिनबाट जन्मेका बच्चाहरुका आँखाहरुमा हेरिरहेकी थिएँ …. भनेर समाचारदाताहरुलाई बताएकी थिईन् ।
६५ वर्षीया इसरवू्डका २ वटा छोराहरु क्रमशः ४ वर्षीय डेभिड र ९ वर्षीय एन्ड्रु सन् १९८८मा एउटा ठूलो कार दुर्घटनामा परी मरेका थिए तथा त्यस कार दुर्घटनाको कारणले गर्दा इसरवूड बच्चा जन्माउन असमर्थ बनेकी थिईन्् । त्यसै समयताका सिल्भियाले एउटा एलिओट नाम गरेको छोरा एकजना गुमनाम व्यक्तिबाट वीर्यदान प्राप्त गरी जन्माएकी थिईन् । त्यसपछि सिल्भियाले बच्चा जन्मेपछि आफूलाई जस्तै बच्चाको चाहना राख्ने कसैलाई आफ्नो डिम्ब प्रयोग गरी बच्चा जन्माएर खुशी प्राप्त गरुन् भन्ने अभिप्रायले हार्ली स्ट्रिटस्थित फर्टिलिटी केन्द्रमा डिम्ब अनुदान गरेकी थिईन् । तिनले अनुदान गरेकी डिम्बबाट इसरवूडले गर्भाधान गरी क्याथारिन र जोनाथान नाम गरेका २ जना जुम्ल्याहा बच्चाहरु जन्माउन सफल भएकी थिईन् । इसरवूडले आफ्नो डिम्ब प्रयोग गरेर जुम्ल्याहा बच्चाहरु जन्माएकी कुरा सिल्भियाले सञ्चार माध्यमहरुमा इसरवूडले सम्प्रेषन गरेका प्रमाणहरुबाट पत्ता लगाएकी थिईन्, तर, यो गोप्य कुराले तिनलाई १८ वर्षसम्म खाइरहेको थियो । तिनी दुविधामा परिन्, कतै उनीहरुलाई सम्पर्क गर्दा कुनै किसिमको बाधा पुग्ने त होइन् भन्ने सोचमा थिईन् । के गर्ने भन्ने कुराको निर्क्यौल गर्न सकिरहेकी थिईनन् । उनले डेली टेलिग्राफलाई … जोनको बारेमा त्यस क्लिनिकमा उपचार गरेपछि गर्भाधान गर्न सफल भएको जानकारी सञ्चारमाध्यमहरुबाट थाहा पाएकी थिएँ, मैले जुम्ल्याहाहरुका तस्वीर देख्दा मुटु चसक्क चस्किएको थियो, ठीक २ वर्षपछि टीभीमा प्रसारित एउटा डकुमेन्ट्रीमा मैले जोनको बारेमा देखेकी थिएँ । त्यसमा तिनले आफ्ना दुर्घटनामा परी मृत्यु भएका २ जना बच्चाहरुलाई गाडिएका गार्डेनमा एउटा पोस्टकार्डमा उनीहरुप्रति श्रद्धाञ्जली लेखेका हरफहरु क्लोज अपमा देखेकी थिएँ । तिनी गर्भवती रहँदा मलाई एउटा गुमनाम कार्डमा …तपाईलाई आशीर्वाद, तपाई लाखौंमा एक हुनुहुन्छ… भनेर क्लिनिकमा लेखेर पठाएकी थिईन् तिनै हरफहरु र टीभीमा प्रसारित श्रद्धाञ्जलीअनुरुप देखाएका कार्डहरुको हरफहरु मेल खाएकोले गर्दा मैले ती बच्चाहरु मैले अनुदान गरेकी डिम्बबाट जन्मेका रहेछन् भन्ने कुरा विश्वास भएको थियो …. भनेर उद्धृत गरेकी थिईन् ।
अहिले १८ वर्षपछि ती दुबै परिवारको सुखान्त मिलन भएको छ । ५४ वर्षीया, सोसियल केयर वर्कर, सिल्भिया साउथ लण्डनको वालिङटनकी वासिन्दा हुन । तिनले यूके डोनर लिङकको मध्यस्थता तथा सुझावमा जुम्ल्याहाहरु १८ वर्ष पुगेपछि ३ वटा पत्रहरु क्रमशः इसरवूड, जुम्ल्याहा बच्चाहरु, क्याथारिन र जोनाथानलाई भेट्नका लागि लेखेकी थिईन् । वारिङटन, चेसैरकी ६५ वर्षीया इसरवूड अवकाश प्राप्त शिक्षिका हुन् । श्रोत-नेट, सुमल, मेस ।