सिंहदरबारमा डनहरुको राज रहेको मन्त्रीको खुलासा !

सिंहदरबारमा डनहरुको राज रहेको मन्त्रीको खुलासा !


सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले ‘सिंहदरबारमा डनहरु बस्ने खुलासा गरेका छन् ।

कर्मचारी नेताहरुलाई डनको संज्ञा दिँदै उनले भने, मेरो पहिलो कदम डनका विरुद्ध कारबाही हुनेछ ।’

सल्यानी युवा सञ्जालले राजधानीमा गरेको सम्मान कार्यक्रममा मन्त्री बस्नेतले अगाडी भने, ‘धेरैजसो कर्मचारीले हाजिर गरेकै भरमा राज्यको तलव खाने गरेका रहेछन्, म त्यो सहन सक्दिनँ, तलब खाएपछि देश र जनताको हितमा काम नगर्नेहरुमाथि सरकारले कारबाही गर्छ ।’

आक्रोशित भावमा उनले भने,’अहिले पनि सिंहदरबारमा बसेर थर्काएकै भरमा काम नगरी खाने कर्मचारीहरु रहेछन्, त्यस्तालाई तह लगाइने छ । सिंहदरबारमै बसेर काम नगरी थर्काएर खानेहरुको उचित व्यवस्थापन हुन्छ ।’

मन्त्रालयको नाम सामान्य प्रशासन भएपनि काम भने असामान्य रहेको भन्दै मन्त्री बस्नेतले केही कर्मचारीकोे ब्यवहारप्रति असन्तुष्टि जनाए । कुन कर्मचारीप्रति के कारणले असन्तुष्ट बन्नु परेको भन्नेचाहिँ उनले खुलाएनन् ।

विभिन्न कर्मचारी संगठनका नेता, आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरु कार्यालयमा बसेर काम गर्दैनन् भन्ने आरोप लागिरहेका बेला विभागीय मन्त्रीले नै कर्मचारी अगुवाहरुलाई डनको संज्ञा दिएपछि यस विषयले सिंहदरबारमा चर्चा पाएको छ ।

मन्त्री बस्नेतले संघ, प्रदेश र स्थानीय तहका तत्काल कर्मचारी खटाउने बताए । कर्मचारी खटाउने विषयमा आधिकारिक ट्रेड युनियन र मुख्यसचिवबीच अन्तरविरोध चलिरहेका बेला मन्त्री बस्नेतले तत्काल सबै तहमा कर्मचारी पठाइने दाबी गरे । उनले भने, ‘मैले प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन निर्देशन दिइसकेको छु, यो समस्या छिट्टै हल गर्छु ।’

अर्थसमितिका सभापति प्रकाश ज्वालाले बस्नेतलाई सफल मन्त्री बन्न पहिलेका सफल मन्त्रीहरुसँग मरामर्स गर्न समेत सुझाव दिए । उनले भने,’यतिबेला समान्य मन्त्रालयको काम निकै महत्वपूर्ण छ, सफल मन्त्री हुन लालबाबु पण्डितसँग सल्लाह गर्नुहोस्, म तपाईंलाई बधाई र यही सुझाव दिन्छु ।’