एमाले नेताहरु भन्छन्- ‘प्रधानमन्त्रीले भनेको हामीले मान्नुपर्छ’

एमाले नेताहरु भन्छन्- ‘प्रधानमन्त्रीले भनेको हामीले मान्नुपर्छ’


पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट हौसिएको नेकपा (एमाले)ले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्ने धारणालाई सघन तुल्याउन थालेको महसुस गरिएको छ । शुक्रबार चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरी फर्किएका एमाले अध्यक्ष ओलीले दुईवटै निर्वाचन एक साथ गर्नुपर्ने अभिव्यक्ति दिएको भोलीपल्टै सो पार्टीका सचिव योगेश भट्टराईले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा शनिबार आयोजित गुरु लुर्इंटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको ‘समृद्ध राष्ट्र निर्माणका लागि स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा सचिव भट्टराईले समय अभावका कारण दुईवटा निर्वाचन एकैपटक गर्नुपर्ने तर्क गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत संघ र प्रदेशको चुनाव एकैपटक गर्ने चाहना प्रकट गर्दै आएको सन्दर्भ उल्लेख गर्दै सचिव भट्टराईले भने, ‘प्रधानमन्त्रीले भनेजस्तै दुईवटाको निर्वाचन एकैपटक गर्नु पर्दछ । उहाँले भनेको यस कुराको हामीले समर्थन गर्नुपर्छ । यसरी गर्दा राम्रो पनि हुन्छ ।’ उनले दुवै चुनाव एकैपटक गर्नेगरी चाँडो मिति तोक्न सरकारलाई आग्रह गरे ।

संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कुनै साइनो नभएको भन्दै उनले राजपाप्रति ब्यंग्योक्ति गर्दै प्रदेश र केन्द्रको चुनावपछि संशोधनका बारेमा कुरा गर्न सकिने धारणा अघि सारे ।

संविधान संशोधनबिना नै ६ वटा प्रदेशमा जसरी निर्वाचन भयो त्यसरी नै प्रदेश नं २ मा पनि निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै तीनै तहको निर्वाचनपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने दाबी उनले गरे ।