माथिल्लो मनाङमा यार्तुङको रौनक

माथिल्लो मनाङमा यार्तुङको रौनक


माथिल्लो मनाङमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यार्तुङ अर्थात घोडा कुदाउने पर्व शुरु भएको छ । मनाङमा बर्खायाममा बाली लगाइसकेपछि बर्सेनी घोडा दौडाएर खुसियाली मनाउने चलन छ ।

गहँ, फापर, आलुजस्ता बाली मात्र उब्जनी हुने गाउँमा यो पर्वले रौनक ल्याएको छ । पर्वमा गाउँका युवा तथा बृद्धबृद्धा सबैले घोडा कुदाउने गर्दछन् । बर्षौंदेखि मनाउँदै आएको यो पर्वलाई मनाङका स्थानीयले यस वर्ष पनि निरन्तरता दिएको नेस्याङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष एवं पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङले जानकारी दिनुभयो ।

टंंकी मनाङ, मनाङ, खाङसार, भ्राका, ङावल, पिसाङका स्थानीयले मनाउने यो पर्व सदरमुकाम चामेमा समेत मनाइन्छ । तर सदरमुकाम चामेका स्थानीयले भने यो पर्वलाई अलिक फरक समयमा मनाउने गर्दछन् ।

यस वर्षको यारतुङ पर्व नेस्याङ गाउँपालिकाको मनाङ र टंकी मनाङबाट शुरु भएको छ । वडाध्यक्ष गुरुङका अनुसार टंकी, मनाङ र मनाङमा घोडा दौडसँगै यारतुङको रुपमा विविध सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने मनाङमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यारतुङ मनाइएको मनाङवासीको भनाई छ । पर्वमा स्थानीय संस्कृतिको प्रस्तुतिसँगै अन्य विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको छ ।

यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको पाइन्छ । यो पर्व कम्तीमा ५ दिनसम्म निरन्तर चल्ने गर्दछ । शुरुको दिनमा गाउँका सबैजना भेला भई आ–आफ्ना घोडा लिएर गुम्बामा पुग्ने गर्दछन् । गुम्बामा पूजापाठ सकेपछि घोडा दौड शुरु गर्ने परम्परा रहिआएको छ । यसरी घोडा दौडाइँदा प्रथम हुने घोडा निकै महँगो मुल्यमा किनबेच हुने गर्दछ ।

यस पर्वमा मनाङवासी आफ्नो परम्परागत भेषभूषामा सजिएर परम्परागत रुपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । यसरी पर्व मनाउँदा यहाँका स्थानियमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने धार्मिक किंवदन्ती रहेको छ ।

– छविलाल बगाले