शैक्षिक गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता

शैक्षिक गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता


धादिङ जिल्लाको पहिलो माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले गजुरीस्थित आदर्श माविको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारका पक्षमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो विद्यालयमा अध्ययन गरी विभिन्न पेसा व्यवसायमा आबद्ध भई हाल काठमाडौँमा बसोवास गरिरहेका पूर्व विद्यार्थीहरुको शनिबार गजुरीमा आयोजित बृहत भेलाका वक्ताहरुले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँहरुले विद्यालयको कक्षा कोठाको व्यवस्थापन एवम् आधुनिकीकरण, पुस्तकालय एवं विज्ञान प्रयोगशालाको सुदृढीकरण, कम्प्युटर प्रयोगशालाको सबलीकरण र खेलकुद मैदानलाई व्यवस्थित गर्न संगठित भई सहयोग प्रदान गर्न तयार रहेको बताउनुभयो ।

सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्रप्रसाद पाण्डेले आफूले पढेको र पढाएको आदर्श माविको शैक्षिक गुणस्तर सुधारका पक्षमा तन, मन र धनले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

विद्यालयका संस्थापक प्रधानाध्यापक एवम् पूर्वमन्त्री ठाकुरप्रसाद शर्माले धादिङ जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा रहेको आदर्श माविले देशको मन्त्रीदेखि सचिव हुँदै राष्ट्रिय व्यक्तित्वहरु उत्पादन गर्न सफल भएकोमा गर्व गर्नुभयो ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले भौतिक पूर्वाधार विकास एवं शैक्षिक गुणस्तरको सुधारका पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन क्रियाशील हुने धारणा व्यक्त गर्नुभयो ।

पूर्व सभासद् शालिकराम जमरकट्टेलले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफ्नो पार्टी सदैव क्रियाशील रहेको बताउनुभयो ।

विसं २०३६ देखि प्रवेशिका परीक्षामा सहभागी भएको सो विद्यालयले आगामी पुसमा विद्यालय स्थापनाको स्वर्ण वर्ष मनाउँदैछ । हालसम्म सो विद्यालयबाट दुई हजारभन्दा बढीले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसकेको विद्यालय प्रशासनले जनाएको छ ।

आदर्श माविका पूर्व विद्यार्थी राजेन्द्रप्रसाद पाण्डे, सुरेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर क्रमशः देशको स्थानीय विकास, अर्थ र शिक्षामन्त्री भइसक्नुभएको छ ।


रासस