सयवर्षभन्दा बढी बाँच्नेहरु हजारौं बेलायतमा

सयवर्षभन्दा बढी बाँच्नेहरु हजारौं बेलायतमा


लण्डन । नयाँ तथ्यांकले देखाएअनुसार विगत ३० वर्षभित्र सय वर्षभन्दा बढी बाँच्ने मानिसहरु बेलायतमा पाँच गुणा थपिएका छन् । हालैको तथ्यांकले बेलायतभरि अहिले सय वर्ष नाघेका मानिसहरु १२,६४० जना रहेको कुरा दर्शाएको छ । आजभन्दा ३० वर्षअघि सन् १९८०सालको तथ्यांकमा केवल २५००जना सय वर्ष नाघेका मानिसहरु रहेका थिए । यो तथ्यांक राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको हो । राम्रो खानपिन, चिकित्सा र सुविधासम्पन्न घरहरु उपलब्ध भएको कारणले गर्दा मानिसहरु बढी बाँच्न थालेका हुन् भनेर प्रकाश पारेका छन् । सय वर्ष पुग्ने प्रति पुरुषको अनुपातमा अहिले पाँचजना सय वर्ष पुगेकी महिलाहरु बेलायतमा छन् भनेर तथ्यांकले दर्शाएको छ । बेलायत भरिका दशवटा स्थानहरुमा जहाँ बढी बाँच्ने तथ्यांकले देखाएको छ ती ठाउँहरु जम्मै बेलायतको पूर्वी तथा दक्षिणी तटीय क्षेत्रहरु पर्दछन् । सीआईए वर्ल्ड फ्याक्ट बुक २०११को तालिका अनुसार विश्वमा अहिले बढी बाँच्नेहरुको सूचीमा बेलायतले २३औ स्थान रहेको छ । त्यसैगरी पहिले शीर्षस्थानमा रहेको जापान अहिले एघारौ स्थानमा झरेको छ । अहिलेको ३वटा शीर्षस्थानमा क्रमशः पहिलो मोनाको, दोश्रो मकाउ र तेश्रो सानमरिनो रहेका छन् । श्रोत – नेट, सुमल, मेस ।