विश्वमा शान्ति स्थापनाको कार्यमा टेवा पुर्याउने उद्देश्य जनाउँदै ‘पिस रोड’ (शान्ति राजमार्ग) नामक कार्यक्रमको आयोजना गरिएको छ । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले बुधबार उद्घाटन गरेका सो कार्यक्रमको आयोजना युनिभर्सल पिस फेडेरसनले गरेको हो ।
‘पिस रोड’ कार्यक्रममा मन्त्री, सांसद, सामाजिक अभियन्ता, शान्तिदूत, शिक्षक, विद्यार्थीलगायत विभिन्न समुदायका गरी तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले यस्ता किसिममको कार्यक्रमले शान्ति स्थापनामा टेवा पुग्ने बताउँदै शान्तिभूमि नेपाललाई विश्वमा चिनाउनु पर्नेमा जोड दिए ।

नारायणचौर, नक्सालदेखि शुरु भएको ‘पिस रोड’ र्याली रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो । शान्तिबाटिकामा पुगेपछि र्याली कोणसभामा परिणत भएको थियो । सभामा मन्त्री बलायरलगायत विभिन्न व्यक्तिले सम्बोधन गरेका थिए । सांसद मिलन राजवंशीले स्वागत मन्तव्य राखेकी थिइन् भने विश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष सन्तोष पौडेलले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
सो कार्यक्रममा पूर्वमन्त्री, कुन्तीकुमारी शाही, सांसद मिलन कुमारी राजबंशी, रामहरि खतिवडा, विकास लम्साल, हरिप्रसाद उप्रेती, छायाँ शर्मा पन्त, डोरप्रसाद उपाध्याय, अनिता परियार, जितु गौतम, श्रीमाया थकाली, मोहनसिह राठोर, हरिलाल ज्ञवाली, धमेन्द्र शाह तेली लगायत दुई दर्जनभन्दा बढी सांसदको उपस्थति रहेको थियो ।
विश्वमा जताततै अशान्ति बढ्दै गएको छ । हरेक मान्छेले खुशी र शान्ति खोजिरहेका छन् । मान्छेले आफ्नो अस्तित्व नै नबुझ्नाले धेरै दुःख पाइरहेका छन् । यही अशान्ति र दुःखबाट शान्तितिरको यात्रास्वरुप पिस रोड कार्यक्रमको सुरुआत भएको जनाइएको छ ।

प्रतिक्रिया