एउटा प्रश्न लिम्वू कमरेडलाई-प्रदीप कन्दङ्वा लिम्वू

एउटा प्रश्न लिम्वू कमरेडलाई-प्रदीप कन्दङ्वा लिम्वू


इतिहासको अत्यन्तै सँगीनमोडबाट देश गुज्रिरहेको बेला देशको राजतितिक घटनक्रमहरुले निर्घात चुटिएको नेपाली जनताको मन थिलथिलो यसै भएकै छ त्यसमा नेताहरु बेला-कुबेला नुनचुक छर्किरहन्छन् । पीडाले चित्कार स्वयम् त्रासदीमा डुबेको भान भइरहेको छ यस घडि । विशेष नेता भएकैले बेलाबखत तिनको दर्शन यहाँसमेत उति दुर्लभ रहेन तर यो सुखकर पनि भन्न नमिल्ने । वाककला अर्थात् चतुर्‍यांइको भरमा ठूलो नेता भइने देश रहेछ हाम्रो । देश विकास र जनहितका कुरा तपसिलमा सधैं परिरहन्छ । यसरी तिनका गुलियो कुरा सुन्न, चाहेर नचाहेर अकस्मात या जम्काभेटले परिरहन्छ । उग्र कम्युनिस्ट राजनीतिमा मेरो घर चौबिसै घन्टा चुर्लुम्म डुबेको हुन्थ्यो तिनताक, तर प्रकारान्तरले ममा त्यो छायाँको संघनता उति बाक्लो पर्न पाएन । बाउसँगको दुरत्व यसको प्रमख कारण रहनगयो । तथापि त्यताको भेगमा बाम चेतनाले प्रत्येकलाई चिमोटिरहेको हुन्थ्यो । यसरी किशोरावस्थादेखि युवाकाल हुँदै चारदशक आसपासको जीवनकालमा देशका सो-कल्ड (तथाकथित) राष्ट्रिय राजनीतिक पार्टीहरुसँग मेरो साइनो नामको कुनै रेखा कोरिएन । बितेका जीवनकालको आत्ममूल्याँकन गर्दा मैले गरेको सबसे राम्रो काम यहीं रहेछ जसतो आज लागीरहेको छ । झोले हुनबाट बालबाल बचेको यथार्थ यसरी उजागर गर्न चाहान्छु म । वास्तवमा अर्काले सिर्जना गरेको घरमा प्रवेश गरेपछि झोले हुनुत सबको नियती बन्छनै, मालिक हुनुत केवल मृगतृष्णा न हो । नत्र यो साठि वर्षको राजनीतिक दौरानमा कोही जनजातिको छोरा काँग्रेस पार्टीको सभापति किन हुन सकेन ? एमाले पार्टीमा किन हुन सकेन ? माओवादीमा किन हुन सकेन ? कमरेड बादलहरुको हविगत किन यस्तो भयो ? हामी झोले हुनको बलियो प्रमाण योभन्दा बढी म जुटाउन सक्दिनँ ।

गोर्खाली राजा पृथ्वीनारायण शाहको बादशाह अर्थात् सम्राट बन्ने उग्र सनकले निम्त्याएको परिणामस्वरुप देशले निर्वाध २५० वर्ष एकात्मक शासन ब्यवस्था खेप्नुपर्‍यो । फलतः मुलक असफलताको रसातालतिर दिनरात भास्सिरह्यो सफल भयो त केवल सामन्तवाद अर्थात् रुपान्तरमा बाहुनवाद । निष्कर्षमा जनताले एकात्मक राज्य ब्यवस्थालाई बर्जित गरे र संघात्मक राज्य व्यवस्थालाई अनुमोदन गरे तर अझै पनि सामन्त अर्थात् बाहनुवादीहरु बर्बराइरहेकाछन् । देश टुक्रिन्छ भन्छन्, देश भत्किन्छ भन्छन्, देश डुब्छ भन्छन् । साँठ-गाँठ गरिरहेकाछन् । षड्यन्त्र गरिरहेका छन् । शान्ति प्रक्रिया भन्छन्, हतियार व्यवस्थापन भन्छन् । सेना समायोजन भन्छन् । राष्ट्रिय सहमति भन्छन् । थोरै ढाडेहरु मिलेर धेरै आदिबासी जनजति मुसाहरुलाई पञ्जाका पञ्जा हानिरहेका छन् । खेलाइरहेका छन् । क्या गजवको नाटक मञ्चन् भइरहेको छ ! यो नाटकमा आदिवासी, दलित, उत्पीडित, महिला र मधेसेहरुको मुद्धा कुहिरोेको काग जसतो हुन थालिसकेको छ । बाक्लो कालो र घना बादल मडारिरहेको छ । षड्यन्त्र र खुराफातको गन्ध चारैतिर ब्याप्त छ । आदिवासी जनजातिहरु दलित उत्पीडितहरु, महिला मधेसेहरु हारगुहार गरिरहेका छन् मुर्छित प्राय धरातालबाट ।

यो देशमा संघीयताको मुद्धालाई सबसे पहिला उठाएको लिम्वुवानले हो, कोइ सक ? माओवादीले यो मुद्धालाई बोक्यो, आफ्नो बनायो, आन्दोलन उत्कर्षमा पर्‍यायो, पछार्‍यो, फेरि बोक्यो । हामी यो तमासा मुक पशुलेझैं हेरिरहेका छौं । के हो हाम्रो वजुद, हाम्रो औकात, हाम्रो हैसियत ? माओवादीले हात झिक्यो कि हामी सखाप याने हामी खरानी ? माओवादीमा लाग्ने हाम्रा साथीहरु भन्छन् हामीसँग भावना मात्र छ, । इच्छा मात्र छ । चाहाना मात्र छ । शक्ति छैन जो हामीले भने जस्तो लिम्वुवान प्राप्तिको निम्ति हामीलाइ चाहिन्छ । मुलतः यसकारणले माओवादीले जे गर्छ हामी त्यसैमा सीमित रहनुपर्छ । ५२ सालमा माओवादीले जनयुद्ध शुरु गर्दा माओवादीसँग के थियो ? आजको शक्ति थियो ? आजको जनाधार थियो ? अवश्य थिएन । केवल विचार र भावनाको बलमा माओवादीले युद्ध जस्तो जोखिमपूर्ण खेल शुरु गरेको थियो । त्यतिखेर माओवादीले माखो मार्ला, मा-कसम कसैलाई लागेको थिएन । आज लिम्वुवानमा उठेको आवाजलाई यसरी नै जिस्क्याइँदै छ । बडो गमदारी तालमा साथीहरु भन्छन्, साथीहरु हो भावनाले मात्र चाहानाले मात्र लिम्वुवान आउँदैन, त्यसको निम्ति शक्ति चाहिन्छ जो हामीसँग छैन माओवादीसँग छ । भोलि माओवादीले हात झिक्यो भने के गर्ने ? लिम्वू कमरेडहरुले सोच्नुभएको छ ? यदि सोच्नुभएको छैन भने सोच्नुहोस् र माओवादीको काँधमा चढेर जुन सपना देखिरहनुभएको छ त्यो सपना आफ्नो खुट्टामा उभिएर आफै देख्ने प्रयत्न गर्नुहोस् । भोलि त्यसको हो जसले आज सपना देख्छ र देख्छ केवल आफ्नो बलबुतामा, आफ्नो बाहुबलमा । अरुको भरोशामा, विश्वासमा सपना देख्नु किमार्थ ठीक परोइन ।

जातीय मुक्तिको निम्ति बलिदान गर्ने सबसे स्वर्णिम समय हाम्रो दैलो ठेलोमा आइपुगेको छ तर हामी घोर निन्द्रामा सुतिरहेकाछौं । जस्तै सुवास नेम्वाङ लिम्वू एमाले छोडेर सभामुख पद त्यागेर जातीय मुक्तिको निम्ति लिम्वूवान आएभने के हुन्छ – पदम सुन्दर लावती लिम्वू आएभने, तुलसी सुब्बा लिम्वूहरु आएभने ? अहिलेका साना ठूला लिम्वूवान सम्बद्ध पार्टी सँगठनहरु उनीहरुको पछि लाग्लान् ? बुदिजीवी, श्रमजीवी, मजदुर किसान ब्यापारी विद्यार्थी एकै ठाउँमा आउलान ? यो यक्ष प्रश्न मैले एकजना लिम्वू कमरेडलाइ सोधें, उनले भने मलाई लिम्वुवानी जनताको विश्वास छैन । म चैं लाग्दिँन हाउ । अरे लिम्वुवानमा बसेर लिम्वुवानको राजनीति गरेर लिम्वुवानी जनतालाई अविश्वास गर्ने ? आफैले टेकेको धरातालमाथि शंका गर्ने ? जनता जस्तो शाश्वत शक्तिलाई अविश्वास गरेर ओ कमरेड, अर्को कुन त्यस्तो शक्ति छ जसको बलमा तपाईं राजनीति गरिरहनुभएको छ ? मधेसे नेताहरुलाई जनताले कसरी साथ दिए ? दृष्टान्त सामुन्ने छ तर हामीसँग आँट छैन, विश्वास छैन, एकता छैन, आफ्नो स्टेटस् गुम्ने भय छ । शक्तिबाट बिमुख भइन्छ भन्ने डर छ । तर जुन शक्ति र जुन स्टेटसको भ्रम खिपिएको छ त्यो पानी-फोका भन्दा किमार्थ फरक छैन ।

आज सुवास नेम्वाङ लिम्वू मुलुककै गरिमामय पदमा छन् हामी गौरव गरिरहेकाछौं तर यो सेरेमोनियल हो कसलाई थाहा छैन । भोलि अर्को कुनै सुवास नेम्वाङ लिम्वू जस्तो प्रभावशाली नेता आओस्, उसको पनि यसै गरी दाँत झारिन्छ र सेरेमोनियल बनाइन्छ । यदि यो कुरा झुठो हो भने सुवास नेम्वाङ लिम्वूलाई एमालेको तर्फबाट प्रधान मन्त्रीको निम्ति अगाडि सारियोस् अथवा भावी एमाले अध्यक्षको रुपमा हेरियोस् । यो सम्भव छ ? छैन, बरु एमाले पार्टी विलीन हुनसक्छ बरु यो देश भारतमा सहसा गाभिन सक्छ तर एमाले लगायतका कुनै पनि पार्टीले यो काम गर्नेछैन, यो मेरो बझाइ कम र दावी ज्यादा हो । कमरेड बादलको बढ्दो प्रभावलाई माओवादी पार्टीमा कसरी दमन गरियो, यो दृष्टान्त कसको अगाडि छिपेको छ ? भ्रष्टाचारको स्वर्ण युगमा पदमसुन्दर लावती लिम्वूले भ्रष्टाचारको मुद्धा खेप्नपर्‍यो । के यो देशमा पदमसुन्दर लावती लिम्वूले भन्दा अगाडि कुनै मन्त्रीले भ्रष्टाचार गरेको थिएन ? एउटा लिम्वूको छोराको राजनीतिक प्रभाव बढ्यो, त्यसलाई नष्ट गर्न उसलाई भ्रष्टाचार जस्तो कलङकको टीका लगाइयो । यसरी एउटा मट्याँग्राले दुइटा चरा एकसाथ झरेको छ । एउटा पदमसुन्दर लावती लिम्वूको राजनीतिक चुरीफुरीको दोहोलो काढियो, अर्को लिम्वू पनि भ्रष्टाचारी हुन्छ भन्ने नजीर स्थापित गरियो । यस्ता थुप्रै दुखान्त दृष्टान्तहरु हाम्रो सामुन्ने छरपस्ट छन् तथापि झोला हाम्रो काँधबाट हटेको छैन । निष्कर्षमा हामीले सधैं अर्काको घरको रखवारी गर्‍यौं तर आफ्नो घर भत्केको हामीले कदाचित देखेनौं । कहिलेसम्म ? यो यक्ष प्रश्न पुनः एक पटक लिम्वू कमरेडलाई सोधिराखेर म यो लेखबाट बिदा चाहान्छु, आसेवारो ।