प्रतिभा पुरस्कार आचार्य र मुकारुङलाई

प्रतिभा पुरस्कार आचार्य र मुकारुङलाई


फोक्स्टोन, यूके । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको बैठक ४ सेप्टेम्बरको दिन सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रतिभा सम्मान र पुरस्कारसम्वन्धी रहेको प्रतिष्ठानका सदस्य विश्वकाजी राईले जानकारी दिएकाथिए । नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा विशेष योगदान दिँदै आइरहेका व्यक्ति व्यक्तित्वलाई उक्त संस्थाले पुरस्कार र सम्मान दिँदै आइरहेको छ । संस्थाको उद्देश्यअनुसार प्रतिष्ठानका पदाधिकारीहरुले नेपाली साहित्य, संगीत र कलालाई महत्वपूर्ण योगदान दिँदै आएका स्रष्टाहरुको व्यक्तिगत विवरण पेश गरेका थिए । उनीहरुले नेपाली साहित्य, संगीत र कलालाई दिएको योगदानमाथि ४ घण्टा लामो छलफल गरी भजन सिरोमणि भक्तराज आचार्यलाई प्रतिभा सम्मान थैली रु २०,००१ सहित ताम्रपत्रले प्रतिभा सम्मान गर्ने र नेपाली साहित्यको चर्चित कवि एवम् शसक्त साहित्यिक हस्ताक्षर श्रवण मुकारुङ्गलाई रु १,००,००१ नगद पुरस्कार र प्रमाण प्रत्रसहित यस वर्षको प्रतिभा पुरस्कार दिने घोषणा गरेको छ ।

बेलायतमा नेपालीहरुको जनघनत्व दिनानुदिन बढिरेहेको कारणले एकेडेमीको परिकल्पना गरी सन् २००७ सालमा प्रवासी नेपाली साहित्य समाज प्रभात र नेपाली कला साहित्य तथा संगीत मञ्चको संयुक्त बैठक बसी नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको जन्म भएको हो । प्रतिष्ठान हुनुभन्दा अगाडिदेखि नै प्रभात सम्मान र पुरस्कार दिँदै आइरहेको थियो । २००५ बाट प्रभात पुरस्कार र सम्मान दिन शुरु भएको हो । २००५ को प्रभात पुरस्कार गायिका तथा संचारकर्मी सुजन वाला राईलाई र संचारकर्मी किशोर गुरुङ्गलाई प्रभात सम्मान दिएको थियो । २००६ को प्रभात पुरस्कार साहित्यकार शशी लुमुम्बूलाई र गायक नोर्देन तेन्जिङ भुटियालाई प्रभात सम्मान दिइएको थियो । २००७ को प्रभात पुरस्कार साहित्यकार तथा संचारकर्मी रमेश पौड्याललाई र साहित्यकार रक्ष राईलाई प्रभात सम्मान दिएका थिए । प्रतिष्ठानको जन्म भएपछि पनि यसलाई निरन्तरता दिँदै आइरहेको छ । यसै गरेर २००८ को प्रतिभा सम्मान सहित्यकार ईश्वर मानन्धरलाई र साहित्यकार तथा पत्रकार नविन विभासलाई प्रतिभा पुरस्कार दिइएको थियो । २००९ को प्रतिभा सम्मान नेपाली संगीतको ज्युँदो इतिहास संगीतज्ञ अम्वर गुरुङ्गलाई र गायक कुबेर राईलाई प्रतिभा पुरस्कार दिइएको थियो । २०१० को प्रतिभा सम्मान साहित्यकार जी.वी लुगुनलाई र प्रतिभा पुरस्कार कवि तथा गीतकार उपेन्द्र सुब्बालाई दिइएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रक्ष राईले सम्मान थैली र पुरस्कार राशी बढाउँदै लैजाने प्रतिष्ठानको कार्ययोजना रहेको बताए । उनले अगाडि भने, -“कुनै पनि स्रष्टालाई दिएको सम्मान र पुरस्कार अबको समयमा नाम मात्रको दिनु हुँदैन, किनभने साहित्य संगीत र कला क्षेत्रमा लागेका स्रष्टाहरुको आर्थिक पक्षलाई पनि ध्यान दिन नितान्त आवश्यक रहेको छ । विशेष गरेर साहित्यकारहरुको आर्थिक अवस्था हाम्रो देशमा निकै कमजोर रहेकाले स्रष्टाहरुको आर्थिक पक्षलाई केही टेवा पुग्न जरुरी रहेकोले सकेसम्म सम्मान थैली र पुरस्कार राशी वृद्धि गर्दै लैजाने छौं ।”
-काङमाङ नरेश, मेस, फोक्स्टन