सुनौली र कोरला नाकासँग कालीगण्डकी कोरिडोर जोड्न आग्रह

सुनौली र कोरला नाकासँग कालीगण्डकी कोरिडोर जोड्न आग्रह


धौलागिरी, गण्डकी र लुम्बिनी अञ्चलअन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वलाई पश्चिमेलीको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रमा जन्मेर देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवम् सुरक्षा निकाय र व्यापार–व्यवसायमार्फत लामो समयदेखि देशको सेवामा योगदान पुर्‍याएका, पुर्‍याउँदै आएका विशिष्ट व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि र मञ्चका अध्यक्षले प्रमाणपत्रसहित सम्मान प्रकट गरेका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष एवम् युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसहित ४४ जनालाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश एवम् मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पश्चिमाञ्चल विकास मञ्चले नमुनायोग्य काम गरेको भन्दै आपसी सद्भाव वृद्वि गर्न मञ्चलाई थप सफलता मिलोस् भनी शुभकामना दिएका थिए ।

यस्तै, आयोजकका तर्फबाट मञ्चका अध्यक्ष एवम् आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई दक्षिणी छिमेकी मित्रराष्ट्र भारतको नाका सुनौली र उत्तरी छिमेकी मित्रराष्ट्र चीनको कोरला नाकासँग जोडेर व्यवस्थित गर्न सके यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गरे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।