भरतपुरमा रेणुको अग्रता

भरतपुरमा रेणुको अग्रता


भरतपुर महानगरपालिकाको मतगणनाको शुरुवातदेखि नै पछाडि पर्नुभएकी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहालले गणनाको अन्त्यतिर पुग्दा अग्रता लिनुभएको छ । मतगणनाका क्रममा वडा नं ६ मा झिनो मतले अग्रता लिएपनि पुनः पछाडि पर्नुभएकी दाहाल महानगरको अन्तिममा गणना गरिएको वडा नं २० मा आएर अग्रता लिनुभएको हो । २८ वडाको गणना सम्पन्न गरेर २० नं वडाको दुई हजार मतगणना गर्दा दाहाल ५७ मतले अगाडी हुनुहुन्छ ।

रेणुले हालसम्म ४२ हजार ५८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले० का देवीप्रसाद ज्ञवालीले ४२ हजार ५३२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिनाले छ हजार ७५७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४६ हजार ५८३ र एमालेकी उम्मेदवार दिव्य शर्मा आचार्यले ३९ हजार १६० मत प्राप्त गर्नुभएको छ । राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले सात हजार १५३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं २० मा नेपाली काँग्रेसका वडा अध्यक्ष र सदस्यले अग्रता कायम गरेका छन् । वडा नं २० मा तीन हजार ३०२ मत खसेको छ । महानगरको कुल मतदाता संख्या एकलाख ५० हजार २७४ जना रहेको छ । आज रातिसम्म गणना सम्पन्न हुने अनुमान गरिएको छ । रासस