आउँदाआउँदै ओलीले लगाए कांग्रेसलाई यस्तो आरोप

आउँदाआउँदै ओलीले लगाए कांग्रेसलाई यस्तो आरोप


साता दिनअघि तिब्बत घुम्न गएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश फर्केलगत्तै प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । संविधानबमोजिम निर्वाचनका लागि समय कम भएकाले यस्तो गर्नु उपयुक्त हुने उनको तर्क छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश र केन्द्रको निर्वाचन एकसाथ गर्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई दबाब दिन थालेका समाचार सार्वजनिक भइरहेको बेला ओलीले पनि दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने समेत बताए । तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने उनको धारणा छ ।

अध्यक्ष ओलीले भने– ‘समय पर सर्नु हुँदैन, कम्तीमा संघीय संसद्को निर्वाचन हुनुपर्छ, दुवै निर्वाचन एकैपटक गर्दा मतपत्रको प्राविधिक समस्या पर्ने भए एउटै मतपत्र राखी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई सम्बन्धित दलले समानुपातिक प्रणालीमा पनि उत्तिकै मत प्राप्त गरेको प्रावधानमा पनि जान सकिन्छ ।’

आगामी माघ ७ गतेभित्र ती निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा व्यवस्था छ । अहिले मुलुक निर्वाचन केन्द्रित भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएको भन्दै ओलीले निर्वाचनपछि भने त्यसबारे सोच्न सकिने भन्दै तराईकेन्द्रित दलहरुलाई फकाउने प्रयत्न गरे । संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टीको अडानबारेको जिज्ञासामा ओलीले यस्ता साना साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्न नहुने भन्दै टारेबाट तराईकेन्द्रि दललाई चुनावअघि नबिच्क्याउने रणनीतिमा एमाले रहेको देखिन्छ ।

नेपाली कांग्रेस दाउपेचको राजनीतिमा लागेको आरोप लगाउँदै ओलीले राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहने कांग्रेसी चालले नै दोस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिएको किटानी गरे ।

तिब्बत यात्राबारेको सवालमा आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको भन्दै ओलीले रसुवाको केरुङ सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि सो बाटो विस्तारमा सघाउन चीन तयार रहेको धारणा व्यक्त गरेर पन्छिए ।