फेरी दुई वटा राष्ट्रिय ध्वजावाहक जहाज खरिदका लागि पत्राचार

फेरी दुई वटा राष्ट्रिय ध्वजावाहक जहाज खरिदका लागि पत्राचार


नेपाल वायु सेवा निगमले फेरी दुई वटा राष्ट्रिय ध्वजावाहक न्यारोबडी जहाज खरिद गर्ने भएको छ। निगम महाप्रबन्ध सुगतरत्न कंसाकारले एयरबस उत्पादन कम्पनिलाई दुई वटा न्यारोबडी जहाज खरिद गर्ने गरी पत्रचार भएको बताए ।

निगमले सिधै एयरबस कम्पनीसँग जहाज खरिद गर्न सकिने गरी सार्वजनिक खरिद ऐन परिमार्जन भएपछि एयर बस खरिदका लागि पत्राचार गरेको जनाएको छ ।

सार्वजनिक लेखा समितको छलफलमा सांसदहरुले निगमको व्यवस्थापन सुधार नभएको भन्दै लगाएको आरोपको खण्डन गर्दै कंसाकारले निगमको विश्वसनियता बढाउन जहाज खरिदका लागि पत्रचार गरिएको जवाफ दिएका थिए ।

‘निगमको व्यवस्थापनमा विस्तारै सुधार भएको छ’ उनले भने, ‘कानुनी प्रक्रिया केही लामो हुँदा समस्या आएको हो।’ निगमले भर्खरै मात्र दुई वटा वाइडबडी जहाज खरिदका लागि पहिलो किस्ता वापतको ८ अर्ब भन्दा बढी रकम पठाइसको छ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा मात्रै एयरबस छन् । तर, पनि निगमको अकुपेन्सी ७० दशमलब एक छ। यो सबैको भन्दा बढी हो।

पुनः निगमले जहाज थप्दै आफ्नौ पुरानो गन्तव्यमा फ्लाइट थप्ने र केही नयाँ गन्तव्यका समेत उडानका लागि जहाज अति नै आवश्यक भएको बताएको छ ।

सार्वजनिक पद धारण गरेकाले राष्ट्रिय ध्वजावाहक प्रयोग गनुपर्ने

यसैबीच, सार्वजनिक पद धारण गरेको व्यक्तिले आन्तरिक तथा वाह्य हवाई यात्रा गर्दा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एअरलाइन्स प्रयोग गर्नुपर्ने भएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक पदमा रहेका व्यक्तिलाई सरकारी विमान चढ्न निर्देशन दिएको हो ।

समितिको बुधबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जयनारायण देवले सरकारी कर्मचारीले सकेसम्म सरकारी विमान चढ्नुपर्ने निर्देशन दिन समितिलाई आग्रह गरेका थिए ।

राष्ट्रिय ध्वजावाहकप्रतिको विश्वसनीयता बढाउनका लागि सबै सरकारी पद धारण गर्नेले राष्ट्रिय ध्वजाबाहक प्रयोग गर्नुपर्ने मन्त्री देवको भनाई थियो ।

मन्त्रीको आग्रहपछि समितिले सार्वजनिक पदधारण गरेको राजनीतिक र प्रशासनिक व्यक्तिले आन्तरिक तथा बाह्य उडानका क्रममा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एयरलाइन्स नै प्रयोग गर्न सरकारलाई निर्देशन गरेको हाे ।

 

फाइल फोटो