एनआरएन यूकेमा चुनावी चहलपहल र आम चर्चाहरु

एनआरएन यूकेमा चुनावी चहलपहल र आम चर्चाहरु


लण्डन । आगामी ११ तारिख, गैरआवासीय नेपाली संघ, यूकेको राष्ट्रिय समन्वय समितिको वर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुँदै छ र सोही दिन नयाँ कार्य समितिको निर्वाचनद्वारा छनोट हुने भएको छ । चौंथो सो कार्य समितिको निर्वाचनको लागि अध्यक्षमा कूल आचार्य र सूर्य कुमार नेम्वाङ, उपाध्यक्षमा महेन्द्र राज कँडेल र थर्क सेन, महासचिवमा राजकुमार त्रिपाठी र रामशरण सिंखडा, सहसचिवमा शुष्मा लिम्बू र सुरेन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा दिलरस गुरुङ, सदस्यहरुमा बसुन्धरा राज सम्योहाङ, बिनोद कुमार न्यौपाने, दासुराम पाण्डे, दिलिप कुमार महसेथ, एकबहादुर पुन, गणेशबहादुर गुरुङ, राजनकुमार क्षेत्री, कृष्णप्रसाद तिमल्सिना, शान्ती थापा, संगीता महर्जन र रमेश शर्मा बास्तोला तथा अन्तर्राष्ट्रिय समन्वय समितिका लागि सदस्यहरुमा शंकर भण्डारी, विश्व आर्दश पंडित र राजेन्द्र कँडेल छन् । माथिमा विविध स्थानहरुमा अध्यक्ष, महासचिव, सहसचिव र सदस्यहरुका लागि निर्वाचन हुने भएको छ ।

सन् २००५ को मार्च ६ तारिखका दिन सार्वजनिक रुपले स्थापना भएको यस गैरआवासीय नेपाली संघ यूकेमा अहिलेसम्म आधिकारिक रुपमा जम्मा ३१४० ले सदस्यता लिएको सो संस्थाको आफ्नो वेबसाइटमा खुलाइएको छ । अनुमान लगाइएअनुसार हालसम्ममा यूकेका फार्नबोरोह, अल्डरसट, रिडिङ, वोकिङ, प्लम्स्टेड, वेम्ब्ली, हृयारो, हान्स्लो, फोक्स्टन, स्वीन्डन, ननिंन्टन, क्याम्ब्रिज्ड, अक्स्फोर्ड, योर्क्सायर आदि स्थानमा बसोबास गर्ने नेपालीहरुको संख्या एकलाख बीसहजारभन्दा बढी रहेको छ र यो संख्या बढ्दो छ । सयौं विविध जातीय, क्षेत्रीय, स्थानविशेषलगायत राजनीतिक पार्टीका भातृसंस्थाहरु जस्ता संस्थाहरु स्थापित भइसकेको यूकेमा अहिले वर्तमान हालातमा साझा संस्था बन्न सक्ने नाम बोकेको संस्था गैरआवासीय नेपाली संघमा साधारण सदस्य लगभग ३२०० मात्र हुनु अनौठो लाग्दछ । सन् २००३ को सेप्टेम्बर ८ तारिखका दिन गठन भएको गैरआवासीय नेपाली संघको अहिलेसम्ममा ४१ वटा राष्ट्रिय समन्वय समितिहरु विश्वभरिका विभिन्न देशका ४१ वटा स्थानहरुमा स्थापित भइसकेका छन् । २५ लाख नेपालीहरु अध्ययन, रोजगारी, बसाइ आदि कारणहरुबाट संसारको विभिन्न मुलुकहरु स्थायी तथा स्थायी बसोबास गरिरहेका छन् । गैरआवासीय नेपाली भन्ना साथ १८२ दिन बढी सार्क मुलुक बाहिरका अर्थात् तेस्रो मुलुकहरुमा कुनै पनि कारण वा बाहानामा बसोबास गर्ने नेपालीहरुलाई जनाउँदछ । विश्वका कतिपय मुलुकहरुमा दोहोरो नागरिकताको मान्यता छ भने कतिपयमा त्यस्तो प्रावधान छैन । एकपटकको नेपाली सदाको नेपाली भन्ने मूल नारा लिएर सोहीअनुरुप नेपाल सरकारसँग माग राख्दै आएको गैरआवासीय नेपाली संघलाई केहीअघिबाट एनआरएन परिचय पत्र दिन नेपाल सरकारले शुरु गरेको छ भने वर्तमान केन्द्रीय अध्यक्ष देवमान हिराचनले शुरुमै परिचयपत्र लिइसकेका छन् जसको कार्यान्वयन सान्दर्भिक रुपमा कतिपय राष्ट्रिय समन्वय समिति स्थापित भइसकेका मुलुकहरुमा भएका छैनन्, त्यो मुख्य गरी अमेरिका र बेलायत पर्दछ ।

विगतमा सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको यतीको धरासयी हालातको लगत्तै गैरआवासीय नेपाली संघ, यूकेले बेलायतको नेपाली समाजमा आफ्नो संस्थाको महत्वलाई फैलाउँदै लाने प्रयत्न गरेको छ, जसले विभिन्न सन्दर्भहरुमा स्थानीय समाजका विविध नामधारी संस्थाहरुलाई गैरआवासीय नेपाली संद्ध, यूकेको छातामुनि ल्याउने क्रम अद्यावघि जारी राखेको छ । विविध अवसरहरुमा सो संस्थाले समाजको हितको लागि, चासोका विषयहरुमा पनि आफ्नो संस्थाको ध्यानलाई केन्द्रित गरी परिचालित भएको छ । गैरआवासीय, गैरजातीय, गैरक्षेत्रीय, गैरराजनीतिक पक्षलाई समस्टीगत गरी विशाल बन्ने तर्खरमा रहेको यस संस्थाले विविध संस्थाहरुबीच समन्वयको माध्यम बन्ने, नेपालमा विभिन्न क्षेत्रहरुमा लगानी गर्ने व्यवस्थाको व्यापकता बढाउने, इन्टेलेक्च्युअल प्रोपर्टीको सदुपयोगको लागि प्लेटफर्म बन्नेलगायत नेपाली कला तथा संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्य राखेको सर्वविदित छ ।

त्यस्तै, यही हप्ताको अन्यमा हुँदै गएको चुनावको सन्दर्भमा स्थानीय नेपाली समाजमा विभिन्न रुपमा चर्चापरिचर्चा चल्दै गएको छ । आगामी कार्य समितिको लागि वर्तमान समितिले एक प्रकारले निर्विरोध रुपमा समितिको गठन गर्ने प्रयास गरेको थाहा लागेको छ । आफ्नो दुई वर्षे कार्यकालको अन्त्यमा, वर्तमान अध्यक्ष सूर्य गुरुङ नयाँ कार्य समितिलाई एक प्रकारले सबै विचार र पक्षहरुले पूर्ण बनाउनेतर्फ लागेको बताउँदछन् । त्यसैको लागि विभिन्न संघसंस्थाहरुसँग सहयोग मागिएको र त्यसैको प्रतिरुपमा नयाँ कार्य समितिको गठन हुन गएको मान्दछन् । ५३० अनसाइट र २६१२ पोस्टिङ भोटिङको व्यवस्था भएको यस चुनावमा केहीअगाडिदेखि काम द्रूत गतिमा चालिएको थाहा भएको छ । नयाँ कार्य समितिको लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कूल आचार्य र भूपू गुर्खा र आदिवासी जनजातिको तर्फबाट उमेदबारी दिने जनसम्पर्क समिति साउदर्न लण्डन इकाइका अध्यक्ष सूर्य कुमार नेम्वाङबीच हुँदै गएको प्रतिस्पर्धात्मक चुनावमा हल्ला चलेअनुसार कूल आचार्यको बिजय लगभग निश्चित भइसकेको छ । प्रतिस्पर्धी नेम्वाङ, यो चुनावमा राजनीति व्यापक रुपमा भइरहनुका साथै पैसोको खेल चलेको खुल्लम्खुल्ला बताउँदछन् । नेपाली काँग्रेस पार्टीप्रति समर्पित यूकेका काँग्रेसहरुबाट कूल आचार्यलाई जिताउनका लागि सार्वजनिक रुपमा बाहिर सहयोग गर्नको लागि भन्दै हिँडेका देखिएको बताउने नेम्वाङ आफै पनि नेपाली काँग्रेसको भातृसंस्था जनसम्पर्क समितिको एक इकाइको अध्यक्ष हुन् तथापि उनी सोको प्रतिनिधित्व नगरी भूपू तथा जनजातिको प्रतिनिधित्व गरेको बताउँदछन् भने, कूल आचार्य, त्यस्तो चर्चाहरु एकदम निराधार बताउँदछन् । कसैले उनी कुनै प्रकारले पनि नेपाली काँग्रेससँग सार्वजनिक रुपमा वा सक्रिय रुपमा संलग्न भएको प्रमाण ल्याए कुनै प्रकारको स्पष्टिकरण दिन आफू तयार रहेको बताउँदछन् । व्यक्ति कुनै न कुनै किसिमले कुनै न कुनै किसिमको विचारधाराबाट निर्देशित पक्कै हुन्छ तर त्यसरी विचार बोक्नेहरुले सो विचारको प्रतिनिधित्व होइन, आस्था मात्र राखेको हुन्छ भन्ने तर्क राख्ने आचार्यको विपरीत नेम्वाङ, त्यस्तो प्रकारको राजनीतिले गर्दा एनआरएन संघलाई नै गलत बाटोमा लगाउन सक्दछ भन्ने ठान्दछन् । गैरजातीय, गैरराजनीतिक संस्था -एनआरएन संघ राजनीति गरिने मैदानको रुपमा ढल्दै जान थालेको मान्ने नेम्वाङको विपरीत वर्तमान अध्यक्ष सूर्य गुरुङ, एनआरएन संघ भनेको साझा संस्था हो, यहाँ विभिन्न जातीय, क्षेत्रीयलगायत विभिन्न राजनीतिक सोँच लिएर आउनेहरु जम्मा हुने साझा संस्था हो भन्ने मान्यता राख्दछन् । विभिन्न राजनीतिक पार्टीहरुबाट एक प्रकारको प्रतिनिधित्व भएको जस्तो लाग्ने अवस्थालाई गलत भएको नठान्ने गुरुङ, संस्थामा एक आचार संहिताको निर्माण गरिएको र सोअन्तर्गत त्यसरी विजयी भएर आउनेहरुले आफ्नो राजनीतिक विचारको टोपीलाई संघको कार्यालयबाहिर छोडेर आउनु पर्ने बताउँदछन् । एक किसिमले समानुपातिक रुपको चुनावको भान दिन खोजिएको यो चौंथो कार्यकालको चुनाव र त्यसको परिणाम चाखलाग्दो हुने भएको छ ।

गैरआवासीय नेपाली संघको मूल माग दोहोरो नागरिकताको वर्तमान अवस्था र प्रगति, एनआरएन परिचयपत्रको कार्यान्वयन र औचित्य तथा सान्दर्भिकता, राजदूतावासहरुमा एनआरएन डेक्सको व्यवस्था, ग्लोबल एनआरएन कोष, विविध विषयहरुका लगानीहरु, एम.आर.पी.को व्यवस्था, गैरआवासीय नेपालीको परिभाषामा सरलीकरण आदिइत्यादि पक्षहरुउपर विभिन्न देशलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय समन्वय परिषद समिति तथा खासगरी अध्यक्षहरुले विस्तृत जानकारी राख्नु पर्ने अवस्थामा पक्कै पनि राजनीति अभिप्रायले निर्देशित हुने वा वशीभूत हुने मनहरुले राम्ररी ध्यान दिन पक्कै सक्दैनन् । हरेक दिन हजारौं नेपालीहरु कुनै न कुनै वहानामा विदेशतिर भास्सिँदैछन् भने कतिपयहरु विविध अवस्थामा यहीँ यूकेमा स्थायी बसोबास कानूनी रुपमा गर्दैछन् । तसर्थ, एनआरएनको संस्थाले साधारण सदस्यहरुको संख्या बढाउनका लागि पनि आफ्ना तात्विक उद्देश्यहरुबाट विमुख हुनुहुँदैन । आवासीय नेपाली संघ तब मात्र साझा हुन्छ, जब त्यसमा राजनीतिका विभाजित विचारहरुले बास पाउँदैनन्, जातिय वर्गीकृत सोँचहरुले स्थान पाउँदैनन् र क्षेत्रीय मानसिकताले विभाजित हुँदैनन् । एनआरएन संघमा पक्कै पनि विभिन्न सोँच र विचार तथा जाति र क्षेत्रका व्यक्तिहरु जम्मा भएका हुन्छन्, तर संस्थामा आवद्ध भएलगत्तै ती गैरआवासीय नेपाली संघका व्यक्तिहरु हुन्छन्, ती कुनै राजनीतिक पार्टी, कुनै जाति वा क्षेत्रका व्यक्ति भनेर जानिँदैनन् । त्यसैले वर्तमान अवस्थामा यहाँ जसरी राजनीतिक पार्टीहरुबाट एक प्रकारले समानुपातिक शैलीमा चुनाव हुन लागेको जस्तो प्रतीत भएको छ, त्यसको चर्चा रोकिनुपर्दछ । पार्टीमा लागेका वा संस्थामा छानिएकाहरुको प्रतिनिधित्व हुने संस्था गैरआवासीय नेपाली संघ होइन, त्यो महासंघ हो । व्यक्तिको क्षमता र औकातलाई वर्ग तथा विचारको औकातको रुपमा दाँजिनु पक्कै हुँदैन ।
-प्रकाश :मेरो यूके डेक्स, लण्डन