गाईघाट-कदमाहा सडकखण्डको जलजले पुल भत्कियो

गाईघाट-कदमाहा सडकखण्डको जलजले पुल भत्कियो


सप्तरीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत कदमाहा सडकखण्डदेखि उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने त्रियुगा नगरपालिका–६ स्थित जलजले खोलाको पक्की पुल भत्किएको छ ।

जलजले इलाका प्रहरी कार्यालयका अनुसार विगतदेखि नै कमजोर रहेको सो पुलको पिलर यसपटकको वर्षाका कारण आएको बाढीले पुलको पूर्वपट्टिको मुख्य पिलर भासिएर जोखिमपूर्ण बनेका कारण तीन दिनदेखि पुलबाट यातायात पूर्णरुपमा बन्द भएको छ ।

पुल जोखिमपूर्ण भएपछि अहिले पुलको अर्को विकल्प नभइन्जेल यस क्षेत्रमा यातायात सञ्चालन गर्न उदयपुर सिमेन्ट उद्योग भएर जंगलको बाटोबाट यातायात सञ्चालन गर्ने व्यवस्था गरिएको प्रहरी नायब निरीक्षक जगदीश पासवानले बताउनुभयो ।

यता विगत चार वर्षदेखि नै जलजले पुल जोखिमपूर्ण रहँदै आएको र आफूहरुले पटकपटक मर्मत गर्न सडक डिभिजन कार्यालय ध्यानाकर्षण गराए पनि यसतर्फ चासो नदिएको स्थानीय राजेश खड्काले गुनासो गर्नुभयो ।

सडक डिभिजन कार्यालयले ध्यान नदिएका कारण अहिले इलाका प्रहरी कार्यालय र स्थानीयवासीको सक्रियतामा ढुंगा संकलन गरेर पुलको पिलरको भागमा पर्खाल लगाउने काम भइरहेको प्रहरी नायब निरीक्षक पासवानले जानकारी दिर्नुभयो । विसं २०६४ मा निर्माण भएको सो पुलको लम्बाइ ३८ मिटरे चौडाइ नौ मिटर छ । रासस