पुनर्मतदानको मुखैमा रेणुको उजुरीमाथि कारवाही !

पुनर्मतदानको मुखैमा रेणुको उजुरीमाथि कारवाही !


सर्वोच्च अदालतबाट छिनोफाटो भएपछि भरतपुर–१९ को मतगणना विवाद टुङ्गिएको छ । भमनपा १९ मा २० साउन शुक्रबार पुनर्मतादानसमेत हुँदैछ । तर, पुनर्मतदानको मुखैमा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीका छोरालाई साइबर कानुन लगाएर प्रहरीले नियन्त्रणमा लिइदिँदा अर्को बखेडा उत्पन्न भएको छ ।

गत जेठ १४ गते राति (माओवादी केन्द्र)का प्रतिनिधिले मतपत्र च्यातेपछि ज्ञवालीका छोरा नीरव ज्ञवालीले ‘आफू हार्ने भएपछि मतपत्र च्यात्न लगाएर रेणुले नाङ्गो नाच प्रदर्शन गरेको’ आशयमा फेसबुक स्ट्याटस लेखेको कुरा त्यतिबेलै चर्चामा आएको थियो । उक्त स्ट्याटसले विवादको रूप लिने देखिएपछि लेखेको दुई दिनमै त्यसलाई नीरवले डिलिट गरेका थिए । तर, फेसबुकमा आफूलाई गालीगलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले कानुन व्यवसायी समेत रहेका नीरवविरुद्ध चितवन प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसरी जेठमा दिइएको उजुरीका आधारमा यता पुनर्मतदानकै मुखमा प्रहरीले नीरवलाई कारमाडौंबाट बुधबार नियन्त्रणमा लिएपछि नेकपा (एमाले)ले पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको छ । बुधबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको स्थायी कमिटी बैठकले तत्काल नीरवलाई रिहाइ गर्न माग गरेको एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताएका छन् ।

माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रहेकी रेणु दाहाललाई दुई महिनाअघि सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेको विषयलाई लिएर चुनावको मुखमा नीरवलाई पक्राउ गर्नु निर्वाचन नै प्रभावित पार्ने षड्यन्त्र भएको एमालेले ठहर गरेको छ ।