महँगो युनिभर्सिटीमा बेलायत तेश्रो

महँगो युनिभर्सिटीमा बेलायत तेश्रो


लण्डन । यस वर्ष युनिभर्सिटी पढ्नकालागि छनोट भएका विद्यार्थीहरुले अर्को वर्षदेखि विश्वको विश्वविद्यालायहरुका तुलनामा विश्वभरिमा तेश्रो महँगो फिस तिरेर पढ्नु पर्ने कुरा भर्खरै प्रकाशित एउटा प्रतिवेदनले जनाएको छ । अहिलेसम्मको वर्षायाममा हुने युनिभर्सिटीको भर्ना संख्या यस वर्ष हृवात्तै बढेर आएको छ किनभने अर्को सालबाट तीनगुणा बढी फिस अर्थात् प्रत्येक विद्यार्थीले एक वर्षको लागि नौ हजार पाउण्ड स्टर्लिङ तिर्नुपर्ने हुन्छ । इकोनोमिक कोअपरेशन एण्ड डिभलोपमेन्ट संस्थाले “एट अ ग्लान्स” नामक शीर्षकमा निकालेको प्रतिवेदनमा अहिले तिर्दै आएको फिस बढ्नु अघि नै हालको फिस विश्वमा कोरिया र संयुक्त राष्ट्र अमेरिकालाई छाडेर अरु राष्ट्रभन्दा महँगो रहेको तथ्य प्रतिवेदनले जनाएको छ । यस देशमा सन् २००८मा उच्च शिक्षाका लागि खर्च हुने रकम निजी क्षेत्रबाट दुई तिहाइ रकम जोगाड गरिएको थियो । त्यस खर्चको मुख्य भागचाँहि ट्युशन फिसबाट प्राप्त भएको थियो । निजी क्षेत्रबाट ट्युशनफिस उठाउने विश्वका राष्ट्रहरु क्रमशः जापान, कोरिया र चिलीपछि बेलायत चौंथो स्थानमा पर्दछ । यस प्रतिवेदनका लेखक एन्ड्रु स्क्लेचर, जसले ४२वटा राष्ट्रहरुका शैक्षिक तथ्यांक अध्ययन गरेका थिए, उनले प्राप्त गरेका जानकारी एकदमै सटिक रहेको कुरा जाहेर गरेका छन् । तर, यसै सन्दर्भमा उनले बेलायत सरकारले युनिभर्सिटीमा पढ्नेहरुका लागि सहयोग ऋण उपलब्ध गराएर मद्दत गर्दै आएको छ भने कोरिया र अमेरिकाका विद्यार्थीहरुलाई यो सुविधा नरहेको कुरा जाहेर गरेका छन् । साथसाथै उनले महँगो फिसको कारण विद्यार्थीहरु पढाइबाट वञ्चित हुन बेर नलाग्ने कुरा जाहेर गरेर सतर्क गरेका छन् । श्रोत – नेट, सुमल, मेस ।