यूरोप भ्रमणको रमाइला अनुभूति…(भाग १३)

यूरोप भ्रमणको रमाइला अनुभूति…(भाग १३)


पृथ्वी साँगुरिँदै विश्वगाउँमा परिवर्तन भइरहेको आभास विशेषगरी बौद्धिक वर्गका व्यक्तित्वहरु र देशविदेश भ्रमण गरेर अनुभव बटुलेका व्यक्तित्वहरुलाई भइरहेको छ, भने अर्कोतिर यस पृथ्वीमा अहिलेपनि विश्वका कुनाकाप्चामा विश्वबारे अनभिज्ञ रहेका करौंडौ मानिसहरु छन् । ४५ वर्ष पहिले मेरो गाउँ, चित्रे, पर्वतबाट पोखराहुँदै बुवासँग भारतितर सपरिवार जाँदाको पोखराबजार र अहिलेको पोखरालाई तुलना गरेर सम्झँदा परिवर्तनको ठूलो आभास हुन्छ । तर, सभ्यता र विकासको कुरालाई परिवर्तनको कसौटीमा तुलना गरेर हेर्दा सयौं वर्ष पहिलेका भेनिस शहर र अहिलेको भेनिस शहरमा भने बढी फरक भएको अनुभूति मलाई भएन । विशेषगरी भौतिक संरचनाहरु, हजारौंंवर्ष पहिले निर्माण गरेका यथावत नै देखेको थिएँ । म सोच्दै थिएँ, देश विकास हुनको पछाडि भौगोलिक तथा प्राकृतिक देनको अहम् भूमिका रहन्छ । ठुलठुला नदीहरु र समुन्द्रका श्रोत भएका राष्ट्रहरु नै विश्वमा छिटो विकास भएको पाइन्छ । हामी खुशी र आनन्दको अनुभूति गर्दै यो भ्रमणलाई अविष्मरणीय बनाउने पक्षमा थियौं । मेरी बुरियाको प्रत्येक खुशी र आनन्दमा आफ्नो बच्चाहरुका धडकन सामेल रहन्छ । आज हामी २ जनामात्र स्वच्छन्द भ्रमणमा थियौं, तर, यो खुशी बाँड्नकालागि बच्चाहरु साथमा थिएनन् । लञ्च लिएपछि हामी मुरानो द्वीप, भेनिसबाट एकघण्टा पर अवस्थित, तर्फ जानलाई फास्टबोट समात्यौं । वास्तवमा भेनिस ग्लासको (सीसाको) विभिन्न खिलौना, सजाएर राखिने सामग्रीहरु निर्माणका लागि पनि प्रसिद्ध रहेछ, मुरानोमा ग्लास फ्याक्टरी र मुकुण्डोहरु बनाउछन् रे भन्ने सुनेर समय रहेकोले २, ३ घण्टाकालागि त्यसतर्फ लाग्यौं । सेन्ट मार्को फेरि स्टेशनमात्र नभई टाढा टाढाबाट जहाजहरु आवतजावत गर्ने बन्दरगाह रहेछ । यहाँबाट हजारौंवर्ष पहिलेदेखि यहाँका व्यापारीहरु देशविदेशको यात्रा गरेर व्यापार गर्दथे ।
भेनिस शहर हेर्नकालागि भ्रमणमा आउने धेरैजसो युगलजोडीहरु मधुमासका लागि, धनढ्याहरु ऐश गर्नका लागि र बौद्धिक क्षेत्रका व्यक्तित्वहरु अनुसन्धान, अध्ययन र केही बुझ्ने जिज्ञासा लिएर आएका हुँदा रहेछन् । मेरो रायमा भेनिस शहर जीवनकालमा एकचोटी हेर्नैपर्ने शहरमध्येमा पर्दछ । हामी यतिबेला मुरानो जाने ४१ नम्बरको फास्टबोट पक्रेर जाँदैछौं । विशाल समुन्द्रको छालहरुमाथि स्पीडबोट गतिमान भएर गन्तव्यतिर प्रत्येक घाट भन्नाले फेरीको स्टेशनहरु हुँदै बढ्दै गइरहेको छ । सेन्ट मार्कोसम्म गाइडले ल्याएर छाडेपछि हामी भ्रमण टोलीका साथी आ-आफै घुमिरहेका थियौं । साथीहरु तितरबितर भएका थिए । मुरानो जाने विचारले हामी मुरानोतर्फ आयौं तर, बुरिया अलि अत्तिएकी थिईन्, “यदि हामी ढिलोभए साथीहरुबाट छुट्छौं नी बुरा” भन्दै थिईन् । मैले हाँस्दै भने, “जीवनसाथीको दरो हात हुँदाहुँदै किन फिकर गर्छ्यौं बुरिया” । मेरो डायलग सुनेर हाँस्दै, “ढिलो हुन्छ कि भनेर हो क्या” भनिन् । बुरियाको कुरा सुनेर मनमनै हाँसे, तर, मलाई समयको ख्याल थियो । यदि हामी पाँचबजे भित्र भेनिस फक्यौं भने सातबजेतिर होटल आई पुग्ने छौं भन्ने हेक्का थियो । भेनिसको पियाजा रोमाबाट होटेल फर्केर आउने बस नम्बर थाहा थियो । हामी समुन्द्रको बीचबीचमा ससाना द्वीपहरु हुँदै ठाउँठाउँमा रोक्दै यस्तै एकघण्टाभित्र मुरानो पुग्यौं । सानो द्वीपसमूह मिलेर बनेको मुरानोमा केहीबेर घुम्यौं । हाम्रो भ्रमणटोलीका केही साथीहरुलाई त्यहाँ भेट्यौं । निकै रमाइलो शान्त द्वीपमा केही सीसाका कलात्मक सजाउने वस्तुहरु बेच्ने पसलभित्र पस्यौं । मुरानोमा नै उत्पादन गरिएका अति राम्रा राम्रा सजाउने सामग्रीहरु देखेर केही न केही किनेर लगौं भनेर हामी दुबैजना पसलमा समानहरु हेर्न थाल्यौं अन्तमा दुइटा सेतो सीसाको पानी हाँसका जोडा मन परेर किन्यौं । त्यसपछि हामी ४२ नम्बर बोट चढेर भेनिसको सेन्ट मार्कोमा आयौं । यतिबेला ५ बजिरहेको थियो । घाम कोल्टेपरेर क्षितिजमा समुन्द्रभित्र विलीन हुन गइरहेको थियो । हामी फेरि सेन्ट मार्कोबाट पियाजा रोमासम्म जानकोलागि अर्को बोटमा चढेर ग्राण्ड क्यानल हुँदै गयौं । बिहान गाइडले यस क्यानलको दुबैपटि्टका भव्य महलहरुमा संसारभरिका धनी व्यक्तिहरु आएर ऐश आराम गरेर बस्ने ठाउँ हो भनेकी थिईन् । ग्राण्ड क्यानलबाट पियाजा रोमातर्फ जाँदा ठाउँ ठाउँमा “ट्याक्सी” लेखेर राखेका धेरै डुँगाहरु देखेँ । वास्तवमा भेनिसका ट्याक्सीहरु डुँगाहरु हुन् । ट्याक्सीको अर्थ ट्याक्स वा पैसा तिरेर चढ्ने बुझाउँछ । क्यानलभित्र सयौं किसिम किसिमका डुँगा र आधुनिक बोटहरु ओहोरदोहोर गरेका देख्यौं । साँझको डुब्दै गरेको घामको किरणमा एकप्रकारको मनमोहक वातावरणभित्र हामी आनन्दसँग नौका विहार गर्दै पियाजा रोमा पुग्यौं जहाँबाट हामी बस चढेर होटलमा पुग्नु थियो । हाम्रो सबै साथीहरु भेलाहुँदै थिए । कतिपए साथीहरु गईसकेका रहेछन् । पियाजा रोमा पुगेपछि हामी ग्राण्डक्यानलमाथि रहेको पुलमाथि गयौं । एकातिर ग्राण्ड क्यानल अर्कोतिर विशाल समुन्दका छालहरु उर्लिरहेका थिए । हामी दुबैजना ग्राण्डक्यानलमाथिको पुलमाथि गएर भेनिसको अन्तिम फोटो लियौं । त्यसपछि अन्तिम पटक भेनिस शहरलाई बाई बाई गरेर नम्बर ४ बसमा चढेर हामी मुख्य भूभागमा रहेको भेनेजीया होटलमा आयौं ।
हिजो नै बुरियासँग बेलुकिको खाना भारतिय अथवा चिनियाँ रेस्टुरेन्टमा भात खाने सल्लाह गरेका थियौं । यात्राभरि होटेलमा पश्चिमेली खानाको परिकारहरु खाँदै आएकाले एसियाली खानाको तलतल लागिरहेको थियो । हामी गाडीबाट झरेर सीधै होटल नजिकैको टाउन सेन्टरतर्फ खानाको लागि गयौं । निकैबेर घुमेपछि हामी एउटा चिनियाँ रेस्टुरेन्टमा पुग्यौं । त्यहाँ हामीले हामीसँगै भ्रमणमा सिँगापुरबाट आएकी चिनियाँ युवती यूनिसलाई भेट्यौं । हामीले भात खान मन लागेर आएको भन्दा उनले आफू पनि भात खाना मन लागेर नै आएकी भनिन् । हामी तिनैजनाले त्यहाँ कालीकाई फान् अर्थात् कुखुराको तरकारी, सुप र भात खायौं । निकै दिनपछि भात खाएकोमा निकै सन्तुष्टी लाग्यो । त्यसपछि हामी केहीबेर डुल्यौं । मार्चको अन्तिमतिर मौसम त्यति जाडो नभए पनि गतिलो न्यानो लुगाको अवश्यकता अझ महशुस भइरहेको थियो । हाम्रो भोलिको यात्रा भेनिस शहरबाट इटालीको उत्तरी सिमानामा अवस्थित डोलामाइट पर्वत हुँदै अस्ट्रिया भएर जर्मनीको म्युनिखमा जाने थियो । हामी यस्तै दशबजेतिर आएर समानहरु मिलायौं अनि सुत्यौं । भोलि सबेरै होटलमा नाश्ता गरेर ८ बजेतिर यात्रा गर्ने कुरा गाइड समीले भनेकी थिईन्। धेरै राष्ट्रबाट भ्रमणमा आएका भ्रमणका साथीहरु अहिले राम्रोसँग झ्याम्मिएका थिए । मानौ हामी धेरै अघिदेखि एकअर्कालाई चिन्दछौं, केहीदिनको यात्रामा हामी एकैपरिवारका सदस्य जस्तै भइसकेका थियौं । भ्रमण टोलीका कुनैसाथी छुटे सबैलाई चासो हुन्थ्यो । तर, यो यात्रा क्षणिक केही दिनका लागि मात्र थियो । जीवन एउटा भेट्नु र छुट्ने पर्याय हो । हामी मिलन हुन्छौं र मीठो सम्झना बोकेर बिछोड हुन्छौं ।
प्रत्येक रातपछि अर्कोदिनको उदय हुन्छ । यो अनुभूतिको यथार्थ निरन्तर छ । आज भ्रमणको ९औ दिन थियो । सबैजना नाश्ता खाएर सधैंझै तयार भएर रिसेप्शनमा आइसकेका थियौं । आ-आफ्ना कोठाका चाबीहरु बुझाएर कोचभित्र पस्यौं । मौसम सफा र आनन्दमयी थियो । ड्राइभरले गाडी स्टार्ट गरिसकेको थियो । २ जना ड्राइभरहरुले पालैपालो यो १२दिने भ्रमणमा गाडी चलाउँदै आएका थिए । सबैजना कोचभित्र पसिसकेपछि समीले … हाय गाइज गुडमर्निङ एभरीबाडी… भन्दै हामीलाई आजदिनभरिको यात्राको बारेमा भनिन् । निकै फरासिली सानी कद्की समीले यात्राभरि हामीलाई आफ्नोतर्फबाट ठाउँठाउँका सूचनाहरु बटुल्दै, भन्दै खुशी पार्ने कोशिस गरेकी थिईन्। आजको गाडीको यात्रा दिनभरिको थियो । हामी बेलुकी म्युनिख पुगेपछि केवल २ घण्टाजतिको म्युनिख शहर घुम्ने समय पाउँछ भनेर समीले भनेकी थिईन्, अर्थात् हामीले जर्मनीको प्रसिद्ध म्युनिख शहर राम्रोसँग घुम्न नपाउने थाहा लाग्यो । त्यसदिन बेलुकि जर्मनीको ख्यातिप्राप्त बियर र डिनरको बन्दोबस्त छ भनेर पूर्वसूचना गाइडले दिएकी थिईन् । हाम्रो कोच अहिले भेनेजिया होटलबाट निस्केर शहरीक्षेत्र नाघेर इटालीको उत्तरतर्फ गुड्दै अस्ट्रियातर्फ बढी रहेको थियो । यो क्षेत्रलाई नाघेर जाँदा माउण्ट डोलामाइट छिचोलेर जानुपर्दो रहेछ । उत्तरी इटाली, स्वीट्जरल्याण्ड र अस्ट्रियाको अल्पाइन् इलाकामा पनि हामीले वरिपरिका बनजंगल हिउँले ढाकेका देख्यौं । मार्चको अन्तिमतिर पनि हिउँका रासहरु देखिन्थे । माउन्ट डोलामाइटको फेदीको इलाकामा स्किइङ र हिउँमा खेलिने खेलहरुका लागि ट्रेकहरु बनाइएका देखेँ । यस क्षेत्रमा स्याउ र अङगुरको खेती राम्रो भएकोले गर्दा यहाँबाट यी वस्तुहरु बाहिर निर्यात गर्दा रहेछन् साथै बनजंगलका काठहरु प्रशस्त मात्रमा उत्पादन हुने भएकोले काठ पनि आमदानीको राम्रो श्रोत रहेको मलाई भान भइरहेको थियो । हामी पहाडी क्षेत्रको बाटो हुँदै अस्टि्रयातर्फ जाँदा बाटो साँघुरो तथा नागबेली बाटोहरु गइरहेका थियौं । ती बाटोहरु अरु यूरोपेली सडकहरुभन्दा साँघुरो भए तापनि मरम्मत सम्भारले गर्दा बाटोहरु राम्रा र चिल्ला थिए । नेपालको जस्तो फन्फन्ती घुमेर यात्रा गर्नुपर्ने जाखिमपूर्ण यात्राभने थिएन । अलि अप्ठ्यारो ठाउँहरुमा सुरुङहरु निर्माण गरेर यातयात सुविधायुक्त बनाइएको पाएँ । नेपालमा जस्तै यी पहाडी क्षेत्रहरुमा माथि हिउँले ढाकेका डाँडाहरु, त्यसपछि हरियो जंगल अनि अलि तल व्यवस्थित राम्रो गाउँहरु देखे । रेलमार्ग, सडकमार्ग र बिजुलीको राम्रो व्यवस्था यी सिमानाका गाउँहरुमापनि व्यवस्थित देखेँ । एकघण्टापछि हामी इटाली र अस्ट्रियालाई जोडने माउण्ट डोलोमाइटको फेदीमा पुग्यौं । डोलोमाइटको अर्थ इटाली भाषामा गुलाबी चुनढुंगा भन्दोरहेछ अर्थात् यो पहाड गुलाबी चुनढुंगाबाट बनेको पहाड रहेछ । यस पहाडलाई हिउँले ढाकेको देखे, तर, कताकतै हिउँले नछोपेका ठाउँहरुमा घामको किरणमा गुलाबी रंगको चट्टान देखेँ । हाम्रो गाडी कोटिना क्षेत्र पार भएर डोलामाइटको फेदीमा केवल एउटा होटल भएको ठाउँमा रोकियो । केहीबेर आराम गर्न र दिशापिशाबका लागि त्यहाँ गाडी रोकेको थियो । टाढा टाढा कुनै गाउँवस्ती थिएन, तर, त्यहाँको वातावरण रमाइलो तिनतिर पहाडले घेरिएको फेदीमा समथल भूमि र छेउमा निकै ठूलो हिमताल थियो । यतिबेला तालमा हिउँ जमेको थियो समीलाई सोध्दा त्यस ठाउँको नाम बताउन सकिनन्, तर, ड्राइभरचाँहि बेलाबेलामा यहीबाटो भएर गाडी चलाएर गएकाले तालको बोरमा थाहा रहेछ । गृष्मकालमा यो तालको हिउँ पग्लिएर एकदमै मनमोहक निलोतालमा परिवर्तन हुन्छ भनेका थिए । सिँगोताल जमेको फिल्महरुमा देखेको थिएँ, तर, प्रत्यक्ष आज मैले देखेको थिएँ । हामीले तालको वरिपरि त्यो क्षणिक विश्रामको बेलामा धेरै फोटोहरु खिंच्यौं । मलाई अहिलेसम्म भ्रमण गरेका ठाउँहरु देखेर नौलो अनुभव भइरहेको थियो । म तन्नेरी भएको बेलामा गाउँका युवायुवतीहरुले गाएका गीतको बोल याद आइरहेको थियो “गाईको चरण हो…माया… कुन देशको जन्म हो कहाँको मरन” साँच्चैनै हामी कहाँ थियौं कहाँ घुमिरहेका थियौं । सपनामा पनि नचिताएको ठाउँहरुमा हामी पतिपत्नी दुबै नौलो अनुभूतिको सँगालो गर्दै खु्शी मनाइरहेका थियौं । हवस् त फेरि अर्को एपिसोडमा …… धन्यवाद