पञ्चासे समाज यूकेका वार्षिक भेटघाट

पञ्चासे समाज यूकेका वार्षिक भेटघाट


लण्डन । नेपालको रमणीय पर्यटकीय नगरी पोखराको सिरानमा अवस्थित पञ्चासे पर्वतको सेरोफेरोमा परापूर्वकालदेखि बसोबास गर्दै आएका बासिन्दाहरुले एउटा आफ्नै भेकका समूहकालागि पञ्चासे समाज यूकेको स्थापना गरेको छ । प्रत्येक वर्ष वार्षिक भेटघाट कार्यक्रमको आयोजना गरी आफ्नो भेकका जुँवाइ-चेलीहरुलाई पाहुनाअनुरुप आतिथ्य सत्कार गरिने चलन स्थापनाकालदेखि नै गर्दै आएको छ । हिजो, ०३ सेप्टेम्बर २०११, दिन, तमू धि, मिचेटमा ११ बजेबाट शुरु भएको भेटघाट कार्यक्रमलाई औचारिक रुपमा दिनको २ बजेदेखि शुरु गरिएको थियो । समाजको अध्यक्ष ले.रि. दानबहादुर गुरुङको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमलाई समाजका सचिव आर कुमार गुरुङले सञ्चालन गरेका थिए । सचिवले कार्यक्रमकालागि सुरक्षाका केही बुँदाहरु अवगत गराएपछि प्रमुख अतिथिहरुमा समाजका बृद्धा महिला सदस्य सुना गुरुङ र चेलीतर्फबाट बृद्धा महिला कर्णकुमारी गुरुङ द्वयलाई मञ्चमा बोलाएर खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रमकालागि समाजका उपाक्ष्यक्ष सुमल कुमार गुरुङले स्वागत मन्तव्य प्रकट गर्ने क्रममा सम्पूर्ण सहभागीहरुलाई आभार व्यक्त गर्दै स्वागत गरेका थिए ।
मन्तव्य प्रकट गर्ने क्रममा चेलीहरुबाट पुष्पा गुरुङ, जुँवाइहरुलाई प्रतिनिधित्व गर्दै अर्जुन गुरुङ, समाजका सल्लाहाकार विष्णु गुरुङले आ-आफ्नो मन्तव्य प्रकट गरेका थिए । यस भेटघाट कार्यक्रममा नवदम्पतिहरु क्रमशः मैतालाल गुरुङ-इन्दु गुरुङ तथा ज्योतिराज गुरुङ-कल्पना गुरुङलाई खादा ओढाएर शुभकामना दिँदै सम्मान गरेका थिए । यसवर्षशिक्षातर्फ जीसीर्एर्सइ, ए लेभेल र डिग्री हासिल गरेका समाजका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा क्रमशः सिमान्त गुरुङ, डाक्टर सूर्यमान गुरुङ, नारायण गौतम, मञ्जु गुरुङ, विशाल गुरुङ, अञ्जु गुरुङ, र स्वेच्छा गुरुङ थिए । राम्रो अंक लिएर शिक्षालाभ गरेका उपलक्ष्यमा सम्मान प्रदान गरिने कार्यक्रमलाई समाजका सदस्य हरिकुमार गुरुङले सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रमलाई समाजका अध्यक्ष ले.रि.दान बहादुर गुरुङले आयोजक कमिटी र सहभागीहरुलाई धन्यवाद दिँदै समापान गरेका थिए ।
त्यसपछिको मनोरञ्जन कार्यक्रम र राफल चिट्ठाको कार्यक्रमलाई सचिव आरकुमार गुरुङ र समाजका सदस्य जया बहादुर गुरुङले सञ्चालन गरेका थिए । मनोरञ्जन कार्यक्रमकालागि पञ्चासे समाजका किशोर किशोरीहरुबाट मनमोहक नृत्य प्रस्तुति गरिएको थिए, समाजका लोकप्रिय गायक याम गुरुङको सुमधुर गीत, नवगायक प्रदिप गुरुङको पञ्चासेको सेरोफेरो र ठाँटी डाँडालाई समेटेर गाएका लोकगीत र आबेर पञ्चासेका जेष्ठ अभिभावकहरुबाट गाएका ठाडो भाकाको पुरानो “जाउँला रेलैमा” भन्ने गीतले माहौल एकपल्ट मन छुने खालको बनाएको थियो । मानौ पञ्चासेको सेरोफेरो तमू धि मिचेटको प्रांगणमा उत्रेर आएको प्रतीत भएको थियो । राफल चिट्ठाका प्रायोजकहरुमा हरि कुमार गुरुङ -काजी)द्वारा सञ्चालित इसोल स्कुल, आरकुमार, सन्त बहादुर र सुमल कुमार थिए । समाजका अध्यक्षले सबै प्रायोजकहरुलाई खादा ओढाएर सम्मान गरिएका थिए । अत्यन्त उल्लासमय वातावरण समेटिएको कार्यक्रम आबेर राति दश बजेतिर सकिएको थियो । सुमल, मेस ।