पक्राउ परेका नीरव किन भए आश्चर्यचकित ?

पक्राउ परेका नीरव किन भए आश्चर्यचकित ?


मतपत्र च्यातिएर मतगणना नै भाँडिएको ताजा अवस्थामा आक्रोशमा आई भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाललाई लक्षित गर्दै ‘नकचरी आइमाई, सडकमा नांगै हिँडे पनि हुने’ भन्दै फेसबुकमा स्ट्याटस लेख्ने नीरव ज्ञवालीले पुनर्मतदानअघि मतपत्र च्यात्न संलग्न व्यक्तिलाई नै साथ लिएर रेणुले मत माग्न जानु आश्चर्यको विषय भन्दै विज्ञप्ति जारी गरेका छन् । फेसबुकमा आपत्तिजनक स्ट्याटस लेखेलगत्तै डिलिट गरेका एमाले उम्मेदवार देवी ज्ञवालीका पुत्र नीरवले गत असार ३ मा आवेगमा आफूले गरेको गल्तीप्रति माफीसमेत मागेका थिए । तर, घटनाको २ महिनाभन्दा ज्यादा अवधि बितेपछि उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । नीरवको पछिल्लो विज्ञप्तिको पूर्ण व्यहोरा यस्तो छ :

म नीरव ज्ञवालीले मिति २०७४-०२-१५ गते दिउँसो अन्दाजी १ः०० बजेको समयमा भरतपुर महानगरपालिकाको मेयरको प्रतिष्पर्धी उम्मेदवार रेणु दाहालले ‘एमालेका साथीहरुले मतपत्र च्यात्नुभयो’ भन्ने समेत व्यहोरा भएको न्युज लिंकमा कमेन्ट गरी आक्रोशपूर्ण अभिव्यक्ति दिएको ठिक साँचो हो ।
उक्त घटना तत्काल उत्पन्न भएको परिस्थितिको क्षणिक आवेश भएको र आवेश प्रकट गर्दा शब्दको चयनमा त्रुटि भएको र सोबाट उम्मेदवार रेणु दाहाललाई आघात परेकोप्रति दुःखी छु । उपरोक्तअनुसार लेख्नु गलत थियो भन्ने लागेर छोटो समयमा नै उक्त पोष्ट हटाइसकेको थिएँ र केही समयमा माफि पनि मागेको थिएँ ।

उक्त घटना तत्कालको परिस्थितिले उत्पन्न गरेको आवेगका कारणले म आफैबाट भएको व्यक्तिगत त्रुटि रहेको र सोको जिम्मेवारी पनि म स्वयंले लिनुपर्ने भएकाले यसलाई मेरो पिता र परिवारले दिएको संस्कारसँग जोडेर नहेरिदिनुहुन सबैमा अनुरोध छ ।

उक्त घटनापश्चात म समेतलाई लक्षित गरी मेरो फेसबुक इनबक्स, माओवादी केन्द«समर्थित फेसबुक पेजहरुमा र फोनमार्फत ज्यान मार्ने धम्की दिने, म ड्रग्सको कुलतमा परी सुधारगृह बस्दा समेत नसुध्रिएको भनि कपोकल्पित व्यहोरामार्फत मेरो चरित्र हत्या गर्ने कार्यसमेत भएकोप्रति दुःखी छु ।

वदनियतपूर्वक मतपत्र च्यातेर, त्यसको दोष उल्टो एमालेप्रति लगाइएको अवस्थामा, आवेगात्मक प्रतिकारस्वरुप शब्दचयनमा भएको गल्तीलाई आफै महसुस गरी तुरुन्तै हटाइएकोमा, उक्त पोस्टलाई नारीमाथिको अपमानको उपमा दिएर, माओवादीनिकट र विपक्षीहरुबाट नै उक्त त्रुटिपूर्ण शब्दहरुलार्इ रेणु दाहालको फोटोसँगै राखेर अतिरन्जित तरिकाबाट भाइरल बनाउने काम भएको छ, यसबाट राजनैतिक लाभका लागि ती शब्दहरुको व्यापार गर्ने उद्देश्य देखिन्छ।

एकातिर उक्त घटनाको उपरोक्त पाटो छ अर्कातिर प्रतिष्पर्धी उम्मेदवार रेणु दाहालले जानाजान सञ्चारमाध्यममा सोझै झुट बोलेको व्यहोरा प्रमाणित भइसकेको अवस्थामा पनि एकपटक पनि माफी माग्ने चेष्टा नगर्नु, उहाँको दलका कार्यकर्ताले भरतपुर महानगरको वडा नं १९ मा मतपत्र च्यात्न संलग्न व्यक्ति समेतलाई साथ लिएर मत माग्न जानु आश्चर्यको विषय भएको छ, सो समेतलाई विचार गरिदिनुहुन सबैमा अनुरोध छ । – नीरव ज्ञवाली