अब ट्राफिक प्रहरीलाई दैनिक २०० भत्ता

अब ट्राफिक प्रहरीलाई दैनिक २०० भत्ता


सरकारले ट्राफिक प्रहरीलाई दैनिक रु २०० भत्ता दिने भएको छ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले ट्राफिक प्रहरीलाई दैनिक रु २०० विषेश भत्ता दिने प्रस्ताव गरिएको बताए । उनले प्रस्ताव अर्थ मन्त्रालय पठाइएको जानकारी दिँदै सो स्वीकृत हुनासाथ कार्यान्वयनमा आउने बताए । शर्मा गृहमन्त्री भएसँगै ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वापतको १५ प्रतिशत कमिसन कटौती गरिएको थियो ।

‘प्रहरीले जरिवानाको १५ प्रतिशत पाउनकै लागि कारवाही गर्ने गरेको आक्षेप लागेपछि सो रकम रकम कटौती गरिएको हो’ सोमबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै मन्त्री शर्माले भने, ‘त्यसको अलावा दैनिक २ सय रुपैयाँ विशेष भत्ता दिने प्रस्ताव गरिएको छ ।’ ट्राफिक ब्यवस्थापनका लागी ट्राफिक प्रहरीसँग थोरैमात्र अधिकार भएको शर्माले भने, ‘ट्राफिकलाई सडकमा बसेर सवारी साधन दायाँ–बायाँ पठाएर सहजिकरण गर्ने अधिकार मात्र छ ।’

उपत्यकाको ट्राफिक ब्यवस्थापनमा मुख्य समस्याको रुपमा संकेत बत्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्रि शर्माले प्रश्न गरे, ‘सड्कमा ट्राफिक लाईट छैन, लाईट कसले राख्ने ?’ ‘संकेत बत्ती राख्ने गृह मन्त्रालय वा ट्राफिक प्रहरीले हैन, यो समस्या बर्षौंदेखी कथाको रुपमा रहेको छ’ मन्त्री शर्माले भने, ‘ट्राफिक प्रहरीलाई बजेट र सामगी्र दिने हो भने तिन महिना भित्र संकेत बत्ति हाल्न सकिन्छ, हामी सक्छौं ।’

आफूले गृह मन्त्रालय सम्हालेपछि उपत्यकाको ट्राफिक ब्यवस्थापनको समस्या कसरी हल गर्ने भन्नेबारे काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखको नेतृत्वमा टिम बनाएर काम थालेको जानकारी गराउँदै मन्त्री शर्माले स्थायी रुपमा समस्याको हल गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।

बसको छुट्टै लेन :
सार्वजनि बसहरु समयमा तोकिएको स्थानमा पुग्नका लागी काठमाडौं उपत्यकामा छुट्टै लेनको ब्यवस्था गर्नुपर्ने मन्त्री शर्माले बताए । ‘यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्नका लागी आवश्यक पहल गर्नुपर्छ’ मन्त्री शर्माले भने, ‘त्यसका लागी सवैको सहयोग आवश्यक छ ।’

गृहमन्त्री शर्माले राजस्व आउने नाममा जत्तिपनि गाडीहरु आउन दिने अवस्थाका कारण ट्राफिक समस्या बढ्दै गएको उल्लेख गर्दै त्यस्तो ब्यवस्थालाई नियमन गर्नुपर्ने बताए ।  उपत्यकामा आवश्यक स्थानमा अस्थायी खालका क्रस ब्रिजहरु हालेर तत्कालिन समस्या समाधान गर्न सकिने उल्लेख गर्दै मन्त्रि शर्माले स्याटेलाईट सिटी बनाएर सुविधा विस्तार गर्नुपर्ने बताए ।