स्कटल्याण्डबाट प्रशान्तको यूरोप यात्रा शु्रु

स्कटल्याण्डबाट प्रशान्तको यूरोप यात्रा शु्रु


स्कटल्याण्ड । स्कटल्याण्डको एबरडिन र ग्ल्यास्गो शहरमा यसै हप्ता इण्डियन आइडल प्रशान्त तामाङको सांगीतिक कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू)को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली, भारतीय र स्कटिश समुदायको पनि उल्लेखनीय सहभागिता रहेको थियो । स्कटल्याण्डमा गायक तामाङको यो पहिलो कार्यक्रम थियो । स्कटल्याण्डबाट नै गायक तामाङको यूरोप भ्रमण शुरु भएको छ ।
ती कार्यक्रमहरुमा गायक तामाङले ‘असारे महिनामा’, ‘रातो रानी फुले झैं साँझमा’, ‘हिउँभन्दा चिसो’, ‘गोर्खा पल्टन’, ‘अरे क्यानाम’, ‘वीर गोर्खाली’ लगायत करीब डेढ दर्जन नेपाली तथा हिन्दी गीतहरु गाएका थिए । तीनवटा नेपाली फिल्महरुका नायकसमेत रहेका उनले डिजे पिनासाको गीत संयोजनमा दर्शकहरुसँग पनि मज्जाले नाचे । आयोजक ओएनसीडब्लूका कार्यक्रम संयोजक निश्चल कार्कीले एबरडिनको नेपाली सांगीतिक कार्यक्रममा यो पटक हालसम्मकै सबैभन्दाभन्दा बढी सहभागिता रहेको जानकारी दिए । उता ग्ल्यास्गो नेप्लिज एशोसिएशनका अध्यक्ष मोहन कार्कीले गायक प्रशान्त तामाङ स्कटल्याण्डवासी नेपालीहरुका माझ निकै लोकप्रिय रहेको बताउँदै तामाङसँग फोटो खिचाउन चाहनेहरुको तछाडमछाडलाई मुश्किलले सम्हाल्नु परेको अनुभव ब्यक्त गरे ।
गायक प्रशान्तलाई पनि श्रोता दर्शकहरुको मायाले निकै छोएछ । उनले भने ‘नेपालीहरुको सानो बसोबास रहेको स्कटल्याण्डमा समेत यति धेरै माया पाएँ । कलाकारलाई यो नै सबैभन्दा ठूलो हो ।’ प्रशान्त तामाङको कार्यक्रम यूरोपका विभिन्न शहरहरुमा तय गरिएका छन् । नमस्ते इन्टरटेनमेन्टका इभेन्ट म्यानेजर पाल्देन शेर्पाका अनुसार दशैंअघि बेलायत, फ्रान्स, स्वीट्जरल्याण्ड, बेल्जियम र जर्मनीमा उनका कार्यक्रमहरु तय गरिएका छन् ।
– भाष्कर अर्याल, मेस, स्कटल्याण्ड, यूके