दशौं युरोपेली भेलामा पत्रकारका झोला र अभियन्ताका हरिया दाँत !

दशौं युरोपेली भेलामा पत्रकारका झोला र अभियन्ताका हरिया दाँत !



डिल्लीराम अम्माई, बेल्जियम

जुन उद्देश्य र सपनाका साथ एनआरएनए गठन भएको थियो, त्यसको एक हिस्सा पनि सार्थक बनाउने दौडमा छैन अहिले यो संस्था । यो संस्थाले आफैमा विश्वव्यापी संजालको महाधुन त्यागेको छैन र यसको यान्त्रिक टावरले विभिन्न नयाँ धुनहरुको निर्माणमा निरन्तर आफ्नो कार्य अघि बढाइरहेको छ । अहिलेको एनआरएनएको युरोपेली भेलाले पनि मिठा शब्दका केहि लाइन घोषणा जारी गर्दै औपचारिकतालाई मजाकिलो अन्त्य गर्नेछ, त्यसमा कुनै शंका छैन ।

महाभुकम्पका पीडितहरुमा राहत पुऱ्याउने कार्यमा धेरथोर सरिक देखिए पनि धुर्मुस-सुन्तलीको ब्याक्तिगत योगदानको दाँजोमा यो संस्थाको निम्छरो र प्रचारमुखी प्रदर्शनी हेर्दा लाग्छ, यसले डायस्पोराको सानो हिस्सामा रहेका मुठ्ठीभर धनाड्यहरुको मनोरंजन, पुंजिकृत नाफामुलक लगानी र विलासी मनोरन्जनात्मक भ्रमणबाट नयाँ नयाँ चलाख बिजनेस पार्टनरहरु खोज्ने शैलीलाई संस्थागत गर्न सफल भएको बाहेक प्रवासमा उत्साहजनक अनुभूति दिएको देखिँदैन ।

तैपनि जवाफभन्दा पनि धेरै प्रश्न लिएर जर्मनीको फ्र्यांकफर्ट सम्मेलनमा युरोपका एनआरएनहरु गएका छन् । डायस्पोराको नेपाली जमातले कुनै न कुनै रुपबाट रंगीन पाएको छ यो खेलमा । गएका साथीहरु सम्मेलनपछि अलिक उज्यालो मुख लिएर फर्किन्छन् कि उही पुरानै अनुत्तरित चेहरा लिएर आउने हुन्, त्यो त फर्केपछि नै थाहा होला । तिनै प्रश्नहरु र केही ब्याक्तिगत जिज्ञासा लिएर यो आलेख अघि बढ्ने छ ।

सुन्दा तितो लागे पनि भन्नैपर्छ कि डायस्पोरामा रहेका केहि धनाढ्यहरुले कालो या सेतो धनलाई कानुनी मान्यतासहित नेपाल भित्र्याउन भने यो संस्थाले सहजता प्रदान गरिरहेको देखिन्छ । नेपाली नागरिकता त्यागेर बसेका नवधनाड्यहरुले नेपालमा लगानीको बहाना बनाइ कर छली गरेको आरोपसमेत एनआरएनले खेपिरहेको छ ।

एनआरएनए भबन बनाउन, कुनै प्रोजेक्ट संचालन गर्न वा अन्य परोपकारी कार्यको लागि एनआरएनएको लोगो र संस्थाको प्रयोजन गरी करोडौँको लगानी गरिएको छ र नाफा पनि त्यहिअनुरुप भैरहेको सानिमा बैंकको वार्षिक नाफाले नै देखाउँछ । तर त्यो नाफाबाट संस्थालाइ राज्यले दिएको सुविधा प्रयोग गरेबापत थोरै नाफाको अंश पनि छुट्याइएको छैन । भवन बनाउनको लागि बिजुलीको पोल र डरलाग्दा संरचनामा काम गर्ने डायस्पोराका मजदुरबाट आर्थिक सहयोग निचोरिएको छ । त्यसैले यो संगठन कथित नेपाली पुँजिपतिहरुको दरबारको लागि मजदुर निचोर्ने संस्थागत संजाल हो भनेर आरोपदशौं युरोपेली भेलामा पत्रकारका झोला र अभियन्ताका हरिया दाँत ! लगाउनेलाई चित्तबुझ्दो जवाफ दिन सकिने अवस्था छैन ।

त्यहि प्रसंगमा एउटा कुरा गरौँ एनआरएनएको नेपालमा गरिएको लगानीबारे । नेपाल आर्थिक पत्रकार सेजनका एक पत्रकारको नमिठो भोजन खान सबैलाई नमिठो लाग्ला । उनका अनुशार एनआरएनएको नेपालमा लगानी २९ अर्ब ८५ करोड रुपैयाँ उल्लेख छ । यो मध्ये १७ अर्ब ५३ करोडको मात्र सेवा मुलक लगानी देखिन्छ । तर लगानीले कस्तो सेवा उपलब्ध गराएको हो कुनै विवरण छैन । सेजनसम्बद्ध केही आर्थिक बिटका पत्रकारलाई प्रयोग गरेर नक्कली विवरण सार्वजनिक गर्दै धेरै धन भित्र्याउने र थोरै लगानी गर्ने यो परिपाटी हाम्रो र राष्ट्रको हितमा पटक्कै छैन भनेर तर्क गर्ने ठाउँ देखिन्छ ।त्यसमा पनि सेवा चाहिने अवस्थाका नेपालीसमक्ष कहाँ सेवा पुगेको छ र ? यो संस्थाको धेरै लगानी राजधानी काठमाडौंमा छ भने त्यसपछि बाग्लुङ, मकवानपुर, कास्की, गोरखा, चितवन र सिराहा छन् । जहाँ पनि लगानी ब्याक्तिको छ तर क्वारेन्टाइन नतिरी सुविधा एनआरएनएमार्फत लिइएको छ ।

अर्को प्रसङ्ग यो संस्थाका जिम्मेवार केही ब्याक्तिलाई बेल्जियमको असेण्ट्रा, स्पेन, डेनमार्क लगायतका उत्सव, मेला र भेलाहरुमा मानव ओसारपसारको गम्भीर आरोप लाग्यो । मिडियामा सबै कुराहरु छरपष्ट रुपमा आए । बेल्जियममा त एनआरएनकै निर्देशनमा छानबिन समिति समेत बन्यो र आरोपीलाई दोषी देखिएकोले कारवाही गर्नुपर्ने भन्दै सम्बन्धित संस्थालाई प्रतिवेदनसमेत बुझायो । त्यसको बोधार्थ केन्द्रलाई पनि पठायो तर लाज पचेको केन्द्रले कारवाही त के चुइँक्क बोल्नेसम्म हिम्मत राखेन र हामी यस्तै यस्तै हौँ भन्ने खालको सन्देश दियो । केन्द्रले कि आरोपीलाई दोषी करार गरी कारवाही गर्न सक्नुपर्थ्यो कि सफाई दिन, तर केन्द्र लाचार देखियो । सायद यो एनआरएन युरोपियन भेलाले विवादित यी मुद्दाहरुमा छलफल गरेर निचोडमा पुर्याउन सके थोरै लाज ढाकिन्थ्यो होला । तर अहिले चुनावका गुटउपगुट बनाउँदैमा ठिक्क छ यी ठेकेदारहरुलाई ।

अर्को कुरा छ भुकम्पपीडितको लागि उठाइएको पैसाको मुद्धा । नेपालमा भुकम्पपीडितको वहानामा उठाएको पैसाले युरोपतिर घर किन्ने र नेपालमा सम्पत्ति जोड्नेमा अमेरिका, जर्मनी खुल्ला प्रतिस्प्रधामा आएको देखियो भने बेल्जियम भित्रभित्रै चर्चित बन्यो । नेपाली सोसाइटी नामाकरण गरिएको एक नेपाली गैरसरकारी संस्थाले यहाँ पनि झन्डै ३ करोड रुपैयाँ उठाएर त्यसको नेपालमा गरिएको लगानी सार्वजनिक गरेको छैन । समाजले उठाएको जम्मा रकम, बचत वा पठाएको प्रमाण र लगानी गरिएको विवरण सार्वजनिक गर्न माग गरिदा पनि अहिलेसम्म आएको छैन । जिम्मेवार मिडिया हाउस वा पत्रकारले विवरण माग्दा गरेको आनाकानीले विभिन्न संका जन्माउनु स्वाभाविक हो । हामीले त्यो संस्थाका जिम्मेवारलाई खुल्ला चुनौती दिएका छौँ सार्वजनिक गर्न । हामी सम्बन्धित पक्षलाई पुनः सम्पूर्ण विवरण सार्वजनिक गरिदिन आग्रह गर्दछौँ । यी सबै गलत आरोपित मनशायहरु हामी एनआरएनभित्र आएको वा ल्याइएका सामाजिक बिचलन हुन् भन्दा अत्युक्ति नहोला ।

त्यस्तै भुकम्पपीडितको लागि एनआरएनएले युरोपभरि कति आर्थिक सहयोग उठायो ? त्यसबारे राष्ट्रहरुको अलग अलग र युरोपको सामुहिक बचतबारे छलफल होला । यो विषयमा पनि जनमानसमा धेरै प्रश्नहरु उठेका छन् र त्यसको निराकरण केन्द्रको सहयोगमा युरोपियन समितिले गर्नुपर्ने होला । त्यो प्रश्न एनआरएनए बेल्जियमलार्इ पनि हो उसले पनि आफ्नो वेबसाइडमा भुकम्पपीडित राहत पारदर्शिताको पूर्ण विवरण दिन सकेको छैन । यहाँबाट पठाएको सबै धन केन्द्रिय खातामा दुरुस्त छ वा छैन ? त्यो प्रश्न भेलामा पत्रकार बन्धुहरुले उठाउलान् , यदि उठाइएन भने पनि आश्चर्य मान्नुपर्ने छैन, किनकि धनाड्य अग्रजहरुकै समर्थनमा मिसन पत्रकारिता गर्ने कार्पोरेटिक मिडियाकर्मी र प्रश्नकर्ता बनेर गएका तर हेभीवेटको छायाबाट तर्सेर न्युरोझैँ शिर दोब्राएर फर्कने जमातको नै त्यहाँ बाहुल्यता होला । खटिरो मान्छेलाई त बोल्ने कसले पो चान्स देला र ?

ठुला मिडियासँग नजिक हुने र पुँजीपतिहरुको सहयोगमा प्राण धान्न पल्केका मिसन मिडियाको सेल्फ सेन्सरसिप खोरभित्रबाट कुनै मिडियाकर्मीले माथि उठाइएका मुद्धा उठाए हुन्थ्यो भन्ने धेरैलाई लागेको छ । मिडियाकर्मीलाई पनि छानीछानी त्यहाँ ल्याइएको छ जो कार्पोरेटिक खेताला जस्तै हुनसक्ने सम्भावनालाई विगतका अनुभवले देखाइसकेकै छ । यी कुरा उठाइयो भने त्यो सवालको न्युज नियोजन गरेर प्रकाशन गर्ने आदेश हुन सक्छ । अर्को कुरा उपस्थित अधिकतमहरुलाई डायस्पोराका अधिकतम श्रमिकहरुको हैन, मनोनित र निर्वाचित उपल्लो पोस्ट प्राप्त गर्न र कलमको मुखबाट बग्ने रंग बिकाउन कथित हेभिवेटको आशिर्वादको जरुरत छ ।

त्यो सम्मेलनमा पंक्तिकार पनि निम्तालु थियो तर गइएन । एक पत्रकार मित्रले अनलाइनको वार्षिकोत्सव भनेका पनि थिए । जाउँ कि जस्तो पनि लागेको हो तर खासै चासो जागेन । उनीहरुको एउटा टिम होला आफ्नो ताकत र ल्याकत माथि चढाउन, आदेश कुर्न र अनुनयविनय विसाउन जानुको औचित्य सावित गर्न गाह्रो हुने त्यस्ता सम्मेलनमा नगएकै बेस । त्यहाँ गएको भए पनि त्यहि पुरानो शैलीको चाकडी सम्मान, त्यहि वर्षव्यक्ति र आफ्ना लगानीकर्ताहरुको भक्तिभजन, बस् ।

कसैको चित्त फाट्ला, फेरि पहिलेकै शैलीमा नेपालबाट बोलाइएका द्रब्यपीडित पाहुना देखेर ङिच्च हाँस्न मन लाग्ला । आफु त गइएन ठिकै गरियो । उथलपुथल हुने निर्णय भएछ भने पक्कै सुचना पाइएला । पत्रकार महासंघ केन्द्रलाई निम्ता नगरी पहिलेजस्तै रमाइला निम्तालु आएका होलान् । ब्याक्तिपुजामा राग भएका साथीसंग कुनैदिन भेट भयो भने मेरो प्रश्न यहि हुनेछ कि एनआरएनए युरोपले युरोपमा राम्रा पत्रकार भेट्टाएनछ हैन मित्रहरु ?

यो लेखले उनीहरु बेखुशी हुनेछन् किनकि, एनआरएनएका विकृत पात्रहरु आफ्नोअनुकुल समाचार आए खुशी र अनुकुल नआए दुःखी, आक्रोशित र उत्तेजित हुने कुरा हामीले विगतमा धेरैपटक भोगिसकेका छौँ । तर हामी के कुरामा दृढ छौँ भने समाजमा सहि सुचना दिनु मात्र पत्रकारिता हैन, त्यस्तै सकारात्मक संदेश पुर्याउनु मात्र पनि पत्रकारिता हैन । समाजका विकृति, विसंगतिलाई नंग्याउनु र तिनमा सुधार ल्याउन सम्बद्ध निकाय वा संस्थालाई सचेत गराउनु हो पत्रकारिता । त्यसैले पत्रकारिता पलपलमा जोखिमपूर्ण पेशा हो । आवाजविहीनहरुको आवाज, भुइँका मान्छेका कुरा, समयको आक्रोश र विद्रोहको स्वरलाई जनजनसम्म पुर्याउनुलाई साँचो अर्थमा पत्रकारिता भनिन्छ। आज कतिपयले यो पेशालाई नाफामुलक उद्योग बनाउदै छन् र औधोगिक मेलाहरुमा प्रदर्शनी गर्दैछन् । धेरैतिर यसको मूल मर्मको धज्जी उडाइएको छ र मूल मर्ममा प्रहार गरिएको छ । कतिपयले यो पेशालाई राज्य र आफुलाई त्यसको शासक मान्दारहेछन् ।

उनीहरुलाई एक मात्र सुझाव दिन सकिन्छ कि हाम्रो दिमाग राम्रो नराम्रो, सुन्दर कुरुप, नैतिक-अनैतिक भन्ने सोचहरु सिमेन्टेड जस्तै बनाइन्छ । त्यसलाई भत्काउन ठुलो वैचारिक क्रान्तिको आवश्यकता रहन्छ । केलाई राम्रो केलाई नराम्रो भनेर अगाडि नै बनाइसकेको धारणालाई तुरुन्तै भत्काउने सामर्थ्य राखेनौँ भने हामी मिडियाकर्मी त हौँला तर हाम्रो यात्रा सुरुङभित्रको यात्रा मात्रै हुनेछ ।

खराबलाई पखाल्न कोही रिसाउला भनेर साइत कुर्नु हुँदैन । मिडियाचेत भनेकै ज्ञान, सुचना, प्रोपोगान्डा र विज्ञापनको बीचमा हामी कति भिन्नता पाउछौँ भन्ने हो । प्रख्यात भाषाशास्त्री एवम् मिडियाकर्मी नोम्चोम्सकीको भनाइमा ‘प्रोपोगाण्डाद्वारा शासकवर्ग जनताको इच्छा शक्तिलाई कमजोर बनाइदिञ्छ र छान्न सक्ने बिबेकसहितको क्षमताबाट समेत बन्चित गरी दिन्छ ।’ भन्न खोजेको कुरा प्रोपोगान्डाको लागि लगानी गर्ने कर्ता र खेतालाबीच एनआरएनए दशौँ युरोपेली भेलामा पुरानै बिबेकशुन्य निरासा बोकाएर खेतालाहरुलाई फिर्ता नपठाइयोस् । अस्तु ।

(जुलाई २९ ,२०१७)