किन राखिँदैछ सवारी साधनमा गोप्य निगरानी ?

किन राखिँदैछ सवारी साधनमा गोप्य निगरानी ?


राजधानी उपत्यकामा अपराधमा कमी आएको आमजनताले महसुस गर्न पाएका छैन । तर, तथ्यांकले भने गत आर्थिक वर्षमा अपराधको संख्यामा कमी आएको देखाएको छ । महानगरीय कार्यालय रानीपोखरीका अनुसार आव २०७२-०७३ मा छ हजार २४४ अपराधका घटना भएकोमा गत आवमा यसमा कमी भई पाँच हजार ९ सय २४ घटना घटेका छन् ।

जिल्लागत आधारमा काठमाडौँमा सबैभन्दा बढी ७७ प्रतिशत, ललितपुरमा १५ प्रतिशत र भक्तपुरमा आठ प्रतिशत अपराधका घटना घटेको महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले जानकारी दिएका छन् । अपराधका आधारमा सबैभन्दा बढी सामाजिक घटना दुई हजार ८ सय ८४, ज्यान उद्योग ८ सय ६३, संगठित अपराध ६ सय १४, आत्महत्याका ४ सय ६८, चोरीका ४ सय २९, महिला बालबालिका विरुद्धका अपराध ३ सय १, सवारी ज्यान १ सय ७६ र विविध ६५ घटना घटेका छन् ।

पेशाका आधारमा घटनामा संलग्नमध्ये बेरोजगार पाँच हजार १ सय ८२, मजदुरी गर्ने दुई हजार २ सय ६, कृषिमा संलग्न ३७२, व्यापारी १ सय ९४ र कर्मचारी २७ छन् । घटनामा संलग्न अभियुक्तमध्ये ६५ प्रतिशत बेरोजगार छन् ।

गत आवमा सबैभन्दा बढी अपराध भदौ महिनामा ५९६ तथा सबैभन्दा कम वैशाखमा ४ सय १७ घटना घटेका छन् । त्यस्तै बारका आधारमा शुक्रबार र शनिबार सबैभन्दा बढी अपराध १६-१६ प्रतिशत तथा आइतबार र सोमबार १३-१३ प्रतिशत अपराधको घटना घटेका छन् ।

यस्तै समयका आधारमा साँझ ६ बजेदेखि १२ बजेसम्म सबैभन्दा बढी एक हजार ६१५ घटना घटेका छन् भने बिहान ६ बजेदेखि १२ बजेसम्म सबैभन्दा कम एक हजार २८० घटना घटेका छन् । उमेर समूहका आधारमा १६ वर्षमुनिका १ सय २१ र २६ देखि ३५ वर्षसम्म उमेर समूहका दुई हजार ३ सय ३८ घटना भएका छन् ।

स्थानका आधारमा उपत्यकाको मुख्य शहरी क्षेत्रमा ४९ प्रतिशत, नयाँ बस्ती बसेका ठाउँमा ३६ प्रतिशत र ग्रामीण भेगमा १५ प्रतिशत घटना घटेका छन् । उपत्यकामा सबैभन्दा बढी बैंकिङ विद्युतीय अपराध, मानव बेचबिखन, लागुऔषध, संगठित अपराध र साइबर अपराधका घटना बढ्दो मात्रामा रहेको छ ।

यस्तै, उपत्यकामा गत आवमा झुट बोलेको हो वा होइन भन्ने परीक्षण विधि ‘पोलिग्राफ टेस्ट’ १ सय २३ जनामा गरिएको थियो । परीक्षण गरिएकामध्ये ६४ जनाले झुट बोलेको, ३८ जनाले झुट नबोलेको तथा २१ जनाको हकमा ठोस धारणा आउन नसकेको प्रहरी नायब महानिरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

सार्वजनिक सवारीमा विशेषगरी महिलालाई छुने, जिस्काउने जस्ता यौनजन्य हिंसा बढ्दै गएपछि प्रहरीले साउन १८ बुधबारबाट त्यसलाई न्यूनीकरण गर्न अभियान सुरु गर्ने भएको छ । यसअनुसार पहिलो चरणमा तीन महिनाका लागि सार्वजनिक सवारीसाधनमा यौनजन्य हिंसा न्यूनीकरणका लागि अभियान सुरु गर्ने र त्यसको प्रभावकारिताका आधारमा त्यसको स्वरुपमा परिमार्जन गरिने बताइएको छ । कार्यक्रमअन्तर्गत बसपार्कमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सवारीसाधनमा गोप्य रुपमा निगरानी बढाइने भएको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

SAMSUNG CAMERA PICTURES