काङ्ग्रेस साँघुरिँदै जानुका कारण र निराकरण

काङ्ग्रेस साँघुरिँदै जानुका कारण र निराकरण


– दामोदर पौडल

लोकतन्त्र, शान्ति र समाजवादको लक्ष्य बोकेको नेपाली काङ्ग्रेसको लक्ष्य विश्वव्यापी मान्यतामा आधारित मात्र नभई नेपाल तथा विश्वका सबैजसो मूलधारका राजनीतिक दलहरू प्रत्यक्ष वा परोक्ष रूपमा यही विचारको सेरोफेरोमा छन् । नेपालमा एमाले तथा माओवादी केन्द्रसमेतले लोकतन्त्र, आर्थिक विकास तथा समानता र शान्तिलाई आत्मसात् गरेका छन् । समाजवादका प्रमुख दुई पक्ष आर्थिक समानता र बहुलवादमा आधारित लोकतन्त्रले विश्वव्यापी आधार तयार गरेको छ । नेपालमा भने त्यो ऐतिहासिक मान्यता बोकेको दल काङ्ग्रेस आफँै अलमलमा देखिन्छ ।

यस दलका नेताहरूको कमजोरीको कारण अविचल रूपमा यो अगाडि बढ्न सकेको छैन । कम्युनिस्टले लोकतान्त्रिक समाजवादको कुरा गरे पनि उनीहरूमा पूर्ण रूपमा रूपान्तरणको आधार देखिइसकेको छैन । लोकतन्त्र, बहुलवाद, समाजवादसमेतलाई समानता, शान्ति र विकासको आधार मान्ने दलबाहिर रहेका र वैचारिक कारणले अन्य दलहरू पूर्ण रूपमा लोकतान्त्रीकरण भएको भन्नेमा विश्वस्त भइनसकेकाहरू अहिलेसम्म पनि काङ्ग्रेसलाई पहिलो छनोट तुल्याउन बाध्यजस्तै बनेका छन् ।

पदको लोभ वा काङ्ग्रेसभित्रको बेथितिबाट वाक्क भएकाहरूमध्ये केही या निष्क्रिय हुन पुगेका छन् या पलायन भएका छन् । कतिपय मानवीय कमजोरीका कारण उनीहरूमध्ये केही काङ्ग्रेसबाट सधैँका लागि जस्तै गरेर बाहिरिएका छन् । यस चुनावमा जनप्रियभन्दा पनि नेताहरूका नजिकका र पैसा खर्च गर्नेहरूले टिकट पाएकाले काङ्ग्रेसले सोचेजति राम्रो गर्न नसकेको अनुभव भइरहेको छ । एउटा मात्र उदाहरण दिँदा लमजुङको सुन्दरबजार नगरपालिकामा मेयर पदमा काङ्ग्रेसका आधिकारिक उम्मेदवारले र विद्रोहीले बराबर जस्तै मत पाउनु यसको एक पक्ष हो । टिकट दिनमा दर्शाइएको गल्ती–कमजोरीले सिद्धान्तहीनताको भासमा काङ्ग्रेस जाँदै गरेकोे पुष्टि गर्छ ।

अब इतिहासमा जाऊँ । नेपाली काङ्ग्रेसको स्थापनाकाललाई हेर्दा सरकारबारे राम्रो जानकारी भएका र विद्रोहको बेला आवश्यक सबैजसो खर्च गर्ने सुवर्णशमशेर र अन्य राणाहरूकै राणाशासन अन्त्य गर्न अहम् भूमिका छ । उनीहरूको भूमिका नभएको भए राणाशासन केही लम्बिने थियो र धेरै जनधनको क्षति हुने थियो । बीपीको तिलस्मी व्यक्तित्व र विद्वताले जनतालाई लोकतन्त्रको पक्षमा गोलबन्द गरेको हो । यिनै कारणसमेतले देशमा ०७ सालमा प्रजातन्त्र आयो ।

त्यसपछि नै पदको रस्साकस्सी पनि सुरु भयो । पञ्चायत व्यवस्था ल्याउन कम्युनिस्ट र केही काङ्ग्रेसीले राजालाई सहयोग गरे । लोकतन्त्रको पुनस्र्थापनाका लागि बीपी र सुवर्णले आफ्नै किसिमले र फरक लाइनजस्तो देखिने गरेर इमानदारी साथ काम गरे । गणेशमान, कृष्णप्रसाद, गिरिजा आदि नेताहरूको इमानदार क्रियाशीलता र लोकतन्त्रको पक्षको अडानको साथमा लाखौँ काङ्ग्रेस पक्षधरले योगदान दिए । तर, ०१५ सालमा दुईतिहाइ बहुमत ल्याउने काङ्ग्रेसले त्यसपछि कहिल्यै पनि संसद्मा त्यो सङ्ख्या पु¥याउन सकेन । गोर्खा परिषद्जस्तो त्यसबेलाको दोस्रो ठूलो दल काङ्ग्रेसमा समाहित हुँदा पनि काङ्ग्रेसको जनमत बढ्न सकेन । यसको पछाडि कम्युनिस्टका झुटा नारा र राजाका काङ्ग्रेसविरोधी अभियान अनि काङ्ग्रेसविरोधीलाई प्रोत्साहन दिने कार्य प्रमुख छन् । तर, काङ्ग्रेसले आफ्ना कमजोरीको कारणले पनि धेरै गुमाउनुपरेको हो ।

बीपीले भनेका थिए कि प्रतिबन्धित कालमा आफ्ना कार्यकर्ता तथा नेताहरू सुनजस्तो अवस्थामा छोडेकोमा पित्तल भएछन् र पित्तलजस्ता कम्युनिस्ट सुन भएछन् । रुकुमजस्तो काङ्ग्रेसको गढ पछि कम्युनिस्ट गढ किन बन्यो भन्ने सवालको जवाफ खोज्नुपर्ने कि नपर्ने भन्ने पनि अहम् विषय नै थियो । कम्युनिस्टहरू झोला लिएर गाउँ–गाउँमा सिद्धान्तको प्रचार गर्न शिक्षकसमेत भएर गए । गरिब र मध्यम वर्गसम्म सजिलै पुगे । काङ्ग्रेसहरू केही रामशरण महतजस्ता अपवादबाहेक बन्दुक चलाउने, रूखमा काङ्ग्रेसको झन्डा टाँग्ने, जुलुस निकाल्नेमा नै व्यस्त रहे । मार्न र मर्न तयार हुने जनतालाई सङ्गठित नगर्ने कार्य नै काङ्ग्रेसले घर पोलेर खरानी बचाए जस्तो भयो । बन्दुक चलाउने, रूखमा काङ्ग्रेसको झन्डा टाँग्ने, जुलुस निकाल्नु नराम्रो होइन, तर काङ्ग्रेसजन जनतासँग जति नजिक हुनुपर्ने हो त्यो हुन सकेन ।

यिनै कारणले गर्दा काङ्ग्रेसले हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व ग¥यो, तर कम्युनिस्टहरूको मत बढ्दै गयो । लेखेर राखे हुन्छ कि सोभियत रुसमा कम्युनिस्ट व्यवस्था अन्त्य नभएको भए र चीनले व्यावहारिक रूपमा साम्यवादी विचार त्यागेर अगाडि नबढेको भए या आफ्नो प्रचार अभियान नछोडेको भए नेपालमा कम्युनिस्ट झन्डा धेरै पहिला नै गाडिएको हुने थियो । पञ्चायतले थुनेका काङ्ग्रेसका सन्तानहरू अहिले कम्युनिस्टले थुनेका अवस्थामा हुन्थे वा मारिन्थे । यो सम्भाव्यतालाई गणेशमान र गिरिजाप्रसादले राम्रोसँग बुझे । उनीहरू प्रचार अभियानमा ज्यानको बाजी लगाएर घुमे । गणेशमानको उमरे ज्यादा भएकाले गिरिजाप्रसादजस्तो सङ्गठनमा जान नसकेका हुन्, यसर्थ गिरिजाको सङ्गठन क्रियाकलाप अब्बल रह्यो ।

०४६ सालको आन्दोलनपछि केही नेताले गिरिजाप्रसादले सङ्गठन गरेको फल आफू खान भनेर पनि होला, उनको मानमर्दन गर्न खोजे । त्यसमा गणेशमान पनि झुक्किए । अर्थात्, ‘जनप्रिय’ र ‘त्यागी एवम् जनप्रिय’को फ्युजन हुन पाएन । गिरिजाको जनप्रिय पक्षको एकथरीबाट कदर भएन । अर्कोतर्फ ०४६ सालको जनआन्दोलनपछि काठमाडांैको खुला मञ्चमा गिरिजाले लोकतन्त्रको जित काङ्ग्रेस, कम्युनिस्ट र पञ्च सबैको हो भन्दा हुटिङ भयो, तर त्यही कारण काङ्ग्रेसले चुनावमा बहुमत ल्यायो ।

पहाडमा पञ्चको बलियो आधार थियो । तैपनि कम्युनिस्टहरूका व्यवहारले उनीहरू डराएका थिए, पञ्चहरू काङ्ग्रेससँग पनि आश्वस्त थिएनन् । तर, गिरिजाको कारणले पहाडमा पञ्चहरू काङ्ग्रेसमा प्रवेश गर्ने लहरै चल्यो । पहाडमा पनि काङ्ग्रेस अपेक्षा गरिएभन्दा बलियो भयो । गिरिजाप्रसादकै कारण लोकतन्त्र पुनस्र्थापनापछिको पहिलो चुनावमा काङ्ग्रेसले बहुमत प्राप्त गर्‍यो । तर, अर्काथरीलाई गिरिजाको मिहिनेत र चलाखीको फल उनले जनतामा जाने अर्थमा पाउनुपर्छ भन्ने लागेन । त्यही कारणले काङ्ग्रेसमा विग्रह भइरह्यो ।

अर्कोतर्फ पञ्चहरूलाई सुरक्षा र उचित सम्मान मात्र दिए हुनेमा गिरिजाप्रसादले ठूला पद पनि दिए । त्यसले पुराना काङ्ग्रेसहरूमा वितृष्णा जाग्यो । काङ्ग्रेस उचित रूपमा फस्टाउन सकेन । गिरिजाप्रसादको जस्तो जनाधार नभएर पनि कृष्णप्रसादलाई गिरिजाप्रसादको विरोध गर्ने र पदको लोभ गर्ने चासो रहने अवस्थाको सिर्जना गरियो । तीन नेताहरू तीनैतिर भएपछि बिग्रेको घरलाई अरूले बिगार्न जरुरी नपर्नेजस्तै भयो । गुट–उपगुटको राजनीति अझ व्यवस्थित रूपमा अगाडि बढ्यो ।

आफ्नो एकछत्र राज भएपछि काङ्ग्रेसमा गिरिजाप्रसादलाई अरू बढी योग्य भए पनि आफ्नै छोरीलाई उपप्रधानमन्त्री बनाउँदै प्राधानमन्त्रीसम्म तुल्याउने इच्छा जाग्यो । सायद २–३ वर्ष बढी बाँचेका भए उनकी छोरी यो देशकी प्रधानमन्त्री हुने थिइन् । गिरिजाप्रसादमा आफू लोकप्रिय भएर पनि काङ्ग्रेसहरूले नै विरोध गरेकाले दलभित्रका विरोधीलाई हतोत्साहित गर्ने प्रवृत्ति पनि बढ्यो ।

देउवाले दललाई आफ्नो फाइदाका लागि ध्वस्तै बनाउने भए भन्ने चर्चा चुनावताकाबाटै चलेको हो । उनले आफ्नो पक्षकाहरू जति नै अलोकप्रिय भए पनि स्थानीय चुनावमा टिकट दिएर काङ्ग्रेसलाई घाटा पुर्‍याए भनिन्छ । यहाँसम्म कि भरतपुर उपमहानगरपालिकामा मेयरमा काङ्ग्रेस र उपमेयरमा माओवादी भएको भए दुवै पद जित्ने र पोखरामा माओवादी मेयर र उपमेयरमा काङ्ग्रेस भएको भए जित्ने सम्भावना रहन सक्ने अनुमान भएकोमा देउवाले पहिला आफ्नो र पछि आरजुको प्रधानमन्त्रीका लागि प्रचण्डसँग घाटाको सम्झौता गरेका हुन् समेत भनिन्छ ।

गिरिजाका राजनीतिक चेला शेरबहादुर देउवालाई गिरिजाविरोधीहरू र दरबारियाहरूले समातेर प्रधानमन्त्रीका लागि उक्साए । उनी प्रधानमन्त्री बने, लोकतन्त्रलाई दरबारमा बुझाए, दल फोरे । काङ्ग्रेसको साख अरू गिर्‍यो । गिरिजाप्रसादले प्रयास गरेर दललाई एक बनाए । देउवाले गिरिजाप्रसादको उत्तराधिकार त पाए तर उनले पहिला आफूलाई दल फोर्न सहयोग नगर्ने रामचन्द्रजस्ता केहीलाई बदला लिने र जसरी पनि आफैँ दलको सभापति र प्रधानमन्त्री बन्ने इच्छा राखे । उनी सभापति बन्नाको प्रमुख कारण पैसाको खर्च, उनको साथमा दल फोर्नेहरूलाई मूलधारको बन्ने चाहना, गिरिजाप्रादको कामको शैलीबाट असन्तुष्ट भएर नै गिरिजाप्रसाद जीवित छँदैमा विकल्प खोज्नेहरूको सहयोग प्रमुख रहे । कतै गोप्य रूपमा उनी र उनका सहयोगीहरूले जातीय कुरा उठाएर पनि भोट पाए भन्ने पनि गरिन्छ । अब सुनिन्छ, शेरबहादुर देउवा आफ्नी पत्नी अरजु देउवालाई प्रधानमन्त्री बनाउने एकसूत्रीय लक्ष्यमा छन् । उनले रामचन्द्र पौडेल वा विमलेन्द्र निधिजस्तालाई प्रधानमन्त्री बनाएको भए देउवा राजनेता बन्ने र दलको रक्षक तथा दललाई बलियो बनाउने हस्ती हुन पुग्दथे । तर, आरजुलाई प्रधानमन्त्री बनाउनका लागि उनले आफू नै प्रधानमन्त्री बनेमा अरूको उचाइ नबढ्ने सोच राखेर आफैं प्रधानमन्त्री बनेका हुन् भनेको पनि सुनिन्छ ।

देउवाले दललाई आफ्नो फाइदाका लागि ध्वस्तै बनाउने भए भन्ने चर्चा चुनावताकाबाटै चलेको हो । उनले आफ्नो पक्षकाहरू जति नै अलोकप्रिय भए पनि स्थानीय चुनावमा टिकट दिएर काङ्ग्रेसलाई घाटा पुर्‍याए भनिन्छ । यहाँसम्म कि भरतपुर उपमहानगरपालिकामा मेयरमा काङ्ग्रेस र उपमेयरमा माओवादी भएको भए दुवै पद जित्ने र पोखरामा माओवादी मेयर र उपमेयरमा काङ्ग्रेस भएको भए जित्ने सम्भावना रहन सक्ने अनुमान भएकोमा देउवाले पहिला आफ्नो र पछि आरजुको प्रधानमन्त्रीका लागि प्रचण्डसँग घाटाको सम्झौता गरेका हुन् समेत भनिन्छ । यद्यपि प्रचण्ड र उनको वागडोर नै कति बलियो छ र हुनेछ भन्ने सवाल छँदै छ ।

व्यक्तिगत महत्वाकाङ्क्षा, आन्तरिक राजनीतिक ईष्र्या, पदका लागि गुट, जनतामा भिज्नेभन्दा माथि–माथिको राजनीति गर्ने सस्तो र सजिलो सोच, ग्रासरुटका कार्यकर्ताको बेवास्ताको कारण काङ्ग्रेस खुम्चिँदै छ । यो प्रवृत्तिको उल्टो दिशा लिन सक्नु नै काङ्ग्रेसको सुखद भविष्य हुन सक्छ । साथै, काङ्ग्रेसको विचार कालजयी भएकाले यो दल अर्को काङ्ग्रेसको जस्तै विचार लिने दल सशक्त नभएसम्म काङ्ग्रेसको आवश्यकता देख्नेहरूको सङ्ख्या उल्लेख्य रहनेछ र यो सत्य पनि हो । काङ्ग्रेसको विचार विश्वको सर्वस्वीकृत विचार हो र यो विचार नेपालका कुनै पनि अरू ठूला दलले लिन सकेका छैनन् । लोकतन्त्र नै यस्तो परिपाटी हो जहाँ विगतका गल्तीबाट सिकेर राम्रो बाटो अवलम्बन गर्न सकिन्छ । यो चुरोलाई काङ्ग्रेसजनले बिर्सेकै छन् जस्तो लाग्दैन । जब यो पक्ष काङ्ग्रेसमा प्रबल हुन्छ, त्यतिबेला काङ्ग्रेस ०१५ सालको हैसियतमा जान सक्छ र एमालेजस्ता दलहरूलाई पनि अझ पूर्ण लोकतान्त्रिक बनाउन सक्दछ ।

आज केपी ओली देशमा लोकतन्त्रको सुरक्षाका लागि काङ्ग्रेसजस्तो बलियो लोकतान्त्रिक विकल्प आवश्यक छ भनिरहेका छन् । त्यो अर्तीलाई समेत बिर्सेर काङ्ग्रेस नेता पदको पछाडि लागेका छन् । एमालेलाई लोकतान्त्रिक बनाउन काङ्ग्रेसको पनि भूमिका भएकोमा अब त्यो भन्ने हैसियत काङ्ग्रेस नेताहरूमा रहने पनि हो कि होइन । किनभने काङ्ग्रेसकै संसर्गबाट एमाले ०४६ सालको संविधानअन्तर्गतको संसदीय व्यवस्थाको आलोचनात्मक समर्थकबाट लोकतन्त्रको संरक्षक हुँ भन्न सक्ने हैसियतमा पुगेको छ । तर, जनतामा काङ्ग्रेसको अविजित विचार अर्थात् समानता, विकास र शान्तिका लागि लोकतन्त्र र ती सबैको समुच्चय भनेको समाजवाद भन्ने भावना र व्यवहार जनतामा लग्न सक्ने हो भने काङ्ग्रेस हैसियतको अर्थमा अविजित हुन सक्दछ किनभने लोकतन्त्रमा एउटै दलले सधैँ जित्नु लोकतन्त्रका लागि शुभ होइन । यो हुनका लागि एकता र इमानदारी मात्र होइन क्रियाशीलता पनि चाहिन्छ । विगतका गल्तीबाट सिकेर काङ्ग्रेसमा गगन थापा, प्रकाशमान, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, सीतादेवी यादव, चित्रलेखा यादव, आरजु राणा देउवा, मीन विश्वकर्मा, बद्री पाण्डे, विश्वप्रकाश आदि जस्ता नेताहरूले गुट बिर्सेर एक भई अगाडि बढेमा लोकतन्त्रको पक्षमा रहेका निराशजनलाई जगाएर काङ्ग्रेसको नेतृत्वमा सबै दलहरूको साथ लिएर जनताको हित गर्न सक्दछन् । अन्यथा गुटको राजनीतिले दल पतन भएपछि आफू जितिँदैन र आफ्नो हैसियत पनि रहँदैन, लोकतन्त्र र समाजवादको कुरा त टाढाको विषय हुन्छ ।

[email protected]