भाषागत त्रुटी भएको भन्दै माफी दिन आग्रह

भाषागत त्रुटी भएको भन्दै माफी दिन आग्रह


काठमाडौं । सरकार र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले मधेसका २२ जिल्ला नेपालबाट छुटि्टनसक्ने अभिव्यक्ति दिएर विवादमा फसेका रक्षामन्त्री शरदसिंह भण्डारीको बचाउ गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले रक्षामन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्ट पारिसकेको भन्दै भ्रम नफैलाउन सबैलाई अपील गरेको छ । सरकार राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा अडिग रहेको प्रष्ट पार्दै बैठकले भ्रममा नपर्न आग्रह गरेको हो । ँरक्षामन्त्रीले आफ्नो विचारका सन्दर्भलाई लिएर सार्वजनिक रुपमा र मन्त्रिपरिषदमा समेत आफनो स्थिति प्रष्ट पारिसकेको, राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति प्रतिवद्ध रहेको बताइसकेका छन् । बैठकपछि उपप्रधान एवं परराष्ट्रमन्त्री तथा सरकारका प्रवत्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने-मन्त्रिपरिषद्ले सरकारका तर्फबाट राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति सरकार दृढ रहेको र कुनै पनि भ्रममा नपर्न सबैलाई अपिल गरेको छ ।
बैठकमा रक्षामन्त्री शरदसिंह भण्डारीले आफू राष्ट्रिय एकताको पक्षमा रहेको स्पष्टीकारण दिएकाछन् । आफ्नो भनाइको अपब्याख्या भएको भन्दै रक्षामन्त्री भण्डारीले राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रतिवद्ध रहेको बताएकाछन् ।
रक्षामन्त्रीमाथि कारवाही हुन्छ त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गच्छदारले उनलाई माफी दिनु पर्ने बताए। उनले -सानोतिनो गल्ती भएको छ भने माफी दिनुपर्छ…भने । ठूला ठूला गल्ती गर्नेहरुले त माफी पाएको भन्दै उपप्रधानमन्त्री समेत रहेका गच्छदारले रक्षामन्त्रीको भनाइलाई अनावश्यक नउचाल्न आग्रहसमेत गरेकाछन् ।
रक्षामन्त्री भण्डारीले हालै एक कार्यक्रममा मधेसका २२ जिल्ला भावनात्मक रुपमा नजोडिए कुनै कानून र संविधानले नेपालबाट टुक्रिन नरोक्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएकाथिए । भण्डारीले बुधबार विज्ञप्ती जारी गरी राष्ट्र विखण्डनको कल्पनासमेत गर्न नसक्ने भन्दै आफ्नो भनाइ बङ्ग्याइएको दावी गरेकाथिए ।-देब, काठमाण्डौं,नेपाल