ओलीले भने ‘नेपालको झण्डावाला पानी जहाज कुदाएर देखाउँछौं’

ओलीले भने ‘नेपालको झण्डावाला पानी जहाज कुदाएर देखाउँछौं’


एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाममा पुगेर फेरी पानी जहाज चलाउने कुरा गरेका छन । इलामको एक कार्यक्रममा बोल्दै उनले भने, ‘हिन्द महासागर र प्रसान्त महासागरमा जसरी भएपनि नेपालको झण्डावाला पानी जहाज कुदाएर देखाइ छाड्छौँ ।’ मंगोलिया र स्विजरल्यान्ड जस्ता भुपरिवेष्ठित देशले प्रशान्त महासागरमा जहाज कुदाएको भन्दै उनले एमालेलेको नेतृत्वमानै त्यो काम पुरा हुने जिकिर गरे ।

इलाम सदरमुकाममा मंगलवारदेखि सुरुभएको प्रदेश नम्बर १ का निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नितिगत प्रतिस्पर्धा गर्न नसकेपछि विपक्षीले एमालेको एजेन्डाहरुप्रति गलत प्रचार आरोप लगाए । उनले भने,‘पहिले खिल्ली उडाउने पछि त्यसैलाई टिपेर आफ्नो एजेण्डा भन्नेहरु पनि छन् ।’

अन्य पार्टीहरुले एमालेसँग बैचारिक, नीतिगत एवं अन्य कार्यक्रममा प्रतिष्पर्धा गर्ने नसकेर भ्रमको साहारा लिइरहेको उनले आरोप लगाए । उनले एमालेको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सचेत गराउदै भने,‘तपाईहरुको विरुद्ध पनि विपक्षीले बदनाम गराउने उद्धेश्यले कुप्रचार गर्लान्, होस पुर्‍याएर काम गर्नुहोला ।’ अध्यक्ष ओलीले भने,‘काठमाडौँ महानगरले पहिलेनै गाडी किन्ने निर्णय गरेको थियो अहिले जनप्रतिनिधिसँग जोडेर कुप्रचार गर्न थालियो ।’

२५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा एमाले बरिष्ठ नेता झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, सचिव भीम आचार्य, पुनःनिर्माण प्राधिकरणको पूर्वप्रमुख शुशील ज्ञवाली र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडालगायतले स्थानीय तह सञ्चालन सम्बन्धित प्रशिक्षण दिने कार्यक्रम रहेको एमालले जनाएको छ ।

असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा प्रदेश नं २ मा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गर्दै ओलीले एमाले जनप्रतिनिधीले मात्र मधेशको साक्षरता दर र महिला हिसां अन्त्य गरी मुहार फेर्ने दाबी गरे । उनले भने,‘एमाले चेतनाको ज्योती लिएर आउने भएपछि विपक्षीहरु डराएर एमालेविरुद्ध कु–प्रचार गर्न थाले ।’ उनले भने,‘विपक्षीहरु एमालेलाई आउन दिन्न भन्छन् तर एमाले त्यहीँ छन् भन्ने तीनिहरुलाई थाहै छैन ।