चुनाव प्रभावित पार्न वाणिज्य दुतावासको चलखेल : एमाले

चुनाव प्रभावित पार्न वाणिज्य दुतावासको चलखेल : एमाले


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेले विरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले स्थानीय तहको निर्वाचनमा चलखेल गरेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले विरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले स्थानीय तहको निर्वाचनमा खुलमखुला चलखेल गरेको आरोप लगाएका हुन् ।

स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर दुईमा उम्मेदवारी दिन लागेकाहरुलाई दुतावासमा बोलाई हप्कि दप्कि गर्ने गरेको भन्दै त्यसबारे सरकार जानकार छ, छैन भनि उनले प्रश्न समेत गरे । उनले विरगञ्जस्थित भारततिय वाणिज्य दुतावासको क्रियाकलाप बारे सरकारले सम्मानित सदनमा अबिलम्ब जानकारी गराउन माग गरे ।

भियना अभिसन्धि अनुसार काम नगरे सम्बन्धित मुलुकले वाणिज्य दुतावासका अधिकारीलाई तत्काल निष्काशन गर्न पाउने अधिकार रहेको भन्दै उनले भारतीय वाणिज्य दुतले राजनितिक दलका नेतामाथि बारम्बार हप्किदप्कि गर्दा पनि सरकार चुप लाग्नुको अर्थ के हो ? भनी प्रश्न गरे ।

त्यसैगरी सांसद मिना पुनले सुनौलि नाकामा भारतले मालबाहक ट्रकलाई आवातजावत गर्न रोक लगाएको भन्दै सदनलाई यथार्थ जानकारी गराउन सरकारसंग माग गरिन् ।  त्यसैगरी सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भनिएको भारत भ्रमणको समय अनुकुल नभएको धारणा राखे ।