अल्डरसट । विजयादशमी २०६८ को उपलक्ष्यमा अल्डरशटवासी नेपालीहरुले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नवदुर्गा भवानीको स्थापना गरी दैनिक पूजा अर्चना गर्दै बेलायतको घना नेपाली समुदाय भएको अल्डरसट सहरमा बुधवार घटस्थापनासँगै दुर्गापूजन प्रारम्भ भएको छ । अल्डरशटको मुख्य बजारको बीचमा स्थापना गरिएको यो पूजा घर यसपटक नेपाली बृध्दबृध्दाको तीर्थस्थल जस्तै भएको छ । दुर्गा भवानीका नौ रुपको नौ दिनसम्म नवरात्रका नामले पूजा अर्चना वैदिक विधि र नियमपूर्वक गरिने हुनाले रशमुर क्षेत्रमा यसको लोकप्रियता बढ्दै गएको भान हुन्छ । हिजो नव दुर्गाको पाँचौ दिन पनि भक्तजनहरुको ठूलो उपस्थिति रह्यो । दैनिक विहान ८ बजेदेखि ११ वजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म पूजा अर्चना हुने यस पूजा घरमा बेलुका बढी नै भीडभाड हुने गरेको छ। । नेपाली मन्दिर समितिले व्यवस्थापन गरेको उक्त सामूहिक पूजन कार्यक्रम नौ दिनसम्म चल्नेछ ।
बर्सेनी धार्मिक-सांस्कृतिक चाडबाडलाई सामुदायिक रूपमा सम्पन्न गर्दै आएको समितिले यसपालिको दुर्गापूजाले सम्पूर्ण नेपाली समुदायबीच भावनात्मक एकता र सद्भाव विकास गर्ने विश्वास राखेको छ । पछिल्लो समय नेपालीहरू स्थानीय अन्य समुदायबाट हुने हिंसा र विरोधको शिकार बन्दै आएका छन् । पूजा आयोजजक समितिका अनुसार आउने अक्टोवर ५ तारिख नवमीका दिन विहान नौबजे गुल्मी जिल्ला नौमती बाजा समूहले नौमती बाजा बजाएर नव दुर्गाको आराधना र नेपालीहरुका लागि शुभ कामना प्रदान गर्ने भएको छ ।
यस वर्ष पूजाका लागि कर्तामा भीम वानिया र पुजारी पण्डित श्रीनारायाण पौडेल गर्दै छन् । शिव कल्चरर समितिको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिने यस पुण्य कार्यमा समितिको सदस्य भन्दा वढी सक्रिय समितिभन्दा बाहिरका समाजसेवी र मां दुर्गाका भत्तालुहरु बढी सकृय भई कार्यक्रम सफल गराउँदछन् । यस्तो धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नेपाली समुदायको मनोबल उकास्नुका साथै सामाजिक सहसम्बन्धमा समेत टेवा पुग्ने आयोजक समिति सदस्य भीम बानियाले बताएका छन् । प्रवासमा रहेर पनि नेपाली पारम्परिकतालाई जस्ताको तस्तै मनाउँदा एक प्रकारले नेपाली माटोसँग आत्मिक रुपमा नजिक रहेको जस्तो लाग्ने आफ्नो अनुभव एक श्रद्धालु बताउँदछन् । -भीम, नारायण, मेस
प्रतिक्रिया