जिसस प्रमुखमा शान्तिरमण वाग्ले निर्वाचित

जिसस प्रमुखमा शान्तिरमण वाग्ले निर्वाचित


जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका शान्तिरमण वाग्ले निर्वाचित भएका छन् । सर्वसम्वतरुपमा नेतृत्व चयनमा राजनितीक दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको हो ।  बिहीबार भएको निर्वाचनमा समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कुल २० मतमध्ये १२ मत ल्याएका हुन् ।

वाग्ले नेपाली कांग्रेसका व्यास नगर सभापती हुन् । त्यस्तै नेकपा एमालेको तर्फबाट समन्वय समितिको अध्यक्षका उम्मेदवार कुष्णराज ढकालले ६ मत प्राप्त गरे । त्यस्तै माओवादी केन्द्रको तर्फबाट समितिको प्रमुखको उम्मेदवार बनेका गिरबहादुर वसेलले २ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसको महिला संघ तनहुँकी अध्यक्ष रहेकी पवित्रा देवी पौडेल निर्वाचित भएकी छन् । पौडेलले १२ मत ल्याएकी हुन् । एमालेबाट उम्मेदवार बनेकी बसुन्धरा घर्तिले ७ मत ल्याइन् । माओवादी केन्द्रको भने उपाध्यक्षको लागि उमेदवारी थिएन ।

त्यस्तै सदस्यहरुमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। समन्वयको सदस्यमा निलबहादुर थापा, अर्जुनबहादुर अधिकारी, गलबहादुर गुरुङ, त्यस्तै महिला सदस्यमा दिब्यश्वरी विक, धनीमाया थापा, सरस्वती गौतम निर्वाचित भए ।

त्यस्तै दलित सदस्यमा केशबहादुर सुनार विजयी भए । तनहुँको जिल्ला समन्वय समिति ९ सदस्यीय पदमा सबै नेपाली कांग्रेसका उमेदवार विजयी भएका हुन् ।