– चन्द्रकान्त खनाल
रुपन्देहीका सुरक्षा निकाय प्रमुखहरूले छिटफुट घटनालाई विषयवस्तु बनाएर नआत्तिन सर्वसाधरणलाई आग्रह गरेका छन् । रुपन्देहीको सुरक्षा संयन्त्र प्रभावकारी भएको उल्लेख गर्दै उनीहरूले नागरिकको पुर्ण सहयोग पाए जस्तोसुकै अपराधीलाई पनि कानुनको दायराभित्र ल्याई सबैलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिने प्रतिबद्धता ब्यक्त गरे ।
तिलोत्तमा उद्योग वाणिज्य संघले उद्योगी–व्यवसायी र सुरक्षा निकायहरूसँग भलवारीमा आयोजना गरेको रुपन्देहीको शान्ति सुरक्षा विषयक अन्तरक्रियामा सहभागी सुरक्षा अधिकारीहरूले अपराधिक मनोवृत्तिका पात्रबारेका सुचना नलुकाई सुरक्षा निकायलाई उपलब्ध गराउन आग्रह पनि गरे ।
उनीहरूले एक कल फोनको भरमा आत्तिएर लाखौँ रकम दिने र आफ्नै छिमेकका साथीभाइ अपराधिक क्रियाकलापमा लाग्दा रमिते बन्ने प्रवृत्ति त्यागेर सुरक्षा निकायलाई सूचना उपलब्ध गराई सुशासनको वातावरण तयार गर्न सबै नागरीक एक ढिक्का हुनुर्पोमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवाली, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीराम पौडेलले रुपन्देहीमा सुरक्षा चुनौती भए पनि त्यसको सामना गर्दै नागरिकलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिन प्रहरी प्रशासन सक्षम भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले देवदहमा दुर्गा तिवारीको हत्यामा संलग्न मुख्य अपराधीलाई समात्न नसक्दा रुपन्देहीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेका बेला मणिग्राममा केही दिनअघि भएको घटनाले नागरिकलाई थप त्रसित बनाएको बताए । सुरक्षा व्यवस्था सुदृढ बनाउन स्थानीय तहका जनप्रतिनिधिहरू समेत प्रतिबद्ध भएकाले बिशेष योजनासहित काम गर्न प्रहरी प्रशासनलाई आग्रह गरे ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद शर्मा, पुर्वसदस्य नवराज श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थनगरका उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष दिपक गैरे, संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव माधवलाल देवकोटा, उद्योगी सुरज पङ्गेनी, भोजराज कडेल, चिरञ्जिवी बस्याललगायतले भारतीय सीमावर्ती बजारमा भइरहेको लागुऔषधको कारोवार र रुपन्देहीमा भइरहेको मोवाइल आतंकले उद्योगी व्यवसायीहरू निरुत्साहित भएको गुनासो गरेका थिए ।
प्रतिक्रिया