नेपाली सेनाको कल्याणकारी कोषबारे विभिन्न चर्चा चलिरहेका बेला नेपाली सेनाले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चारकर्मीबीच नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक तथा प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले विविध गतिविधि तथा कार्यक्रमबारे जानकारी गराउँदै सेनामा कल्याणकारी कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभयो । सोही अवसरमा सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी प्रदीपकुमार अधिकारीले कल्याणकारी कोषको आयस्रोत, कोषको वर्तमान आर्थिक अवस्था, कोषबाट हालसम्म सञ्चालित कल्याणकारी कार्यहरू, आर्थिक वर्ष ०७३-७४ मा कोषबाट सञ्चालन भएका कल्याणकारी कार्य र आ.व. ०७४-७५ मा कोषबाट सञ्चालन हुन लागेका कल्याणकारी कार्यबारे विस्तृत जानकारी दिनुभयो ।
‘बहुजन हिताय, बहुजन सुखाय’ आदर्श वाक्य रहेको सैनिक कल्याणकारी कोषबाट नेपाली सेनाले स्वास्थ्य सेवा, शिक्षा, आर्थिक राहत, बिमा, परिवार आवास र सीपमूलक व्यावसायिक तालिमजस्ता कल्याणकारी कार्य सञ्चालन गरी आएकोे उल्लेख गर्दै सो अवसरमा सैनिक ऐन २०६३ तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही कोष पारदर्शी ढङ्गले सञ्चालित रहँदै आएको दाबी गरियो ।
नेपाली सेना संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त करिब रु. १ करोड २४ लाखबाट ०३२ सालमा सैनिक कल्याणकारी कोषको स्थापना भएको थियो । कोष वृद्धि हुँदै ०७४ असार मसान्तसम्ममा ३४ अर्ब ५६ करोड १५ लाख पुगेको छ । बताइएअनुसार कोषअन्तर्गतका विभिन्न निकायमा ०७४ असार मसान्तसम्म गरिएको लगानी ४ अर्ब ९८ करोड ४४ लाख २२ हजार (लेखा परीक्षणअगावै) लाई समेत समावेश गर्दा ०७४ असार मसान्तसम्ममा कोषको कुल सम्पत्ति ३९ अर्ब ५५ करोड ५ लाख ७९ हजार रहेको छ ।
प्रतिक्रिया