दशैंलाई के भन्ने र कसरी मान्ने अब ?

दशैंलाई के भन्ने र कसरी मान्ने अब ?


यो पहिलोपटक होइन, बाराम्बार सोँचिएको हो, तर त्यसलाई भने लेखिएन । लेख्ने आँट गरिएन, भन्छु । आँखा चिम्लिएर परेवाले आफूलाई बिरालोलगायत कसैले नदेखेको विश्वास गरे जस्तै रहेछ पनि भन्छु, मेरो आफ्नै सोँचदेखि भाग्ने मोह । यसै क्रममा, मैले बाराम्बार लेख्ने गरेको केही हरफहरु तर बाराम्बार लेख्न वाध्य हुन्छु …तपाइँको दुःख, अर्कोले सुझाइदिएपछि मात्र पीडादायी हुन्छ, तपाईँको गुण अरुले बताइदिएपछि मात्र महत्वको हुन्छ, तपाईँलाई अर्कोले हेरेपछि मात्र तपाईँ हुनुहुन्छ ।, हो, यसरी हामी समाजमा नितान्त व्यक्तिगत हुँदा हुँदै पनि अन्तरघुलित हुन्छौं । हामी यसरी जेलिएका छौं कि हाम्रो अस्तित्व उक्त जालबाहिर विलीन हुन्छ । र लेख्दैछु, दशैं पनि त्यस्तै रहेछ ।

अब यतिखेर, यस लेख पढ्नेले मेरो थर वा जाततिर पहिला ध्यान दिन्छन् र तिनबाट सजिलै आँकलन गर्ने गरिन्छ,..अब क्षेत्रीले लेख्ने नै भइहाल्यो नि,…यस्तै ।..दशैंको बारेमा लेख्नू वा भन्नू, अनि ढाक्नू वा छोप्नू, त्यो सबै क्षेत्रीबाहुनहरुको पक्ष हो, यस कारणले कि, तिनीहरु हिन्दू हुन्, अनि त्यो यस कारणले पनि कि, तिनीहरु शासकका पक्षपोषक हुन्, पक्षपोषक यस कारणले कि शासकहरु पनि हिन्दू हुन् । दशैं, नेपालीहरुको महान चाड, हिन्दूहरुको महान पर्व, आफूभन्दा माथिको हातबाट आशीर्वाद ग्रहण गर्ने पारम्परिक प्रसङ्ग, सबै परिवारहरु एकजुट भई रमाइलो गर्ने समय र यसबीच यो भन्नै पर्दछ -असत्यमाथि सत्यको विजय भएको दिन आदि सबै नै यसै प्रसङ्गलाई भनिन्छ । सोमध्ये नेपालीहरुको महान चाड भन्न नमिल्ने भनियो । गैरहिन्दूहरुबाट, त्यसलाई हिन्दू शासकहरुले जबर्जस्ती आफूहरुलाई वाध्यपूर्वक दशैं मनाउन लगाएको भनिएको छ, त्यो सम्पूर्ण रुपमा सत्य हो वा होइन भन्ने तथ्याङ्कउपर म जान्नँ, तर योचाहिँ पक्का नै हो कि, दशैं यस्तो पर्व भयो, जसका लागि लामो छुटि्ट अनि खर्चहरु पनि सरकारी तवरमा नियोजित गरियो । सोही पक्षको प्रभाव हुनसक्छ, दशैं शासकीय पक्षहरु हुँदै आम जनताहरुमा पनि आम रुपमा व्यापक रुपले चलनचल्तीमा आयो । एक मात्र हिन्दू देश भनेर जब नेपालको बारेमा भनाइयो, त्यो सार्वजनिक घोषणामा समाजमा कार्यान्वयन भएपछि हिन्दूहरुकै महान पर्वलाई नेपालकै महान पर्व भन्दा अत्योक्ति भएको मानिँदैन । सो सन्दर्भमा दशैं नेपालको राष्ट्रिय पर्व नै भयो । अब समय बदलिएको छ । नेपालमा जागरुकता प्रशस्तै आएको छ । आफ्नो अस्तित्वको रक्षार्थ मानिसहरु लागीपरिरहेका छन् । सबैलाई आफ्नोपन प्यारो भएको छ र त्यही क्रममा नेपालको सगोल अस्तित्व हराएको छ । साझा पन हराएको छ ।

यो पक्षमा म विवाद नगरी सर्सर्ती नै स्वीकार गर्दछु कि, दशैंलाई सम्पूर्ण नेपालीहरुको महान पर्व भन्न गाह्रो हुन्छ । भगवान गौतम बुद्धलाई त बौद्ध धर्मावलम्बीहरुको मात्र बनाइएको छ भने एउटा पर्वको के अर्थ रहृयो र ! नेपाल धर्मनिरपेक्ष मुलुक रहेन । नेपाल विभिन्न धर्म र जातिहरुको बसोबास भएको मुलुकमा एउटै धर्मको वा एक धर्मको आधारमा स्थापित पर्वलाई साझा पर्व भन्न मिल्दैन जस्तो लाग्दछ । अब विचारहरु लादेर मानिसहरुलाई एकाकार गराउन सकिँदैन । त्यसैले दशैं सबैको साझा चाड नहुन सक्ला तर यो स्थितिमा, नेपालको साझा पर्व अब कुन पर्वलाई बनाउलान् त ? यसरी साझा भन्ने भाव राख्नका लागि जनसंख्याको आधारमा, प्रचलित पक्षको आधारमा, सापेक्षताको आधारमा तथ्याङ्कलाई साथ लिनु जरुरी हुन्छ । नेपालको वास्तविक धार्मिक यथार्थ कस्तो छ त ? के नेपालमा हिन्दू धर्मावलम्बीहरुको जनसंख्याको परिमाणजनक अनुपातमा सानो छ त ? सरकारी, गैरसरकारी तथा विदेशी अनसन्धानकर्ताहरुको सोधमा लगभग समानता राख्ने पक्षहरु यस प्रकारका रहेछन्, केही तलमाथि हुन सक्दछन् तर समस्टीमा अहिलेको नेपालको वर्तमान अवस्थामा पनि हिन्दू धर्माअवलम्बीहरुको जनसंख्या नेपालको कूल जनसंख्याको ८०.६ प्रतिशत पर्ने रहेछ ।

क्षेत्री (२३.५ प्रतिशत) र ब्राहृमण (१२.५ प्रतिशत) गरी ३६ प्रतिशत क्षेत्रीबाहुनमा ९९ प्रतिशत हिन्दू छन् । मगरहरु नेपालको जनसंख्याको ७.१४ प्रतिशत छन् भने तीमध्ये २४.६० प्रतिशत हिन्दू र वाँकी बौद्धधर्मावलम्बीहरु छन् । ६.६ प्रतिशत कूल जनसंख्याको ओगट्ने थारु समुदायहरु ९९ प्रतिशत हिन्दू रहेका छन् । ५.४८ प्रतिशत जनसंख्या भएका नेवार जातिमा ८४.१३ प्रतिशत हिन्दू र वाँकी १५.३१ प्रतिशत वौद्ध धर्मीहरु छन् । २.३९ प्रतिशत कूल जनसंख्याको ओगट्ने गुरुङहरुमध्ये ६९.०३ प्रतिशत बौद्धधर्मावलम्बीहरु, २८.७५ प्रतिशत हिन्दूहरु र ०.६६ प्रतिशत क्रिश्चियनहरु रहेका छन् । त्यस्तै २.७९ प्रतिशत कूल जनसंख्याका राई(खोम्बु)हरुमध्ये ७०.८९ प्रतिशत किराँती र २५ प्रतिशत हिन्दू भएजस्तै राई (याक्खा)हरुमध्ये ८३.४ प्रतिशत किराँत र १४.१७ प्रतिशत हिन्दू छन् । केहीअगाडि अर्थात् २००३को आखिरीमा निकालिएको तथ्याङ्कमा नेपालका लिम्बूजातिहरु आफूलाई हिन्दू नमान्ने जनाइएको छ, र सोही सन्दर्भमै छुट्टै राज्य लिम्बुवानको लागि लागीपरेका छन् । त्यसैले, माथि देखाइएको तथ्यांकअनुसार तीन तिहाइ जनसंख्या हिन्दू रहेको देशका ज्यादा जनसंख्याहरुले मान्ने पर्व त्यसैले पनि राष्ट्रिय वा साझा पर्व बन्न सक्दछ । प्रश्न फेरि यहाँ त्यही नै आउँदछ -के त्यही कारण नै काफी छ त, दशैंलाई साझा वा राष्ट्रिय वा नेपालीहरुको महान पर्वको रुपमा चिनाउन ? पर्व मान्न तथा मनाउनका लागि व्यक्तिलगायत समाजमा आस्था चाहिन्छ, लगन चाहिन्छ अनि सम्वेदनशीलता चाहिन्छ । त्यो संख्याले मात्र तय गर्दैन, त्यसलाई कानूनले व्याख्या गर्दैन, न त समयले व्याख्याउँछ । समाजमा सोप्रति आस्था प्रगाढ हुन जरुरी मचाहिँ देख्दछु ।

मेरोमा दशैंको टीका थाप्न राई, मगर अनि गुरुङ थरीहरु हुन्थे केहीअघिसम्म अर्थात् हङकङ नछोडुन्जेलसम्म । हाम्रो सो पलमा जातीयताको कुरा अनि धर्मको प्रसङ्ग रहँदैनथ्यो । मलाई मानेर, र मेरो अनुभवलाई, शिक्षालाई शिरोधार गरेर ती मेरो हातबाट आशीष थाप्न आएका हुन् ती । धर्ममा खासगरी नेपाली औसत परिवारहरु त्यसरी संकीर्ण छैनन् । प्रजातान्त्रिक समाजमा वहुमतको कदर हुन्छ, त्यसलाई प्रजातान्त्रिकतामा विश्वास गर्नेहरुले स्वेच्छाले पछ्याउँदछन् । तथ्यांकको आधारमा परिमाणजनक रुपले ८० प्रतिशत हिन्दूहरु भएको तथ्याङ्क रहेको देशमा दशैं राष्ट्रिय पर्व हो भनेर भन्नु कन्जुस्याइँ गर्नु पर्दैन । तर मुख्य कुरा के हो भने, कुनै पनि पर्व तथा चाडहरुमा आस्थाको दह्रो आधार हुनुपर्दछ । आस्था राख्नेहरुका मनमा पर्व, स्वेच्छाले बास गरेको हुन्छ । ती, भगवान रामको दानव रावणमाथिको विजयलाई हर्षोल्लास वातावरणमा चरणवद्ध मनाउन सक्दछन्, जसबाट ती, अन्ततगोत्वा, सत्यको विजय हुन्छ भन्नेमा पूर्ण आस्थावान बन्ने जमर्कोमा लागेका मानिन सक्छन् । कोही, आफन्तजनहरु, परिवारभित्र र बाहिरका इष्टमित्रहरु, छरछिमेकहरुसँग सौहाद्रतापूर्ण परिवेशमा वर्षका केही दिन सदभावमा बिताउने समयको रुपमा दशैंलाई मान्न सक्छन् भने कोही आशीर्वादहरु बटुल्ने, वर्षभरिको हतारलाई कुनातिर थन्क्याउने रमाइलो समयको रुपमा मान्न सक्दछन् । यसका लागि कोही हिन्दू नै हुनुपर्दछ भन्ने होइन, मुख्य कुरा भनेको आस्था हो । मान्छे कति आस्थावान छ भन्ने मान्छेको शैलीले देखाउँदछ । आस्थावान मान्छेहरु सहृदयी हुन्छन्, त्यस्ता मानिसहरु समाजको जस्तोसुकै स्वरुपमा पनि आनन्दले बाँच्न सक्दछन् ।

विदेशी भएको डेढ दशक नाघिसकेको छ । बाबा क्षेत्री, आमा नेवार अनि श्रीमती गुरुङ भएको मेरो नजर यस्तो छ कि, सबै नै आफ्नै लाग्दछन्, नजिकका लाग्दछन् प्यारा लाग्दछन् तर अहिलेको परिवेशमा नेपाली समाजहरुमा विभिन्न जातिवादी, धर्मवादी आँखाहरुले भने सँधै मेरो थरअनुसार मेरो स्वरुपलाई देख्ने रहेछन् । विदेशमा हामी सबै एकै नेपाली हौं । यत्तिका समय यहाँ बिताइयो, अर्को हिसावमा हामीले आधा जीवन गुमाएका छौं यहाँ, तर अहिलेसम्म पनि स्थानीय समाजसँग समन्वय राख्न सकेका छैनौं र यहाँ बिस्तारै बिस्तारै साँगुरिँदै गएको नेपाली समाजमा पनि यही जातिवादी सोँचले गर्दा हामी बेग्लाबेग्लै भएका छौं ।

पशुअधिकारवादीहरुले आम समाजमा जनचेतनालाई जसरी सटिक किसिमले आम बनाउँदै लग्दैछन्, त्यसरी पनि बिस्तारै समाजहरुमा परापूर्वकालहरुबाट चलिआएका केही प्रथाहरु लोप हुनेछन्, त्यसमा धक नमानी भन्न सकिन्छ, खासगरी विजया दशमी, चैते दशैं आदिलगायतका उपलक्ष्यमा वलि दिने प्रथाहरु समयको प्रभावस्वरुप समाजबाट हराउँदै जानेछन् । बिस्तारै संसारका विभिन्न देशहरुजस्तै नेपालमा पनि वलिप्रथालाई गैरकानूनी बनाइने छ र त्यसको असरले विजया दशमीलगायतका परम्पराहरु खल्लो रुपमा मनाइनेछन् । एकातिर कानूनी अवधारणाले त्यस्तो अवस्थाको सिर्जना गरेको हुन्छ भने अर्कोतिर हिन्दूका पशुमाताको रुपमा रहेको गाई जसलाई नेपाली राष्ट्रिय पशुको रुपमा अद्यावधि मानिएको छ ले सार्वजनिक रुपमा समाजमा विद्वेष व्यापक मात्रामा फैलाउने छ । बितेका केही वर्षहरुभित्र राजधानीलगायतका अन्य शहरहरुमा क्रिश्चियन धर्मावलम्बीहरुका संख्या दिनप्रतिदिन गुणात्मक रुपमा बढिरहेको छ भने प्रजातान्त्रिकता अनि गणतन्त्रात्मकताको नयाँ-नयाँ व्यवस्था लिएको देशमा धार्मिक वहुलता तथा वैचारिक वहुलताको प्रचुरताले गर्दा हरेकलाई स्वेच्छाले धर्म रोज्न पाउने अधिकार संरक्षित गर्नेतर्फ मुलुक उदार पक्कै हुनेछ भने, गाईको मासु खाने र गाईलाई देबी मान्नेहरुबीच गम्भीर रुपमा विभाजित अमर्यादित सन्दर्भहरु सर्वत्र फैलिनेछन् । राष्ट्रिय जनावरको पगरी गाईबाट नहटाई सरकारलाई सुख्खै एकातिर छैन भने, आम नेपालीहरु खासगरी धर्मको आडमा परम्परावादी हुन त्यसैले पनि सक्दैनन्, अतः, दशैंको महत्व अनि प्रभाव, यसलाई मनाइने तौरतरिकामाथि निर्भर रहने पक्का छ ।

म त भन्छु, नेपालीहरुको महान चाड वा नेपालीहरुको साझा पर्व मान्दै दशैंलाई हिन्दूहरुको आधिकारिक परम्पराबाट मनाउने हो भने, दशैं नै अवश्यम्भावी रुपमा निरीह अनि मलिन प्रकारको चाड भएर रहने सम्भावना छ तर यदि यही दशैंलाई पारिवारिक वाषिर्क जमघट तथा ठूलाहरुबाट आशीर्वाद ग्रहण गर्ने र सानाहरुलाई आशीर्वाद दिने पर्वको रुपमा मनाउनेतर्फ सरकारीलगायत सामाजिक प्रयासहरु गरिन थाले यो पक्कै पनि चीरस्थायी हुने छ । यो दशैं नै हो, जसको मार खासगरी निम्नमध्यम वर्गीय नेपाली परिवारहरुमा बज्रपात जस्तै गरी पर्नेगरेको छ । लत वा गत छाड्न नसक्ने अनि विशेष पनि बन्न नसक्ने हालातमा रहने निम्नमध्यम वर्गीयहरुलाई दशैं सामाजिक रुपमा दशा नै भएको हुन्छ । हुन त संस्कृति परम्परागत भएकोले नै प्रवर्द्धनलायक भएका हुन्छन्, तर केही यस्ता परम्पराहरु हुन्छन् जो समयसापेक्ष हुन जरुरी हुन्छन् ।

हिन्दूहरुको महान पर्व दशैंलाई वर्तमान सन्दर्भमा जे र जस्तो भने तापनि यो नै यस्तो समय हो, जसमा सम्पूर्ण नेपालीहरु आफ्नो दैनिकीदेखि एक प्रकारले मस्त हुन्छन् । समयले नै विशेष किसिमको ‘अवसर’ खोजिरहेको हुने यो घडी दशैं त्यसैले निर्विकल्प भने हो । महत्वपूर्ण कुरा यसमा के हो भने, कसरी यो पर्वको ‘माहात्म्य’लाई अक्षेय राख्ने र सोही अनुपातमा महिमालाई चौतर्फी बनाउने भन्ने हो । त्यसैले यो महत्वपूर्ण पक्षमा साझा पर्व, राष्ट्रिय पर्व, हिन्दूहरुको महान पर्व, नेपाली महान चाड, राष्ट्रिय जनावर गाई, क्रिश्चियन धर्मावलम्बीहरुका संख्यामा बढोत्तरी, चर्चहरुका सञ्जाल मन्दिरहरुसँगसँगै, वल्रि्रथा, राम-सीता अनि रावणका गाथाहरु आदि जस्ता सहपक्षहरु घामजस्तो चहकिएर सँगसँगै अगाडि बढ्दै गइरहेका छन् । जटिलता पनि त्यसरी नै जेलिँदै गइरहेका छन् । लेखको मूल निचोड यही हो कि, समय रहँदै समस्याहरुको निदान हुन जरुरी छ । परम्परा तथा संस्कृतिका हिमायती बन्दै आजको संसारमा हामी नेपाली विस्तारै समयसापेक्ष भई परम्परागत बन्न सक्नेछौं, त्यसको थालनी प्रत्येक घरबाट हुन जरुरी छ । बारम्बार भन्दै गइरहेको एक वाक्य भने अन्त्यमा जोड्न बिर्सन्न -सँस्कृति र परम्पराबिना, व्यक्ति नागरिक हुँदैन, सामाजिक हुँदैन ।
-प्रकाश के.सी., वूड ग्रीन, लण्डनबाट