भूमि सुधार गर्न चारवटा विधेयक संसदमा जाँदै

भूमि सुधार गर्न चारवटा विधेयक संसदमा जाँदै


भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले भूमि प्रशासनको क्षेत्रमा सुधार गर्न मन्त्रालयले छिट्टै चारवटा विधेयकलाई संसद्मा लैजाने बताएका छन् । उनले भूमि, नापी क्षेत्रमा के–कति काम भए भन्ने अभिलेख राख्न तथा देशभर भूमि क्षेत्रमा भएका कामका बारेमा जानकारी पाउन मन्त्रालय चाँडै अनलाइन प्रक्रियामा जान लागेको बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा मन्त्री दहितले भूमि, गुठी, नापीसम्बन्धी नीतिलाई मन्त्रिपरिषद् हुँदै डेढ महिनाभित्र ऐन निर्माणका लागि संसद्मा लैजाने बताएका हुन् । ‘भूमि प्रशासनमा हुने अनियमितता रोक्न र भूमिसम्बन्धी सम्पूर्ण अभिलेख राख्न यस्ता ऐनले महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने ।

मन्त्री दहितले तराई क्षेत्रका मुक्त कमलरीका लागि भदौ पहिलो हप्तादेखि परिचयपत्र वितरणको कामलाई अगाडि बढाउने जानकारी दिए । अर्को फरक प्रसंगमा मन्त्री दहितले प्रान्त र केन्द्रको निर्वाचन गराउने कुरामा सरकार गम्भीर रहेको बताउँदै प्रान्त र केन्द्रको निर्वाचन एकै चरणमा हुन नसक्ने उल्लेख गरे। ‘केही ठाउँमा अहिले पनि सीमाको समस्या कायम छ, सीमाको समस्या समाधान नगरेसम्म निर्वाचन हुन सक्दैन’ उनले भने । रासस