स्थानीय तह निर्वाचन कांग्रेसको लागि जीवनमरणको सवाल : निधि

स्थानीय तह निर्वाचन कांग्रेसको लागि जीवनमरणको सवाल : निधि


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई नेपाली कांग्रेसले जीवन मरणका रूपमा लिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिद्वारा आज जनकपुरधाममा आयोजित २ नं प्रदेशस्तरीय प्रचार प्रसार विशेष भेलामा उहाँले दुई नम्बर प्रदेशमा कांग्रेसले एकसय सिट जित्ने लक्ष्य राख्नुपर्ने धारणा राख्नुभयो ।

नेता निधिले संविधान संशोधनका लागि कांग्रेसर नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भए पनि केही दलको अविश्वसनीय अवस्थाका कारण निर्णायक क्षणमा प्रवेश गर्न चिन्तन मनन भइरहेको जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचन कांग्रेसको इज्जतसँग गाँसिएको धारणा राख्नुभयो भने केन्दीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले मधेस भनेको कांग्रेस र कांग्रेस भनेको मधेस प्रमाणित गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

प्रचार प्रचार उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेश काँगे्रसका लागि आधारभूमि र भरोसाको केन्द्र भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवले कांग्रेसलाई पहिलो स्थान प्राप्त गर्ने पार्टी बनाउन सबै एक ढिक्का भई अग्रसर हुनुपर्ने धारणा राख्नुभएको थियो । रासस